Kathmandu Press

मुकुण्डो : छाया पछाडि लुक्ने अतृप्त इच्छा

‘मुकुण्डो : मास्क अफ डिजाइर’ नाम दिएको उक्त फिल्मले मुखौटा पछाडिको अँध्यारोमा दबिएर रहेका इच्छा, चाहना र असन्तुुष्टीलाई दर्साउँछ । मुखौटाभित्र यथार्थ मानिस हुन्छ तर बाहिर बनावटी । यही तथ्यलाई फिल्मले दर्साउन खोजेको छ ।
मुकुण्डो : छाया पछाडि लुक्ने अतृप्त इच्छा

काठमाडौं, असोज २ : सात महिनाअघि ‘मिला प्रोडक्सन’ को युट्युुब च्यानलमा ‘मुकुण्डो’ चलचित्र सार्वजनिक भयो । सन् १९९९ मा बनेको फिल्म ‘मुकुुण्डो’का निर्देशक हुन्, छिरिङरितार शेर्पा । फिल्मको स्क्रिप्ट लेखक निर्देशक छिरिङरितार शेर्पा र केसाङ छेतेन हुन् ।

युट्युुब च्यानलमा दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको उक्त फिल्मले हलमा रिलिज हुँदा दर्शकलाई हलसम्म तान्न सकेन ।

२२ वर्षअघिको त्यो समयमा ‘कमर्सियल’ फिल्महरूको वर्चश्व थियो । त्यतिबेला ‘अफ बिट’ धार पक्रेको ‘मुकुण्डो’जस्तो चलचित्र हलहरूमा चल्न सहज पनि थिएन । फिल्मकी प्रमुख पात्र गौरी मल्लले एक अन्तर्वार्तामा यही विषयमा जोड दिएकी छन् । सोही अन्तर्वार्तामा फिल्मकी अर्की पात्र मिथिला शर्माले ‘मुकुण्डो’जस्तो स्तरीय चलचित्र नचल्नु नेपाली सिनेमाले ट्र्याक गुमाएको अर्थ लगाएकी थिइन् ।

Hardik ivf

नेपथ्यमा लुकेका विकृत भाव

‘मुकुण्डो : मास्क अफ डिजाइर’ नाम दिएको उक्त फिल्मले मुखौटा पछाडिको अँध्यारोमा दबिएर रहेका इच्छा, चाहना र असन्तुुष्टीलाई दर्साउँछ । मुखौटाभित्र यथार्थ मानिस हुन्छ तर बाहिर बनावटी । यही तथ्यलाई फिल्मले दर्साउन खोजेको छ ।

आफ्नो उपन्यास ‘करोडौँ कस्तुरी’मा लेखक अमर न्यौपानेले लेखेका छन्, ‘मानिसको मन इनार हो र कुराहरू पानी, जति निकाले पनि रसाइरहन्छ ।’ उनले त्यस उपन्यासमा मानिसको मनलाई इनार र विचारलाई सोचको पर्याय मानेका छन् । विचारहरू अनवरत रूपमा पानी जसरी नै रसाइरहन्छन् । फरक यति हो, रसाउने ती सोच र विचार कति दुषित वा स्वच्छ छन् ।

हुन पनि हो, मानिसको मन न हो, अनेक विचार खेल्छन् । र, खेल्नु स्वाभाविक पनि हो । तर, एकै विचार पटक–पटक मन अनि दिमागमा उकुसमुकुस हुन थाले भने के होला ? अंग्रेजीमा हामी यसलाई ‘ओभर थिङ्किङ’ भन्छौँ । त्यसरी नै एकोहोरिएको विचारबाट पार हुन नसक्दा मानिस कुन हदसम्म पुुग्न सक्छ भन्ने उदाहरण हो, मुकुुण्डो ।

सत्य घटनामा आधारित यस फिल्ममा प्रमुख तीन पात्र छन्– गीता (त्रिपुरा माता), सरस्वती अनि दीपक । गीता एक दैविक शक्ति त्रिपुरा माताको रूपमा चित्रण गरिएकी छन् । मिथिला शर्मा उक्त भूमिकामा छिन् । सरस्वती र दीपकको भूमिकामा गौरी मल्ल र रतन सुवेदी छन् ।

