Kathmandu Press

धौग: बजार : ६० नाघेका व्यापारी, अर्थोपार्जन अनि एक्लोपनबाट मुक्ति

पाटन पिमबहालको ‘जगमदु पुखु:’बाट दाहिने लाग्दा करिब दुई सय मिटर पर दायाँतर्फ पर्छ, ‘धौग: बजार’। ‘धौ बहा:’स्थित उक्त बजारको बाहिरी आवरण तथा परिवेश मात्र नभई त्यहाँका व्यापारीसमेत पुराना हुन्।
धौग: बजार : ६० नाघेका व्यापारी, अर्थोपार्जन अनि एक्लोपनबाट मुक्ति

काठमाडौं, भदौ १४ : पाटन पिमबहालको ‘जगमदु पुखु:’बाट दाहिने लाग्दा करिब दुई सय मिटर पर दायाँतर्फ पर्छ, ‘धौग: बजार’। ‘धौ बहा:’स्थित उक्त बजारको बाहिरी आवरण तथा परिवेश मात्र नभई त्यहाँका व्यापारीसमेत पुराना हुन्।

बजार प्रवेशसँगै बुढ्यौलीले छपक्कै छोपिसकेको अजी-बाजे (हजुरआमा-बुवा)हरू पसलमा बसिरहेको भेटिन्छन्। चाउरी परेका अनुहार, र मुजा परेका हातगोडाका छालाले उनीहरूले जीवनको कति वसन्त पार गरे भन्‍ने अनुमान लगाउन सकिन्छ। तर, उनीहरूको साहस र जाँगरमा भने बुढ्यौलीपनको छनकसमेत पाइँदैन।

हिन्दू धर्मशास्त्रअनुसार ‘वानप्रस्थ आश्रम’ मानव जीवनको चार आश्रममध्ये एक हो, जसलाई आधुनिक बोलीचालीमा ‘रिटायर्ड लाइफ’ भनिन्छ। जीवनको पहिलो २५ वर्ष ‘ब्रह्मचर्य आश्रम’ अर्थात ‘अध्ययन’ को समय हो भने ५० वर्षसम्मको उमेरलाई गृहस्थाश्रमको रूपमा व्याख्या गरिएको छ।

Hardik ivf

५० देखि ७५ वर्षको उमेरलाई ‘वानप्रस्थ आश्रम’को रूपमा मानिन्छ। यस उमेरमा घरेलु व्यवहार तथा अर्थोपार्जनका जिम्मेवारीसमेतबाट टाढा भई अवकाश जीवन बिताइन्छ। त्यही नियम आम जनमानसमा आज पनि लागू हुन्छ। यद्यपि, पाटनको धौग: एउटा यस्तो बजार हो, जसले धर्मग्रन्थको त्यस परिधिलाई पनि माथ गरिदिएको छ।

९० कटेकी ‘हरुमाई बाँणा’

बजारको प्रवेशद्वारमै छ, हरुमाई बाँणाको सानो खुद्रा पसल। सानो कुचुक्क परेको पसलमा उनले ‘यँ’ अर्थात ‘चर्खा’लाई समेत अटाएकी छन्। ग्राहक नभएको समयमा चर्खामा बत्ती कात्न व्यस्त देखिन्छिन् उनी।

ग्राहक आउँदा चर्खा छाडेर आवश्यक सामान दिन्छिन् अनि फेरि सुरु हुन्छ, चर्खाको घ्वार्र घ्वार्र। हजारवटा बत्ती काटेबापत एकदेखि डेढ सय रुपैयाँ कमाइ हुने उनी बताउँछिन्। उनका लागि कुनै विश्रामको क्षण हुँदैन।

आफ्नो उमेर पनि कति भयो भन्‍ने पत्तो छैन, हरुमाई बाँणालाई। पसलमा आएका स्थानीय सिंहराज बज्राचार्यले भने ‘उहाँको दुईपटक जंको भइसकेको छ।’ नेवार समूदायमा मानिसको जीवनमा ६ पटकसम्म जंको गर्ने परम्परा छ। त्यसमध्ये पहिलो जन्मेको ६ महिना अर्थात् अन्‍नप्राशनका रूपमा जंको गरिन्छ। त्यसपछि ७७ वर्ष ७ महिना ७ दिन, ८२ वर्ष ४ महिना ४ दिन, ८८ वर्ष ८ महिना ८ दिन, ९९ वर्ष ९ महिना ९ दिन र १०५ वर्ष ८ महिना ८ दिनमा जंको गरिन्छ। हरुमाईको जंको उमेर ढल्केपछि दुईपटक भइसकेको छ। त्यसको अर्थ, उनले ८२ काटिसकेकी छन्।

