एकीकृत समाजवादी अध्यक्ष नेपालको प्रतिवेदन : अबको गन्तव्य वैज्ञानिक समाजवाद
प्रतिवेदनमा एमालेमा उत्पन्न भएको व्यक्तिवादी अहंकारवाद, निरंकुश एवम् स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादविरुद्ध विद्रोह गरी नेकपा एकीकृत समाजवादीको गठन भएको उल्लेख छ।काठमाडौं, असोज ६ : नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अबको गन्तव्य वैज्ञानिक समाजवाद हुने लक्ष्यसहितको प्रतिवेदन पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा पेश गरेका छन् । उनको प्रतिवेदन बुधबार केन्द्रीय कमिटीले पारित गरेको छ ।
एकीकृत समाजवादी स्थापनापछि पहिलो केन्द्रीय कमिटी बैठक ५ असोजदेखि सुरु भएको हो । पहिलो दिन अध्यक्ष नेपालले आफ्नो राजनीतिक प्रतिवेदन बैठकमा पेश गरेका हुन् ।
प्रतिवेदनमा एमालेमा उत्पन्न भएको व्यक्तिवादी अहंकारवाद, निरंकुश एवम् स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादविरुद्ध विद्रोह गरी नेकपा एकीकृत समाजवादीको गठन भएको उल्लेख छ । एमालेबाट विद्रोह गर्नुको मुख्य उद्देश्य प्रतिवेदनमा विस्तृत खुलाइएको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी एवं जनपक्षीय धारको रक्षा गर्दै नेकपाले आफ्नो स्थापनाकालदेखि नै राख्दै आएका क्रान्तिकारी लक्ष्य र उद्देश्यहरू प्राप्तिको दिशामा एकीकृत समाजवादी निरन्तर अगाडि बढ्ने प्रतिवेदनमा उल्लेख छ । नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपरेको परिस्थिति विश्लेषण गरी पार्टीको दृष्टिकोण तय गर्ने र संगठन विस्तारलगायत तात्कालिक कार्ययोजना निर्माण गर्ने प्रतिवेदनमा बताइएको छ ।
नेपालमा कम्युनिस्ट पार्टीको स्थापना समाजमा व्याप्त सामन्ती र साम्राज्यवादी शोषण, दमन र उत्पीडन अन्त्य गरी जनवादी क्रान्तिको चरण हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्ने उद्देश्य रहेको अध्यक्ष नेपालले बताएका छन् । समाजमा व्याप्त वर्गीय, जातीय, लैंगिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विभेदहरूको अन्त्य गरी समानतासहितको स्वतन्त्रता र आमजनता सुखी एवं समृद्ध भएको समाज स्थापनाको लक्ष्य र उद्देश्य राखिएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
‘सामन्ती राजतन्त्रलाई ०६२–६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा उखेली फ्याँकेर संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र समाजवादउन्मुखजस्ता विशिष्ट विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो,’ प्रतिवेदनमा भनिएको छ । सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना लक्ष्य र उद्देश्यहरू प्राप्त गर्ने ध्येयमा अगडि बढ्दै गर्दा यसभित्र अनेक प्रकारका मतभेद र विवादहरू उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । यसबीचमा भएका फुट, विभाजन र विद्रोहका कैयन शृंखला उनले उल्लेख गरेका छन् ।
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने क्रममा थुप्रै स–साना कम्युनिस्ट समूहहरूलाई समेटेर ०३५ सालमा नेकपा (माले) को स्थापना गरिएको तथा ०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई एमाले गठन भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा एमालेको स्थापना र इतिहास एकता, विभाजन, विद्रोह र पुनः एकताको विषयबारे विस्तृत वर्णन गरिएको छ । अनेकौँ आरोह–अवरोहका बीच पनि श्रमजीवी र मुक्तिकामी नेपाली जनतामाझ कम्युनिस्ट पार्टीप्रतिको झुकाव व्यापक बनेको र ०७४ सालको आम निर्वाचनको तथ्यांक केलाउँदा पनि कुल मतदाताको करिब ५५ प्रतिसत हिस्सा कम्युनिस्ट पार्टीहरूको पक्षमा रहेको प्रतिवेदनमा दाबी गरिएको छ ।
‘ओली प्रतिगामी, विसर्जनवादी’
५ पुस ०७७ मा असंवैधानिक ढंगबाट गरिएको प्रतिनिधिसभा विघटनलाई नेपालले आफ्नो प्रतिवेदनमा प्रतिगामी संज्ञा दिएका छन् । सोही कारण तत्कालीन प्रधानमन्त्री केपी ओलीको उक्त कदमको तत्कालीन नेकपाको केन्द्रीय कमिटी सदस्यको करिब ७० प्रतिशत बहुमतद्वारा भत्र्सना गरिएको नेपालले खुलाएका छन् ।
उक्त असंवैधानिक र प्रतिगामी कदम नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा धकेल्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने कुत्सित मनशायले कदम चालिएको प्रतिवेदनमा स्पष्ट गरिएको छ । र, त्यसविरुद्ध राजनीतिक र कानूनी संघर्षपछि प्रतिनिधिसभाको पुनःस्थापनापछि उक्त कदम असफल बनाइएको नेपालले खुलाएका छन् ।
