प्रहरीले कसरी घोषणा गर्छ बेवारिसे शव ?
२०७७/७८ मा महानगरीय प्रहरी कार्यालयबाट १८ लाख ७० हजार र जिल्ला प्रहरी कार्यालयहरूबाट २ करोड १२ लाख ७२ हजार रुपैयाँ बेवारिसे शव व्यवस्थापनका लागि खर्च गरिएको थियो ।काठमाडौं, भदाै १५ : बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगरले एकै दिन (साउन २१ गते) २० वटा बेवारिसे शव जलाइन् । काठमाडौं उपत्यकाका विभिन्न महानगरीय प्रहरी वृत्तबाट पत्र पाएपछि उनले टिचिङ अस्पतालबाट शव उठाएकी थिइन् । दुई वर्षदेखि बेवारिसे शव जलाउने कार्यबाट चिनिएकी सपनालाई महागरीय प्रहरीवृत्तबाटै पत्र आउने गर्छ ।
प्रहरी प्रशासनबाट पत्र आएपछि पत्रका आधारमा उनी बेवारिसे उठाउन अस्पताल पुग्छिन् । एक–एक शव जलाउनुभन्दा सामूहिक रूपमा जलाउँदा केही सहज र समयको पनि बचत हुन्छ । ‘एम्बुलेन्स खर्च अलि धेरै हुन्छ । त्यसैले एकै दिन केही शव संकलन गरेर जलाउँछु,’ सपना भन्छिन्, ‘शव संकलन गरेर पशुपतिमा घाट केही खुकुलो भएको दिन जलाउने गरेकी छु ।’
एउटा शव चलाउन कति खर्च
बेवारिसे शव जलाउन सरकारले प्रहरीलाई सशक्त अनुदानमार्फत बजेट उपलब्ध गराउन थालेको छ । प्रहरीका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा शव व्यवस्थापनमा दुई करोड ३१ लाख ४२ हजार रुपैयाँ खर्च भयो । २०७७/७८ मा महानगरीय प्रहरी कार्यालयबाट १८ लाख ७० हजार र जिल्ला प्रहरी कार्यालयहरूबाट २ करोड १२ लाख ७२ हजार रुपैयाँ बेवारिसे शव व्यवस्थापनका लागि खर्च गरिएको थियो ।
प्रहरी प्रधान कार्यालयका अनुसार, ०७७/७८ मा देशभर तीन सय ३२ बेवारिसे शव भेटिएका थिए । यस हिसाबले, सोही वर्ष भेटिएका सबै बेवारिसे शव प्रहरीले व्यवस्थापन गरेको भए पनि एउटा शवका लागि ६९ हजार सात सय रुपैयाँ खर्च गर्न पुुग्ने देखिन्छ । बेवारिसे शव जलाउन अझै पनि प्रहरीले विभिन्न संघ–संस्था गुहार्ने गरेको छ ।
उसो भए काठमाडौंमा एउटा शव व्यवस्थापन गर्न कति लाग्ला ? एउटा शव जलाउन अस्पतालदेखि पशुपतिघाटसम्म न्यूनतम १२ हजार रुपैयाँ लाग्ने सपना बताउँछिन् ।
उनका अनुसार, टिचिङबाट पशुपतिसम्म शव लैजाँदा एम्बुलेन्सले दुई हजार रुपैयाँ शुल्क लिन्छ । सपनाले खर्च कम होस् भनी शव उठाउन ‘हाम्रो टिम नेपाल’को गाडी प्रयोग गर्छिन् ।
पशुपतिमा पु¥याएपछि पहिले शव दर्ता गराउनुपर्छ । ‘शव दर्ता गराउँदा आफैँ जलाउने भए एक हजार ८ सय रुपैयाँ लाग्छ,’ उनले भनिन्, ‘शव जलाउने मानिसको सेवा लिएमा तीन हजार तीन सय रुपैयाँ दिनुपर्छ ।’
सपना भने आफैँ शव जलाउने गर्छिन् । शव दर्ता भइसकेपछि हिन्दु संस्कार अनुसार दाउरा, घिउ लगायत आवश्यक साम्रगीका लागि न्यूनतम आठ हजार रुपैयाँ लाग्ने सपना बताउँछिन् ।
यसका लागि सपनाले विभिन्न मनकारी मानिसबाट सहयोग रकम पनि पाउँछिन् । उनी भन्छिन्, ‘राम्रो काम गरेको भनी विभिन्न व्यक्तिले रकम सहयोग पनि गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘प्रहरी प्रशासन तथा अस्पतालले बेवारिसे शव व्यवस्थापन गरेबापत कुनै रकम दिने गरेको छैन ।’
यो पनि
एउटा बेवारिसे शव जलाउन ६९ हजार पुुग्ने गरी बजेट, तर संघसंस्था गुहार्छ प्रहरी
आर्यघाटमा छुट छैन
