लसिं अर्थात् ‘केटी लाखे’, जसले यस वर्ष इन्द्रजात्रा मनाउन पाइनन्
भक्तपुरकी लसिं अर्थात् ‘केटी लाखे’ हुन् श्रमिका फैँजू। हजुरबाको प्रेरणाबाट लाखे नाच्न थालेकी उनी लसिं बन्न पाएकामा गर्व गर्छिन्।काठमाडौं, असोज ११ : भक्तपुर सूर्यमढी टोलकी १९ वर्षीया श्रमिका फैँजूलाई घंघला बजेको साह्रै मन पर्छ। अझ, लसिं (केटी लाखे) को पहिरन लगाउनेबित्तिकै उनलाई छिटोछिटो दौडिन मन लाग्छ रे। शरीरमा अर्कैखाले ऊर्जाले उनको मनमा उन्मत्त भाव पैदा हुन्छ रे। त्यही भावले उनलाई दौडिन प्रेरित गर्छ।
दौडिँदा घंघलाको आवाज अझ तेज हुनु स्वाभाविकै हो। बाहिर अरूले देख्दा लाखे कति बेतोड दौडिएको भन्छन्। लसिं उग्र भएको अनुमान पनि लगाउँछन्। तब उनका बाजे रत्नबहादुर फैँजूले उनलाई रोक्छन् र भन्छन्, ‘छिटोछिटो नदौड न।’ कलिलो उमेरमै दैविक जिम्मेवारी वहन गरेकाले हुन सक्छ, उनी चञ्चल देखिन्छिन्। घंघलाको आवाजसँगै उनलाई दौडिहाल्न मन लाग्छ।
श्रमिकाले आफ्नो परिचयसँगै जोड्छिन्, भक्तपुरकी लसिं’ अर्थात् केटी लाखे। १४ वर्षको किशोरावस्थामा उनलाई बाजे रत्नबहादुरले लसिं बन्ने हो भनेर सोधेका थिए। आफ्नो टोल र खलः मा गुरुबा, काका अनि बाजेहरूले नाच्दै आएको लाखेको भेष धारण गर्ने इच्छा बालखैदेखि नै उनको मनमा सुषुप्त थियो। त्यसमा पनि नाच भनेपछि हुरुक्कै हुने श्रमिकाले केही नसोची ‘हस्’ भनिन्।
दुई वर्षदेखिको रिक्तता
दुई वर्षयता भने श्रमिकाले सोचेजसरी इन्द्रजात्राको रौनकमा रमाउन पाएकी छैनन्। साविक इन्द्रजात्राको आठ दिनमा उनी काठमाडौंका विभिन्न स्थानमा लाखे नाचिरहेको हुनुपर्ने थियो। तर, कोरोना महामारीका कारण इन्द्रजात्रा मात्र नभई सापारुः गाईजात्रासमेत मनाउन पाएकी छैनन्, उनले।
महामारीका कारण जात्रा, पर्वहरू औपचारिकतामा सीमित छन्। त्यसैले उनले लसिंको भेष धारण गर्न पाएकी छैनन्। सामान्यतया, लाखे भन्नासाथ पुरुषको चेहरा आँखामा आउँछ। तर, भक्तपुर, पोखरा, टोखालगायत सहरमा केटी लाखेहरूको नाच पनि देखाइन्छ।
तिनैमध्येकी हुन् श्रमिका, जो काठमाडौं थापागाउँस्थित सीसीए कलेजमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययनरत छिन्। अन्तिमपटक मेलम्ची खानेपानीको उदघाटनमा काठमाडौं भृकुटीमण्डपमा लसिंको रूपमा प्रस्तुत भएकी थिइन् उनी।
‘कस्तो खल्लो अनुभव हुने रहेछ,’ उनी भन्छिन्, ‘लसिंको पहिरन, नाच, मानिसहरूको भीड, माया अनि आस्था मिस गरिरहेकी छु।’
इन्द्रजात्रामा भक्तपुरमा ‘महाकाली प्याखँ’ निकालिन्छ, जसलाई भक्तपुरबाट काठमाडौं ल्याएर प्रदर्शन गरिन्छ। उनी भने ‘महाकाली प्याखँ’मा सरिक हुन्नन्। सूर्यमढी टोलको ‘पासा पुचः खल’लाई भने काठमाडौंका विभिन्न स्थानबाट निमन्त्रणा आउँछ। त्यसमा पनि कालिकास्थानबाट विशेष बोलावट हुन्छ।