यो बजार नै पुरानो मालपोत कार्यालयको परिसरमा अवस्थित छ। मालपोत कार्यालयले पनि हरुमाईको ज्येष्‍ठताकै कारण उनीसँग भाडा लिने गरेको छैन। बिहान नौ बजे खाना खाएर पसल खोल्न आइपुग्छिन्। साँझ ६ बजे पसल बन्द गर्दा उनको कान्छो लिन आइपुग्छन्।

उनका लागि यो पसल व्यवसायभन्दा दैनिकी हो र दिन कटाउने मेलो पनि। दिनको तीन सयदेखि पाँच सय रुपैयाँको व्यापार हुने उनी बताउँछिन्।

दिन कटाउने, मन भुलाउने र पसलमा आइरहने उनका समकालीन दौतरीसँग रमाउँदै दिन कट्छ, उनको। उनको पसलमा सबैभन्दा धेरै बिक्ने भने चुरोट रहेछ। चुरोटको ‘पफ’ पनि साथीभाइ मिलिजुली बाँड्ने गर्दा रहेछन्। देख्‍नेका लागि उक्त दृश्यले पुलकित बनाउँछ।

हरुमाईको पसलमा चुरोट किन्‍न आएका बज्राचार्यका अनुसार उनले पहिले श्रीमानसँगै चिया पनि बेच्थिन् रे। श्रीमानको मृत्युपछि उनको पसलबाट चिया हट्यो र सानो कुनामा सीमित बनिन्, हरुमाई।

हाल सानो फलामे पसलमा केही प्याकेट चुरोटका खिल्ली, चाउचाउको कार्टुन र मीठा मसिना चक्लेट, तितौरा बेच्‍न राखेकी छन्। पसलमा आवश्यक सामान सकिँदा उनी नजिकैको होलसेलबाट ल्याउँछिन्। ऊर्जा र जाँगर भए बुढ्यौलीपनको आभाससमेत नहुने उदाहरण हुन्, उनी।

असनको झल्को दिने ७० वर्षीया शाक्यको किराना पसल

बजारको पूर्वी कुनामा कमला शाक्यको पसल छ। झट्ट हेर्दा उनको पसलले सानोतिनो  असनको झल्को दिन्छ। पुराना टिनका भाँडाहरूमा लस्करै राखिएका दाल, गेडागुडी, सिद्रा र ठूला माछा, मिश्री, चामल, चिउरा, तेजपत्तालगायतले पसलको पूर्णता झल्काउँछन्।

बजार खुलेको वर्षदिनपछि उनले पनि सोही बजारमा पसल थापिन्। त्यसअघि उनको पसल बजारभन्दा बाहिरपट्टि थियो। सोही पसलको आम्दानीले उनको परिवारको जीविका चल्यो। छोराछोरी पढाएर आ-आफ्नो खट्टुामा उभ्यासकेकी छन्, उनले।

उनका लागि यो पसल जीविकोपार्जन मात्र होइन, जीवनको सहयात्री पनि बनेको छ। सात वर्षअघि उनका श्रीमान बिते। तत्पश्चात एक्लोपन कटाउने माध्यम यही पसल भएको छ। पसलमा व्यापार नभएको समयमा उनी बौद्ध दर्शनका किताब पढेर समय व्यतीत गर्छिन्।

‘पहिलो लकडाउन (कोरोना महामारीपछि)मा घरै बस्‍नुपर्‍यो। म सुगर, प्रेसर भएको मान्छे एक्लै टीभी हेरेर बस्छु, बुहारीले बसेकै ठाउँमा खाना ल्याइदिन्छिन्,’ उनले आफ्नो अनुभव बाँडिन्, ‘हिँडडुल र काम गरिरहँदा ठीक भएको सुगर प्रेसर ह्वात्तै बढ्यो। कोरोनाको खोप दुईपटक लगाए सकेँ। अब त खासै डर लाग्दैन।’ उनमा ऊर्जा यति छ कि निषेधाज्ञाको कडाइमा बिहान १० बजेसम्म भए पनि पसल सञ्‍चालन गरिन्।

उनलाई घर बस्‍न मन लाग्दैन, पसलमा आउँदा र कामकाज गर्दा उनको ज्यान हुलका हुन्छ। र, यही ठीक लाग्छ रे उनलाई।

यद्यपि, पहिलेजस्तो व्यापार नभएको उनी बताउँछिन्। त्यसको कारण खुलाउँदै भन्छिन्, ‘घरपिच्छे किराना पसल छन्। पहिले यो ठाउँमा ठूलै घुइँचो हुन्थ्यो।’

