Kathmandu Press

ऋणमा डुबेको चिनियाँ कम्पनी ‘एभरग्रान्डे’का वितरक, जसले व्यापार जोगाउन घर र गाडी नै बेचे

केही महिना अघिसम्म मात्र पनि चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनीको रूपमा रहेको एभरग्रान्डे अहिले टाट पल्टिने अवस्थामा छ। र, एभरग्रान्डेसँगै टाट पल्टिने अवस्थामा पुगेको छ, गुओको कम्पनी पनि।
ऋणमा डुबेको चिनियाँ कम्पनी ‘एभरग्रान्डे’का वितरक, जसले व्यापार जोगाउन घर र गाडी नै बेचे

गुओ हुइको सरसफाइको काम गर्ने कम्पनी छ। ठूल्ठूला अपार्टमेन्ट र बिल्डिङ सफाइको काम गर्ने गुओको कम्पनीलाई चीनको घरजग्गा कम्पनी चाइना एभरग्रान्डेले ३० लाख अमेरिकी डलरभन्दा बढी रकम तिर्नुपर्नेछ। अर्थात्, ३६ करोड रुपैयाँभन्दा बढी।

तर, केही महिना अघिसम्म मात्र पनि चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनीको रूपमा रहेको एभरग्रान्डे अहिले टाट पल्टिने अवस्थामा छ। र, एभरग्रान्डेसँगै टाट पल्टिने अवस्थामा पुगेको छ, गुओको कम्पनी पनि।

५० वर्षीय गुओ हुइ चीनको गुआङचाओ प्रान्तका प्रतिष्ठित र निष्ठावान् व्यापारी हुन्। सबैले उनलाई ‘हुइ दाइ’ भनेर सम्बोधन गर्ने गरेको उनले रोयटर्सलाई बताएका छन्। तर, तिनै गुओ अहिले एभरग्रान्डेबाट भुक्तानी नपाएर सडकमा पुग्ने अवस्थामा छन्।

एभरग्रान्डेबाट समयमै भुक्तानी पाउने अपेक्षामा उनले व्यापारका लागि ऋण लिएका थिए भने एभरग्रान्डेकै काममा खटाएका कर्मचारीलाई तलब र ज्याला पनि दिन बाँकी छ। त्यसका लागि उनले आफ्नो अति प्रिय कार पोर्सा कायेन् बेचिसकेका छन्, अपार्टमेन्ट पनि बिक्रीमा राखेका छन्। अब यो अवस्थाबाट पार पाउन आफूसँग सरकारको भरपर्नुबाहेक अन्य विकल्प नरहेको पनि बताएका छन्।

‘हामीले धेरैपटक एभरग्रान्डेका सम्बन्धित अधिकारीसँग कुरा गरिसक्यौँ। उनीहरू कहिले पैसा नै छैन भन्छन् त कहिले यो ऋण कसरी तिर्न सकिन्छ केही थाहै नभएको बताउँछन्,’ गुओले रोयटर्ससँगको कुराकानीमा बताएका छन्।

गुओ एभरग्रान्डे घटनाका प्रतिनिधि पात्र मात्र हुन्। चीनको सबैभन्दा ठूलोमध्येको कम्पनी एभरग्रान्डे टाट पल्टिँदा उसले सँगसँगै धेरै अन्य व्यक्तिलाई पनि टाट पल्टाउने खतरा बढेको छ। समयमै भुक्तानी नपाउँदा गुओजस्ता हजारौँ वितरकको बिचल्ली भएको छ। उनीहरूसँगै उनीहरूका अनगिन्ति कामदारको झन् ठूलो बिचल्ली हुँदैछ।

कुनैबेला चीनकै ठूलो निर्माण कम्पनी एभरग्रान्डे अहिले ऋणमा चुर्लुम्मै डुबेको छ। कम्पनीका अनुसार अहिले ३०५ बिलियन अमेरिकी डलर ऋणमा छ। अर्थात्, ३६१ खर्ब ९९ अर्ब नेपाली रुपैयाँभन्दा बढी।

एभरग्रान्डेको लगभग ३६२ खर्बको ऋणमध्ये ३६ करोड मात्र गुओको हो। एभरग्रान्डेले करोडौँ भुक्तानी गर्नुपर्ने यस्ता थुप्रै गुओहरू छन्। र, त्यस्ता गुओहरूले तलब–ज्याला दिएपछि जिन्दगी चलाउने अपेक्षामा बसेका कैयौँ चिनियाँहरू छन्। एक रिपोर्टअनुसार एभरग्रान्डे अहिले टाट पल्टियो भने चीनको झण्डै आधा जनसंख्या प्रभावित हुनसक्छ।

