भक्तपुरकाे सूर्यमढीस्थित वाकुपति नारायणकाे आरती सम्पन्न (फाेटाे फिचर)
काठमाडौं, भदौ १४ : भगवान् श्री कृष्णको जन्मोत्सवका रूपमा आज देशभर कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ।यसै दिनमा भक्तपुर नगरपालिकाअन्तर्गत सूर्यमढी टोलमा अवस्थित...
काठमाडौं, भदौ १४ : भगवान् श्री कृष्णको जन्मोत्सवका रूपमा आज देशभर कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ।
यसै दिनमा भक्तपुर नगरपालिकाअन्तर्गत सूर्यमढी टोलमा अवस्थित वाकुपति नारायणका नाममा आरतीसहित भक्तजनले नगर परिक्रमा गर्ने चलन छ। याे एउटा जात्राका रूपमा रहेकाे छ।
तर कोभिडका कारण अघिल्लो वर्षझैं यस वर्ष पनि नगर परिक्रमा नगरी ब्रम्हायणी दबु हुँदै तचपालबाट नवदुर्गा मन्दिर लगेर फेरि सूर्यमढीस्थित वाकुपति नारायणमै ल्याएर जात्रा विसर्जन गरिएकाे छ।
चाँगुनारायण भगवानका रूपमा पुजिने वाकुपति नारायणकाे विशेष महत्व रहेकाे छ। नेपाल भाषामा ‘वा’को अर्थ ‘धान’ र ‘कु’ को अर्थ ‘भकारी’ हुन्छ। धानको भकारीमा विराजमान भएर यस स्थानमा भगवान् नारायणले बास बसेको किंवदन्ती छ।
हरेक वर्ष भगवान् कृष्णलाई स्वागतअनुरूप वाकुपति नारायणको आरती गर्ने गरिन्छ। महिलाहरू नेवाः पहिरनमा सुकुन्दाका साथ र पुरुषहरू काँध, हत्केला, र शिरमा दियो बालेर नगर परिक्रमा गर्ने गरिन्छ। यसै दिनबाट सापारू (गाईजात्रा) सम्पन्न हुने गरेको छ।
यसलाई भक्तपुर नगरपालिकाको सबैभन्दा ठूलो आरती मानिन्छ। यो आरती वर्षको एकचोटि मात्र निकाल्ने गरिएको छ।