यस वर्ष श्रमिका आबद्ध खलःलाई कतैबाट निमन्त्रणा आएन। ‘पहिले इन्द्रजात्रामा हाम्रो खलःलाई निमन्त्रणा आउँथ्यो, हामी सोहीअनुसार जाने गर्थ्यौं,’ उनी भन्छिन्, ‘हामी कालिकास्थानलगायत स्थानमा नाच देखाउँथ्यौँ। कोरोनापछि जान पाएका छैनौँ।’
पहिले लाखे नाच्न उनले राति जानुपथ्र्यो। यस वर्ष निमन्त्रणा नै नआएकाले इन्द्रजात्राभर पढाइसँगै नोट बनाउँदै बिताइन्।
बाजेले दिएको त्यो आशिर्वाद
भक्तपुरकै रैथाने अनि किशोरावस्थाबाट युवावस्थामा पाइला चाल्दै गरेकी उनलाई काठमाडौंका धेरै ठाउँको बारेमा खासै ज्ञान छैन। लाखे नाचकै कारण पनि लसिं बन्दाका उनका थुप्रै सम्झना कालिकास्थानसँग जोडिएका छन्। पहिरन परिवर्तनका लागि भद्रकाली मन्दिर गएर कालिकास्थान पुग्ने गरेको उनी सम्झिन्छिन्।
‘भक्तपुरमा केटी लाखे नौलो विषय होइन। लाखे भनेर त्यस्तो भव्य पूजा पनि हुँदैन, काठमाडौंमा भने निकै श्रद्धा गर्ने रहेछन्,’ निश्छल भावमा उनी भन्दै थिइन्, ‘एकपटक नाच्ने क्रममा एक बिमारी बाजेले आएर मलाई मेरो हात उहाँको शिरमा राख्न लगाउनुभयो। म त अकमक्क परेँ, हच्किएँ पनि। तब उहाँले नै मेरो हात आफ्नो शिरमा राख्नुभयो। आफूभन्दा ज्येष्ठ व्यक्तिहरूले देखाउने आस्थाप्रति मलाई निकै अनौठो लागेको थियो।’
‘केटी लाखे हुन पाउँदा गर्व लाग्छ’
श्रमिका लाखे नाच्दै जताजता गइन्, अधिकांशले उनलाई दाइ वा भाइ भनेर बोलाउँथे। ‘अनुहारमा लगाएको ख्वापा खोलेपछि सबैजना दंग पर्नुहुन्थ्यो, केटी लाखे भनेर,’ उनले हाँस्दै भनिन्।
सामाजिक कार्यहरूमा पहिल्यैदेखि पुरुषहरूको बढी संलग्नता रहेको र सोही कारण लाखे भन्नासाथ केटालाई मानिएको हुनसक्ने उनी बताउँछिन्। यस्तै, लामो समयदेखि खलः मा समेत केटीहरूको संलग्नता थियो। भर्खरै खलःमा केटीहरू पनि बाजागाजा बजाउन सक्रिय देखिन थालेका छन्।
खासगरी, महिनावारीको समयमा देवी-देवतालाई छुन नहुने सामाजिक धारणाका कारण विगतमा केटी लाखे नचाउने चलन नभएको हुन सक्न उनको अनुमान छ। उनी भन्छिन्, ‘हाम्रोतिर (भक्तपुरमा) लाखेमा केटाकेटी भन्ने नै छैन। अझ मेरो टोलमा त्यस्तो सिस्टम नै छैन। मलाई लसिं बन्न पनि मेरो बाजेले नै प्रेरित गर्नुभएको हो।’ लाखे नाच्न कसले प्रेरित गरेको हो भन्ने प्रश्नमा उनको सहज जवाफ हुन्छ, बाजे रत्न बहादुर फैँजूले।
उनीसँगै रूपा सैँजु र निशा कुसी पनि भक्तपुरका अन्य लसिं हुन्। उनीहरूमध्ये सबैभन्दा सिनियर हुन्, रूपा। श्रमिकाले उनलाई ‘रोल मोडल’ मान्छिन्। भन्छिन्, ‘दिदीलाई पहिल्यैदेखि नाचेको देखेको। उहाँको ऊर्जा देखेरै म पनि यस्तै गरेर नाच्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो।’
बाजे मात्र नभई उनका बाबु विश्वराम फैँजू र आमा बिकुमायाले पनि श्रमिकालाई लसिं बन्न कहिल्यै रोकतोक गरेनन्।