मासिक १० हजार रुपैयाँ बुझाउनुपर्छ, उनले पसलको भाडा। व्यापार सोचजस्तो नहुँदा र भाडा तिर्न नपुग्दा उनका छोराले रकम थपिदिन्छन्। घरमा आवश्यक दैनिक उपभोग्य वस्तु पसलबाट लगिदिन्छिन्। ‘खुशी लाग्छ, यो उमेरमा पनि घरखर्चमा धेरथोर सहयोग गर्न सकेकी छु,’ उनी भन्छिन्।

सस्तो बजारदेखि दही वर्षातसम्मका किंवदन्ती

करिब ४० वर्षअघि स्थापना भएको यस ठाउँले धौ: बजार, सस्तो बजारलगायत अनेक उपमा पाएको छ। स्थानीय सिंहराज बज्राचार्यका अनुसार परापूर्व कालमा ग्वा: बहालबाट माछाले दही ओसार्ने क्रममा दही छल्किएर धौबहा: मा बर्सिएका कारण उक्त क्षेत्रलाई धौ बहा: भनिएको हो। नेपाल भाषामा ‘धौ:’को अर्थ दही हो। सोहीअनुसार बजारको नाम पनि ‘धौ’ रहन गएको जनविश्वास पाइन्छ। त्यसमा जोडियो ‘ग:’। नेपाल भाषामा ‘ग:’को अर्थ खाल्डो हुन्छ।

‘पहिले यो ठाउँमा खेत थियो,’ बज्राचार्य सम्झिन्छन्, ‘मंगलबजारका व्यवसायीहरूले यहाँ यहाँ पनि पसल सञ्‍चालन गर्न थाले र बजारको रूप लियो।’

सुरुमा तरकारी पसल थापेका थिए, व्यापारीले। विस्तारै त्यही तरकारी पसलले बजारको रूप पाए। अनि, दैनिक उपभोग्य सामानको बजार बन्यो यहाँ। अन्यत्रभन्दा कम मूल्यमा सामान पाइने भएकाले यसलाई सस्तो बजार भन्‍न थालियो। यो बजारमा तरकारी, मासु, कोइला, चिया र किराना पसलहरू देख्‍न सकिन्छ।

चिया पसलमा व्यस्त लक्ष्‍मी केसी

नीलो मास्क लगाएर सोही बजारको अर्को कुनामा बसेकी थिइन्, ७० वर्षीया लक्ष्‍मी केसी। उनी दंगदास देखिन्थिन्। त्यसको कारण भने सरकारले खुकुलो बनाएको निषेधाज्ञा हो। ‘अहिले एक महिना-१५ दिनजति भयो पसल खोलेको। आनन्द लागेको छ,’ उनले काठमाडौं प्रेससँग आफ्नो खुशीको कारण खुलाइन्।

पहिलो लकडाउनको १० र पछिल्लो निषेधाज्ञाको तीन महिना केसीका लागि कमला शाक्यकै जस्तो अनुभव भयो। शाक्यलाई जस्तै उनलाई पनि ती कठिन दिन कटाउन निकै गाह्रो भयो। बजारमा बिहानदेखि साँझसम्मै व्यस्त हुने उनलाई हातगोडा, शरीर दुख्‍ने, सुगर बढ्नेजस्ता समस्या देखिए। ‘काम गरुन्जेलसम्म यस्ता समस्या देखिएका नै थिएनन्,’ उनले भनिन्।

कोरोना कहिले सकिएला र पुन: काममा फर्किन पाउँला भन्‍ने एक मात्र ध्येय छ उनको। झलझली पसलको झल्को आयो, घरभित्रै खम्चिँदा उनलाई। शरीरले सक्ने समयसम्म काममै व्यस्त रहने चाहना छ, उनमा। दिनभर घरमा एक्लै खुम्चिनुभन्दा काम गर्दा स्वस्थ भइने र थोरबहुत आम्दानी पनि हुने उनको भनाइ छ।

‘बिहानको समय धेरै भीडभाड हुन्छ। दिउँसो खासै हुँदैन। अनि साँझमा हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले दिउँसो केही घण्टा आराम गर्न घर बस्छु।’ कोरोनोका कारण फेरि घरमै खुम्चिनुपर्ने शंका उनको मनमा छँदैछ। त्यसैले प्रश्‍न गर्छिन्, ‘अब फेरि लकडाउन त हुँदैन होला नि है ?’

प्रकाशित मिति: १९:०५ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्