केपी ओली नेतृत्वको सरकारले जनताको आन्दोलनमाथि दमनचक्र चलाएको र राजनीतिक रूपमा एक्लिएका ओलीले प्रतिगमी तत्त्व र हिन्दुत्वको समेत सहारा लिन पुुगेको नेपालले उल्लेख गरेका छन् । ‘लोकतन्त्रको रक्षार्थ उठेको जनताको सशक्त आन्दोलन र सर्वोच्च अदालतले आन्दोलनमार्पmत व्यक्त जनभावनाको कदर गर्दै संविधानको मर्मअनुसार विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्ने ११ फागुन ०७७ को पैmसलाबाट रन्थनिएका केपी ओलीले पुनः षडयन्त्रका अनेकौं तानाबाना बुन्न थाले,’ प्रतिवेदनमा भनिएको छ ।
यस्तै, २३ फागुन ०७७ मा सर्वोच्च अदालतको अर्को फैसलाबाट वादीले मागदाबी नै नगरेको विषयमा प्रवेश गरी ३ जेठ ०७५ मा भएको एमाले र माओवादी केन्द्रको एकता खारेज गरिदिएको प्रतिवेदनमा उल्लेख छ । तथापि, २ जेठ ०७५ को परिस्थितिमा फर्किएर नेकपाको एकता जोगाउन सकिने परिस्थितिलाई ओलीले नजरअन्दाज गरेको नेपालले खुलाएका छन् । पार्टी एकताका निम्ति अदालतले १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोग पहल गर्न सकिने आदेश दिए पनि ओलीले पार्टीमा आफ्नो एकल वर्चश्व कायम गर्न एकता होइन, विभाजन नै चाहेको नेपालले उल्लेख गरेका छन् ।
यसैगरी, २३ फागुुन ०७७ को अदालतको पैmसलाबमोजिम एमालेलाई २ जेठ ०७५ को अवस्थाबाट अगाडि बढाउनुपर्ने भए पनि पार्टी एकता कायम राख्न अध्यक्ष ओलीले नसकेको उनले खुलाएका छन् । ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी सोच र सिंगो पार्टी कब्जा गरी आफ्नो एकलौटी वर्चश्व कायम गर्नेे चाहनाले नै एमालेको एकता जोगाउने नभई विघटनको दिशामा लिएर गएको उनले उल्लेख गरेका छन् ।
२ जेठ ०७५ को अवस्थामा फर्किन निकै प्रयत्न गर्दा पनि ओली आफ्नो दम्भ र घमण्ड सच्याउन तयार नभएको र आफ्नो विष डकारी अडानमै रहिरहेकाले पार्टीमा गम्भीर संकट उत्पन्न भएको प्रतिवेदनमा भनिएको छ । त्यस प्रकारको संकट उत्पन्न भएपछि ओलीको गुुटबन्दी, स्वेच्छाचारी प्रवृत्ति, व्यक्तिवादी अहंकारवाद र दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह गर्नैपर्ने स्थिति उत्पन्न भएको उल्लेख गरिएको छ । कम्युनिस्ट पार्टी र आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्नका निम्ति पुनः संगठित भएर क्रियाशील भई पार्टी र आन्दोलनलाई अगाडि बढाइएको अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।
‘एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने नाराका साथ देशव्यापी रूपमा अभियान चलाउँदा पनि पार्टी एकता जोगाउन नसकिएको उनले बताएका छन् ।
ओलीले ७ जेठ ०७८ मा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि उक्त प्रतिगामी कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको र स्वयं उपस्थित भएर सनाखत गरी रिटमा प्रतिनिधिसभाको पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध खडा भएको वाम–लोकतान्त्रिक समीकरणमा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र, कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध भएको उनले बताएका छन् । यस समीकरणमा आबद्ध दलहरूबीच वर्गधार र वर्गचरित्र फरक–फरक भए पनि लोकतन्त्रको रक्षा एवं मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमति जुटेर मोर्चाबन्दी गरी सहकार्य जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।
वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको रहेको नेपालको विश्लेषण छ । नेपाली समाजमा सामन्तवादका केही अवशेष बाँकी रहेको र समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवादी रहेको प्रतिवेदनमा भनिएको छ । दलाल नोकरशाही चरित्रको नेपाली समाजमा रहेका समाजवादी क्रान्तिका पक्षधर र त्यसविरोधी शक्तिहरू बीचको अन्तरविरोध समाजको प्रधान अन्तरविरोध बन्न पुगेको उनको थप विश्लेषण छ । यस्तो अन्तरविरोध हल गर्न समाजवादी क्रान्तिका विरोधी शक्तिहरूमाथि प्रहार केन्द्रित गरी समाजवादको दिशामा अगाडि बढ्नु मुख्य कार्यदिशा उल्लेख गरिएको छ । र, नेकपा (एकीकृत समाजवादी)को अबको गन्तव्य वैज्ञानिक समाजवाद रहेको अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।