मानवीय भएर हेर्दा वास्तवमा पशुपति विकास कोषले आर्यघाटमा बेवारिसे शव जलाउन शुल्क लिनुनपर्ने हो । तर, शुल्क नबुझाएसम्म शव दर्ता नहुने सपना बताउँछिन् ।
पशुपति क्षेत्र विकास कोषको शवगृह शाखाका अधिकृत कुमार थापा मगर आर्यघाटमा बेवारिसे शव जलाउन कुनै शुल्क छुट नदिइएको बताउँछन् ।
‘वारिस तथा बेवारिस शव जलाउन ल्याउने दुवैलाई दर्ता लगायत अन्य शुल्क बराबर छ,’ अधिकृत मगरले भने, ‘विद्युतीय शवगृहमा भने कम शुल्क लाग्छ । तर, अहिले कोभिडबाट मृत्यु भएको शव मात्र जलाइन्छ ।’
उनका अनुसार, पछिल्लो समय सरकारले विद्युतीय शव गृहबाट कोभिडले मृत्यु भएकालाई मात्र जलाउन निर्देशन दिएको छ । ‘विद्युतीय शव गृहबाट शव जलाउन चार हजार रुपैयाँ शुल्क लाग्छ,’ उनले भने, ‘दाउराबाट जलाउनुभन्दा कम खर्च हुन्छ ।’
बेवारिसे शव व्यवस्थापन प्रक्रिया
कतै कसैको शव फेला परेको खबर आए सबैभन्दा पहिले प्रहरी वा नगर प्रहरी त्यहाँ पुग्छ । प्रहरीले शवबारे आसपासका व्यक्तिसँग सोधपुछ गर्छ ।
शवको पहिचान खुली कोही हकवाला भेटिए आफन्तको उजुरीमा मृत्युको कारणबारे प्रहरी अनुसन्धान अगाडि बढ्छ । हकवाला नभए उक्त शवलाई प्रहरीले केही प्रक्रिया पु¥याएर ‘बेवारिसे शव’ घोषणा गर्छ ।
अधिकांश यस्ता शवलाई टिचिङ अस्पताल महाराजगन्जमा पठाइदिने गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी निरीक्षक दीपक थापा बताउँछन् । ‘नगर प्रहरीको अनलाइन साइट, एफएम र प्रहरीलाई शव फेला परेको व्यक्तिको हुलियाको विवरण पठाउँछौँ,’ उनले भने, ‘व्यक्तिको पहिचान खुल्ने साम्रगी (साथमा रहेको फोटो, लत्ताकपडा आदि) पठाउँदा पनि कोही हकवाला नआए बेवारिसे शव घोषणा गरिन्छ ।’
महानगरीय प्रहरीले सकेसम्म पहिचान खुलाउने प्रयास गर्ने गरेको बताउँछन् । ‘उपत्यकाभित्र तथा बाहिर भेटिएका धेरै शव टिचिङ अस्पताल महाराजगन्ज राख्ने गरिन्छ,’ उनले भने, ‘त्यहाँ राख्ने ठाउँ भए बेवारिसे शव एक डेढ महिनासम्म राखिन्छ ।’
उनका अनुसार, हस्पिटलमा ठाउँको अभाव भए तीन–चार हप्ता राखेर व्यवस्थापनको प्रक्रिया अगाडि बढाइन्छ । पहिचान खुल्न सकेन भने पोस्टमार्टम गरेर जलाउन पठाइने उनले बताए ।
शव पोस्टमार्टमका लागि नौ सय ५० रुपैयाँ शुल्क तोकिएको फरेन्सिक मेडिसिन विभाग, महाराजगन्जका विभागीय प्रमुख डा. तुलसी कँडेल बताउँछन् । ‘यसमा दुई सय रुपैयाँ हेल्परलाई, दुई सय ५० रुपैयाँ स्वास्थ्य साम्रगीलाई, पाँच सय रुपैयाँ पोस्टमार्टममा गर्ने डाक्टरलाई खर्च छुट्याइन्छ,’ उनले भने, ‘डाक्टरलाई दिने खर्चमा कर शुल्क कटाएर मात्र आउँछ । २१ वर्षदेखि पोस्टमार्टको शुल्क उही छ ।’
उनका अनुसार, पोस्टमार्टम गरेपछि उक्त व्यक्तिको नाम, ब्लड गु्रप, डिएनए गर्न सक्ने कुनै अंग छुट्ट्याएर राखी शव जलाउन पठाइन्छ, ताकि शव जलाइसकेपछि कोही आफन्त आएमा पहिचान गर्न सजिलो होस् ।
बेवारिसे व्यक्तिलाई पोस्टमार्टम गरेको शुल्क डाक्टरलाई अस्पतालले दिने गर्छ । डाक्टरलाई दिने रकम पहिला स्वास्थ्य विभाग अन्तर्गत आउँथ्यो, अहिले स्वास्थ्य मन्त्रालय अन्तर्गत अस्पतालमा अनुुदान स्वरुप आउने गरेको उनले बताए । ‘अस्पतालमा ठाउँ अभाव भए प्रहरीलाई नै शव जलाउन लैजानका लागि पत्र पठाइन्छ,’ उनले भने ।