गीताले माताको रूपमा जीवन बिताइरहँदा सरस्वती एक विवाहित दुुई सन्तानकी आमा हुन् । गीता र सरस्वती दुवै भिन्न जीवन बाँचिरहेका फिल्म देखाइएको छ । सतहबाट हेर्दा दुवैको जीवन सरल अनि सुन्दर छ । दैविक शक्तिले उनलाई माताको स्थान र सम्मान दिएको छ भने सरस्वती एक पूर्ण महिला । उनले माया गर्ने श्रीमान् र ज्ञानी सन्तान पाएकी छन् अनि सामान्य तर सुन्दर पारिवारिक जीवन बिताइरहेकी छन् ।

गीता र सरस्वतीको भिन्न जीवनलाई आपसमा जोड्ने काम भने धार्मिक आस्था र उनीहरूको अन्तस्करणमा गडेर बसेको नैराश्य हो । मानिसमा नैराश्य कतिबेला छाउँछ ? जब उसले केही कुराको चाहना गर्छ तर त्यो पुरा हुन सक्दैन । अपूरा इच्छाले निम्त्याएको भुुमरीमा रुमल्लिएका छन्, यी दुवै महिला पात्र ।

फिल्मको सुरुवात गीता (त्रिपुरा माता)बाट हुन्छ । उनको दैनिकी आफूप्रति आस्था राखी शरणमा आएका बिरामीलाई निको पार्ने हो । सबैलाई निको पर्दा उनी आफैँ भने भित्रभित्रै ग्रसित छिन्, एउटा अपूर्ण इच्छाबाट । उनले आफैँलाई भने निको पार्न सकेकी छैनन् । उनी प्रश्न पनि गर्छिन् आफैँसँग– ‘के मेरो जीवनको उद्देश्य केवल अरूलाई निको पार्न मात्र हो ?’ माताको मुकुण्डो लगाएकी गीता एउटा सामान्य र प्रेममय जीवन चाहन्छिन् । आफूसँग भएको दैविक शक्तिको सकारात्मक पक्षबाट भन्दा दमित इच्छाका कारण असन्तुुष्ट छिन् उनी ।

अर्कोतर्फ समान्तर रेखामा सरस्वती र दीपकको दाम्पत्य जीवन चलिरहेको हुन्छ । सामान्य वर्गमा उनीहरू खुशी छन् । तथापि, संसारका हरेक व्यक्तिमा अभाव महसुस हुन्छ, चाहे धनी होस् या गरिब । त्यसरी नै सरस्वती र दीपकको दाम्पत्यमा पनि अभाव छ, सन्तानका रूपमा एउटा छोरो नहुनु ।

जसरी यहाँ दीपक वंशको उत्तराधिकारी नहुँदा त्यति विचलित र चिन्तित छैन, सरस्वतीमा भने असन्तुष्टि गहिरिएको छ । छोरो अभावमा सरस्वती असन्तुुष्ट छिन् भने दीपक आफ्नो गरिबीभित्रको सम्पन्नतामा सन्तुुष्ट छ । सन् १९९९ को परिवेशमा पनि दीपक एक आदर्श पति र मायालु पिता हुन् । आफ्नो वंशको उत्तराधिकारी नहुँदा पनि उनलाई खेद छैन । दुुई छोरीलाई आफ्नो सामथ्र्यले भ्याएसम्म शिक्षादीक्षा र माया दिएकै छन् ।

सेक्युरिटी गार्डको काम गरेरै उनले परिवार धानिरहेका छन् । चिया–नास्तामा आफ्नो सन्तानलाई मन पर्ने पाउरोटी ल्याउन होस् वा साहुलाई तलब बढाएर छोरीहरूलाई र्बोिडङ स्कुल पढाउन, उनी अथक प्रयास गरिरहन्छन् ।

