निकालियो मजिपाः लाखे आजुको ख्वापा (फोटो फिचर)
काठमाडौं, भदौ १७ : हरेक वर्ष कृष्ण एकादशीका दिन निकालिने मजिपाः को ‘ख्वापा’ (नेपाल भाषामा) अर्थात् ‘मुखौटा’ प्राचीन किल्ला (मुखौटा राखिएको देवता घरस्थित...काठमाडौं, भदौ १७ : हरेक वर्ष कृष्ण एकादशीका दिन निकालिने मजिपाः को ‘ख्वापा’ (नेपाल भाषामा) अर्थात् ‘मुखौटा’ प्राचीन किल्ला (मुखौटा राखिएको देवता घरस्थित विशेष कक्ष वा स्थान) बाट आज (बिहीबार) निकालिएको छ।
नजिकिँदो इन्द्रजात्राको एक महत्वपूर्ण पक्ष मजिपाः लाखेको मुकुण्डो आज किल्लाबाट निकालिएसँगै मर्मतसम्भार गर्न सम्बन्धित चित्रकारकहाँ पठाउने गरिन्छ। मुखौटा ‘ख्वापा’ निकाल्दा गुठीका नाइके र नाइकेका परिवारजन मात्र उपस्थित हुन्छन्।
हरेक वर्षझैं आजको दिन लाखे र झ्यालिन्चा (लाखेसँगै नाच्ने अर्को व्यक्ति) को मुखौटा किल्लाबाट झिकेर ‘नास द्योः’ (कुल देवता) को पूजा गरिन्छ र भोलिपल्टको दिन मुखौटा चित्रकारकहाँ लगिन्छ।
वसन्तपुरस्थित मजिपातका श्री मजिपाः लाखे आजु लाखेमध्ये सबैभन्दा शक्तिशाली हुन्। तलेजु भवानीका अंगरक्षक मजिपाः लाखेले इन्द्रजात्रामा कुमारीको रथमा परिक्रम गर्ने गर्छ।
जीवित देवीका रूपमा परिचित कुमारीलाई तलेजु भवानीको स्वरुप मानिन्छ। जात्रा सुरु हुनु दुई दिनअघि देवताको घर (द्यो छें) मा लगिने चलन चलिआएको छ। अर्को दिन मुखौटामा कपाल राखिन्छ।
सोही प्रचलनअनुसार यो वर्ष भदौ ३१ मा मुखौटालाई द्योछेंमा लगिनेछ भने १ गते मुखौटामा कपाल राखिनेछ। असाेज २ इन्द्र ध्वजोत्थानसँगै इन्द्रजात्राको औपचारिक सुरुवात हुनेछ।