जुम्लामा पक्की कुलो निर्माण भएपछि जमिन सिँचाइको पहुँचमा
खलङ्गा, भदौ १६ : पक्की सिँचाइ कुलो निर्माण भएपछि जुम्लाको कनकसुन्दरी गाउँपालिकाका स्थानीयवासीमा खुसी छाएको छ। वडा नं ७ बैदारबाडामा निर्माण भएको पक्की कुलाले...खलङ्गा, भदौ १६ : पक्की सिँचाइ कुलो निर्माण भएपछि जुम्लाको कनकसुन्दरी गाउँपालिकाका स्थानीयवासीमा खुसी छाएको छ। वडा नं ७ बैदारबाडामा निर्माण भएको पक्की कुलाले यहाँको ५० रोपनी जमिन सिँचाइको पहुँचमा पुगेको छ। पक्की कुलो पुगेपछि यहाँका किसान सहजै रुपमा सिँचाइ गरेर खेती गर्न थालेका छन्।
कच्ची कुलो हुँदा पटक–पटक पहिराले पुरिने र भत्किने भएकाले खेती गर्ने समयमा किसानलाई निकै सास्ती हुँदै आएको थियो। वडा नं ७ स्थित सुधारसिल कृषक समूहले एक सय २० मिटर पक्की सिँचाइ कुलो निर्माण गरेको छ।
यो कुलाले बैदारवाडाको ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ। गाउँको सिरानमा कुलो भएकाले वर्षातको समयमा असाध्यै असुरक्षित हुने र पहिराको उच्च जोखिम थियो। कुलामा जाने पानीले जमिन भासिने सम्भावना तीव्र थियो। पक्की कुलो बनेपछि पहिराको जोखिम हटेको छ।
कुलाले गाउँमा रहेको निर्भरता कम हुने र गाउँमा पहिरो जान घट्ने तथा आफ्नै जमिनमा तरकारी र अन्नबाली उत्पादन गरी समुदायमा रोजगारी सिर्जना गरेर आम्दानी बढाउन प्रोत्साहित गरिरहेको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताए।
समुदायमा बाढी पहिराको जोखिम कम हुने र उत्पादनमा वृद्धि भई आफ्नै व्यवसायमा व्यस्त हुने अवस्था निर्माण गरिएको छ। कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनकरण जलवायु परिवर्तन अनुकूलन कार्यक्रमअन्तर्गत सो सिँचाइ कुलो निर्माण गरिएको हो। सिँचाइ कुलो निर्माणका लागि पेस नेपालले रु दुई लाख ५० हजार र वडा कार्यालयले रु ४० हजार लगानी गरेको छ।