सरस्वती निकै धार्मिक छिन् । उनलाई धर्म र आस्थाको चरमपन्थी संज्ञा दिँदा पनि फरक पर्दैन । सोही कारण उनी जीवन यात्रामा घटित हुने हरेक नकारात्मक घटनाको सम्बन्ध धर्मसँगै लगेर जोड्छिन् ।

तेस्रो सन्तानको रूपमा यी दम्पतीलाई छोरो प्राप्त हुन्छ, जसको श्रेय सरस्वतीले त्रिपुरा मातालाई दिन्छिन् ।  तर, जन्मिँदा नै उनीहरूका छोरा अस्वस्थ हुन्छन् । र, स्वास्थ्यावस्थामा सुधार नहुँदा नाबालकमै उनको मृत्यु हुन्छ । मातालाई गरेको भाकल पूरा हुन नसक्दा माता रिसाएर सन्तान वियोग सहनुपरेको बुुझाइले सरस्वतीलाई ग्रसित बनाउँछ । उनका श्रीमान् दीपकको लाखौँ कोशिसका बावजुद पनि सरस्वतीको मनमा शान्ति आउँदैन । र, उनी मानसिक रूपमा बिमार बन्छिन् ।

महिला–महिला अनि महिला–पुरुषको मित्रता

गीता र सरस्वतीको पहिलो भेट त्रिपुरा माता र बिरामीको रूपमा हुन्छ । धार्मिक आस्थाकै कारण भेटिएका गीता र सरस्वतीबीचको मित्रता बढ्दै जान्छ । गीता पनि अब त्रिपुरा माताको भेषमा भन्दा पनि सामान्य व्यक्ति बनेर बस्न रुचाउँछिन् । उनीहरू आ–आफ्ना मनका कथा–व्यथा पोख्ने साथी बन्छन् ।

कथाको लय तबसम्म सुन्दर र सुधारोन्मुख रहन्छ, जबसम्म सरस्वतीका पति दीपक र माताको हिमचिमले सरस्वतीलाई चस्को पर्दैन । माताको बयान गरेर नथाक्ने सरस्वती विस्तारै श्रीमान् अनि गीताको सम्बन्धलाई शंकाको घेरामा राख्छिन् । गीताको कर्णप्रिय, ज्ञानी बोली अनि सौन्दर्यलाई आदर गर्ने उनको सोच विस्तारै आरिसमा बदलिन्छ । ‘क्रिम’ पात्रको रूपमा रहेका दीपक भने गीताप्रति धेरै आकर्षित छैनन् ।

तथापि, साथीको रूपमा सरस्वतीलाई पाएकी गीता भने दीपकप्रति आकर्षित छिन् । सोही कारण उनी आफूलाई अब माताभन्दा पनि नारीको स्वरूपमा रुचाउँछिन् । बालखैमा विवाह भएको उनका श्रीमान्को मृत्यु हुन्छ । गीतालाई दैविक शक्ति पनि उनको श्रीमान्को मृत्युपछि नै सरेको भान हुन्छ । श्रीमान्बाट पाउन नसकेको मायाको पालुवा उनलाई दीपकले उनको श्रीमती सरस्वतीलाई दर्साएको मायाबाट पलाएको अनुमान लगाउन गाह्रो छैन ।

फिल्मको उत्तराद्र्धमा गीता र दीपक जात्रा हेर्न गएका हुन्छन् । त्यसबखत उनले अप्रत्यक्ष रूपमा दीपकप्रतिको आशक्ति र जीवनसाथीको रूपमा देख्न सकिने विषय उठाउँछिन् । यद्यपि, दीपकले उक्त विषयलाई वास्ता गर्दैन । गीता सरस्वतीलाई भाग्यमानी नारीको रूपमा देख्छिन्, जो पूर्ण महिलाको जीवन बिताउन पाइरहेकी छन् । अर्कोतर्फ सरस्वती गीताको बोली, व्यवहार, सौन्दर्यबाट प्रभावित छन् ।