गुओले दुई दशकभन्दा अघि आफ्नो सरसफाइ कम्पनी ‘फेइयुन’को सुरुवात गरेका थिए। गरिब परिवारबाट आएका गुओको दुई दशकको ‘¥याग्स टु रिचेज्’को कथा कुनै फिल्मको भन्दा फरक छैन। र, चीनका अधिकांश व्यापारीझैँ उनको कथा पनि विश्व अर्थतन्त्रमा चीनको उदयसँगै समानान्तर बग्छ।

उनी सन् २०१७ देखि एभरग्रान्डेसँग काम गरिरहेका छन्। राम्रो काम गर्दै गएपछि एभरग्रान्डेले उनलाई दिने काम पनि बढाउँदै लगेको थियो। पछिल्लो समय उनको कम्पनीले गर्ने कुल कामको लगभग ९० प्रतिशत एभरग्रान्डेको हुन्थ्यो।

फेइयुनले एभरग्रान्डेको गुआङदोङ प्रान्तमा रहेका अपार्टमेन्टको सरसफाइ तथा मर्मत–सम्भारको जिम्मेवारी पाएको थियो। ग्राहकहरू नयाँ घर किन्नका लागि हेर्न आउँदा चुस्त र दुरुस्त बनाउने जिम्मा गुओकै थियो।

समस्या गत जुनबाट सुरु भयो। उनले पाउनुपर्ने भुक्तानी पाएनन्। एभरग्रान्डेबाट केही जवाफ पनि आएन। भुक्तानीका विषयमा लामो समय आफूलाई अलमल्याएर राखिएको गुओ बताउँछन्।

उनको कम्पनीमा एक सयजना स्थायी कर्मचारी छन् भने सात सयदेखि आठ सयजना अन्य कामदार छन्। कामको चाप र आवश्यकताअनुसार कामदारको संख्या थपघट हुने गरेको थियो। उनको कम्पनीमा काम गर्ने केही स्थानीय छन् भने अधिकांश नजिकैका प्रान्तबाट आएका आप्रवासीहरू छन्।

‘देख्दा मात्र एभरग्रान्डेले मलाई भुक्तानी गर्नुपर्ने देखिएको हो। वास्तवमा उसले तिर्नुपर्ने सर्वसाधारणलाई छ। उनीहरूको भविष्य र वर्तमान दुवै दाउमा छ,’ उनले भनेका छन्।

केही महिनाअघि एभरग्रान्डेको झाङजियाङमा रहेका विशाल अपार्टमेन्टहरू सफा गर्न तीन सय कामदार खटाएका थिए। दिनरात खटेर उनीहरूले भनेको समयमै काम सके पनि। गुओले दुई करोड ७५ लाख रुपैयाँभन्दा बढीमा ती काम लिएका थिए।

‘मैले एभरग्रान्डेबाट पाउने पैसा पाएको छैन। तर, कामदारहरूले मैले भनेका कारण काम गरेका हुन्। उनीहरूलाई जसरी पनि काम गरेको मैले पैसा दिनैपर्छ। मैले सक्नेजति ऋण त लिएँ, तर त्यसले एकतिहाइ मात्र तिर्न पुग्यो,’ गुओले भनेका छन्, ‘कार पनि बेचेँ। अब घर पनि बेच्दैछु। तर, त्यति गर्दा पनि मैले मेरा कामदारहरूलाई तिर्नुपर्ने रकम तिर्न पुग्दैन।’

अब आशाको एक मात्र केन्द्र चिनियाँ सरकार नै रहेको उनी बताउँछन्। पहिले सरकारले सहयोग गरेका कारण फेरि पनि गर्छ भन्नेमा विश्वस्त छन् उनी।

गरिबीबाट मिहिनेत गरेर यो अवस्थासम्म आइपुगेका गुओ यो समय पनि बितेर जानेमा आशावादी छन्। त्यो पोर्सा उनको प्रिय कार थियो। सो कारलाई देख्दा उनी आफ्नो विगत सम्झन्थे र त्यो उनले तय गरेको यात्राको मानक पनि थियो।

‘म सबै कर्मचारी र कामदारलाई पैसा तिर्नेछु। मेरो कार फेरि किन्नेछु। यो अवस्था मेरो अन्त्य होइन, परीक्षा मात्र हो,’ टाट पल्टेर सडकमै आउने अवस्था हुँदा पनि गुओले हिम्मत हारेका छैनन्।

(रोयटर्सबाट)

 

प्रकाशित मिति: ०६:५५ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्