Kathmandu Press

परिवार नियोजनका अस्थायी साधन कसरी प्रयोग गर्दै हुनुहुन्छ ? 

विवाहपछि पहिलो सन्तान कहिले जन्माउने र दोस्रो सन्तान कति फरकमा जन्माउने भनेर दम्पतीबीच सल्लाह हुने गर्छ । तर परिवार नियोजनका अस्थायी साधन सधैँ भरपर्दो नहुने हुँदा केही समस्या आउन सक्छन् । 
परिवार नियोजनका अस्थायी साधन कसरी प्रयोग गर्दै हुनुहुन्छ ? 

काठमाडौं, भदौ १६ : रविन र सीता (नाम परिवर्तन) को विवाह भएको सात वर्ष भयो । विवाह गर्दा सीता २३ र रविन २५ का थिए । दोलखा माइती भएकी सीताको स्नातक पढ्दै गर्दा विवाह भएको थियो । 

विवाहपछि पनि पढाउने सर्तमा आफूले रविनसँग बिहे गरेको सीता बताउँछिन् । नत्र उनको स्नातकोत्तर सकेर विवाह गर्ने योजना थियो । ‘भर्खरै पढाइ सकियो, श्रीमान्को मात्र जागिरले घर र बच्चा हेर्न गाह्रो हुन्छ,’ सीता भन्छिन्, ‘पहिलाको तुलनामा अहिले आर्थिक अवस्था राम्रो छ । अहिले मेरो पढाइ पनि सकियो, अब बच्चा जन्माउने प्लान छ ।’ 

सीता र रविनले सुरुदेखि चिकित्सकको परामर्श अनुसार परिवार नियोजनका साधनको प्रयोग गर्दै आएका छन् । ‘हामीले परिपक्व उमेरमा बिहे गरेका हौँ,’ सीता भन्छिन्, ‘हामीबीच परिवार नियोजनका साधनदेखि बच्चा जन्माउने विषयमा सल्लाह भइरहन्छ ।’

Hardik ivf

२६ वर्षीय नारायण र २५ वर्षीया सुनिता (नाम परिवर्तन) को विवाह भएको तीन वर्ष भयो । सुनिताको पढाइका कारण उनीहरूले बच्चा जन्माएका छैनन् । डाक्टरसँग परामर्श गरेरै अस्थायी साधनको प्रयोग गर्दै आएका छन् । 

‘बच्चा जन्माउनका लागि हामीसँग अझै समय बाँकी छ,’ सुनिता भन्छिन् ‘यो त करिअर बनाउने समय हो । तर, परिवारबाट सन्तान हुनुप¥यो भनेर दबाब आइरहेको छ । हामीले पढाइपछि नै विचार गर्छौं भनेर टालिरहेका छौँ ।’

बिहे, करिअर, सन्तान र परिवार नियोजनको अस्थायी साधनको प्रयोगमा अहिले युवा पंक्ति सचेत देखिन्छ । अधिकांश सचेत जोडीले बिहेपछि पढाइलाई अगाडि बढाइरहेका छन् । कतिले पढाइ सकेरै बिहेको योजना बुनिरहेको पनि पाइन्छ । 

विशेषतः विवाहपछि पहिलो सन्तान कहिले जन्माउने र दोस्रो सन्तान कति फरकमा जन्माउने भनेर दम्पतीबीच सल्लाह हुने गर्छ । अहिले दम्पतीलाई विज्ञान र प्रविधिले पनि साथ दिएको छ । यति हुँदाहुँदै पनि परिवार नियोजनका अस्थायी साधन सधैँ भरपर्दो नहुने हुँदा केही समस्या आउन सक्छन् । महिलाको शरीरको प्रकृति अनुसारका सुई, ट्याबलेट लगायत प्रयोग गर्नुपर्ने हुन सक्छ । 

स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल यस्ता विविध समस्याका कारण पछि गर्भवती हुँदा महिला स्वास्थ्यमा समस्या आउन सक्ने बताउँछन् । उनी भन्छन्, ‘परिवार नियोजनका अस्थायी साधनको प्रयोगमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ ।’ कारणवश गर्भपतन गर्नुपर्ने भए चिकित्सककहाँ जानुपर्छ, जथाभावी औषधिको प्रयोग गर्नुहुँदैन । 

डा. रिजालका अनुसार, असुरक्षित यौन सम्पर्क गरी असुरक्षित किसिमले नै गर्भपतन गराउने वा गर्भधारण रोक्न खोज्ने प्रशस्तै भेटिन्छन् । सरकारबाट मान्यता नपाएका औषधिको प्रयोग गरेको पनि पाइन्छ । कतिले त पहिलो सन्तान नजन्माउँदै डिपो खोप पनि प्रयोग गरेको पाइन्छ । डा. रिजाल भन्छन्, ‘तर यसको परिणाम उनीहरूले सोचेजस्तो हुँदैन ।’

पछिल्लो समय बच्चा जन्माउँदा विभिन्न जटिलता वा समस्या आउन थालेको डा. रिजालको भनाइ छ । ‘पहिलेको तुुलनामा तोकिएको समयभन्दा चाँडै बच्चा जन्मने, बच्चाको तौल कम हुने, गर्भवती भएको ३÷४ महिनामै खेर जाने आदि समस्या देखिन थालेका छन्,’ डा. रिजाल भन्छन्, ‘त्यसैले महिलाको तौल, पहिलो बच्चा कसरी जन्माएको, पाठेघरको आकार, महिनावारीको समय आदि परीक्षण गरेर मात्र अस्थायी साधनको प्रयोग गर्नुपर्छ । दोस्रो बच्चा जन्माउने विषयमा चिकित्सकसँग परामर्श लिँदा राम्रो  हुन्छ ।’

अहिलेको खानपिनले पनि दम्पतीको प्रजनन स्वास्थ्यमा असर परेको डा. रिजाल बताउँछन् । युवा अवस्थादेखि चुरोट लगायत धूमपान गर्ने, मद्यपान वा लागूऔषधको प्रयोग गर्ने, जंक फुड बढी खाने, प्रोटिनको कमी हुने आदि कारण प्रजनन स्वास्थ्यमा समस्या देखिएको पनि डा. रिजालको भनाइ छ ।

स्त्रीरोग विशेषज्ञ डा. गीता गुरुङ सन्तानका लागि महिलाको उपयुक्त उमेर २० देखि ३५ सम्मलाई मान्छिन् । ‘३५ वर्ष नाघेपछि विवाह गरेर बच्चा जन्माउन ढिला गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर गर्न सक्छ,’ उनले भनिन्,  ‘तर चिकित्सकको परामर्श लिएर आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर मात्र परिवार नियोजनका साधन अपनाउने, ग्याप राख्ने सकिन्छ ।’ 
 

प्रकाशित मिति: ११:१८ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्