विस्तारै गीता र सरस्वतीको सुमधुर सम्बन्ध शीतयुद्धमा परिणत हुन्छ । र, दीपक यी दुई नारीको शीतयुद्धमा पिल्सिएका छन् । सतही रूपमा युद्ध पुरुष पात्र दीपकको लागि देखिएको छ । यद्यपि, अतृप्त इच्छाका कारण मानिसक अस्थिरताको द्वन्द्वमा यी महिला पात्र जुधिरहेको निष्कर्ष पनि निकाल्न सकिन्छ ।

अतृप्त इच्छा– मानसिक अस्थिरताको उपज

‘डुन नट ड्रिम इट क्यान कम ट्रुु’– चिनियाँ हितोपदेश

उल्लेखित चिनियाँ हितोपदेशले र मानिस कुनै वस्तु वा लक्ष्यको चाहनाको वशमा पर्दा चुकाउनुपर्ने मूल्य र त्यसको परिमाणबारे हेक्का राख्नुपर्ने सन्देश दिन्छ । अर्थात्, मानिसले इच्छा, चाहना पलाउँदा ती जायज छन् कि छैनन् सोच्नुपर्छ ।

यसको अर्को उदाहरणका रूपमा प्राचीन ग्रिसको लोककथा ‘द गोल्डेन टच’को सारलाई पनि लिन सकिन्छ । एक राज्यमा प्रतापी राजा छन् । उनलाई सुनसँग मोह छ । सोही मोहका कारण उनले देवताबाट आफूले स्पर्श गरेका हरेक वस्तु सुनमा परिणत हुन् भन्ने वरदान माग्छन् । देवताले उनलाई त्यस्तो वरदानपछिको परिणाम सोच्न आग्रह गर्छन् । आफ्नो अभिलाषाले अन्धो भएका राजाले बिनासोच वरदान सिद्ध गरिपाउन अनुरोध गर्छन् । त्यसपछि उनले छोएका हरेक वस्तु सुनमा परिणत हुन्छन् । उनको दरबार नै स्वर्णिम हुन्छ ।

वरदानको उन्मादमा राजाले आफ्नी छोरीलाई हर्षित भावमा स्पर्श गर्छन्, राजकुमारी पनि सुनमा परिणत हुन्छिन् । राजाले बल्ल आफ्नो इच्छाको परिमाण बोध गर्छन् ।

त्यसरी नै श्रीमान्सँग सशंकित सरस्वती गीताजस्तै राम्री हुन प्रयास गर्छिन् । कहिले नम्रतापूर्वक त कहिले पेचिलो भाकामा दीपकलाई आफू गीताजस्तो सुन्दर हुन नसकेको गुनासो गर्छिन् । ‘माता’जस्तै सुन्दर हुने आफ्नो इच्छा पूरा हुन नसकेकामा उनी असन्तुष्ट छिन्, दुःखी अनि निराश छिन् ।

आफ्नो अस्थिर मनस्थितिमा सुधारका लागि उनले मातासँग उपचारको माग गर्छिन् । यता, गीता ‘त्रिपुरा माता’को भेष धारण गर्न असमर्थ छिन् । सरस्वतीको आशक्तिअघि उनको वचन व्यर्थ हुन्छ । मानसिक अस्थिरताको दलदलमा सरस्वती यसरी फस्छिन् कि जसबाट उमुक्ति पाउन उनले इच्छा गरेको बाटो नै उनको मृत्युको कारण बन्छ । त्यसका लागि फिल्मको लागि एक घण्टा ४० मिनटको समय निकाल्नु दर्शकका लागि फलदायी हुनसक्छ ।

फिल्ममा रंगसँगको खेल निकै बेजोड छ । सरस्वतीकी कान्छी छोरीले हरेक पटक चित्र कोर्दा बनाउने कालो अँध्यारो आकाश र फिल्मको अन्तिम दृश्यमा मृत सरस्वती तथा त्रिपुरा माता त्रसित मुद्रामा पनि अँध्यारो देखाएर बिट मारिएको छ । कुनै पनि फिल्ममा प्रमुख पात्र नै नायक–खलनायकका रूपमा यसरी चित्रण गरिएको कथा सायद विरलै लेखिन्छन् ।

प्रकाशित मिति: ०९:०३ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्