लाखे बन्दा शरीरमा पैदा हुने तरंगले नै उनलाई दिनभर ऊर्जाशील राख्छ रे। उनी वर्षमा ८-१० विभिन्न ठाउँमा आयोजना हुने लाखे नाचमा सहभागी हुन्छिन्। मंसिर ०७१ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औँ शिखर सम्मेलनमा पनि उनले आफ्नो कला देखाउने अवसर पाएकी थिइन्। यस्तै, भक्तपुरमा पर्यटकका लागि आयोजना हुने विशेष कार्यक्रम र विभिन्न जात्रा गरी वर्षमा ८-१० पटक उनले नाच देखाउन पाउँछिन्।
हामीलाई खलःमै पनि कहिल्यै केटाकेटी भनेर छुट्याइएन। जात्रा, पर्वमा लामो समय नाच्नुपर्दा थाक्ने, गल्ने हुन्छ। तर, जात्राको रौनकले थकाइलाई जित्ने उनी बताउँछिन्। अझ विशेष सापारु (गाईजात्रामा) दिनभर नाच्नुपर्छ उनले। खाली खुट्टा नाच्दा फोकासमेत उठ्छ। तर, नाचको रौनकमा उनलाई दुखाइको खासै हेक्का हुँदैन। केटा भएर जन्मिएको भए भन्ने विचार उनको मनमा आउँदैन। ‘लाखे होइन, लसिं भएरै पनि आफ्नो जिम्मेवारी वहन गरिरहेकी छु,’ उनको आत्मविश्वासी भाव प्रकट हुन्छ।
‘सांस्कृतिक मूल्य मान्यता नमासिने गरी दायरा फराकिलो पारिनुपर्छ’
१३ वर्षको उमेरमा पहिलो महिनावारी हुँदा उनमा लसिं बन्न नपाइने डर थियो। तर, परिवारले उनलाई साथ दियो र श्रमिकाको लसिं यात्राले निरनतरता पायो। टोलमा कतिपयले महिनावारी हुँदा नाच्न नहुने विषय नउठाउने होइनन्। तर, त्यसलाई गम्भीर रूपमा नलिई नाचमै ध्यान केन्द्रित गरेकी छन्।
‘लाखे, लसिंलाई अन्य नाच र पदवीका तुलनामा केही फुक्का छ। नाचको क्रममा हामीले खाली खुट्टा नाच्नुपर्ने र गुरुजनलाई सुरुमा माने पुग्छ,’ उनी भन्छिन्, ‘अन्य ठाउँमा लाखेलाई कसरी लिइन्छ थाहा छैन। तर, हाम्रो भक्तपुरमा भने राक्षसको रूपमा लिइन्छ भने झ्यालिचालाई भगवान्।’
बेताली, जन्नी, जामा, मुंग, पौ, रुमाल लसिंका पहिरन हुन्। लसिं पनि लाखेजस्तै राक्षस वर्गकै भएको मानिन्छ। तर, लाखे, लसिं नराम्रो प्रवृत्तिको राक्षस नभई नराम्रा ऊर्जाबाट समुदायलाई बचाउने राक्षस भएको उनको बुझाइ छ।
लाखे र झ्यालिचा दुवैलाई भगवानकै रूपमा सबैले पुज्ने गरेको उनको बुझाइ छ। लसिं मात्र नभई झ्यालिचाको रूपमा पनि उनी नाचेकी छन्। दुवै भूमिकामा उनी उत्तिकै रमाउँछिन्, उत्तिकै खुशी हुन्छिन्।
लसिं बनेर नाच देखाउँदा पढाइलाई असर गर्दैन ? उनको सटिक जवाफ, ‘गर्दैन किनकि प्रायः जात्रामा बिदा नै पर्छ।’ कहिलेकाहीं होमवर्क, असाइनमेन्ट पूरा गर्न रातिसम्म भने बस्नुपर्छ उनले। तर, नाच छुटाउँदिनन्।
संस्कृति एउटै समुदायमा सीमित हुन नहुने उनको धारणा छ। नेवार समुदायभित्र पनि भैल प्याँख (नाच) प्रजापतिले मात्र र नवदुर्गा प्याँखः वनमाला समुदायले मात्र नाच्न पाउने व्यवस्था छ। यस्तो व्यवस्थाप्रति भने उनको गुनासो छ।