सदर चिडियाखानामा ‘न्यु नर्मल’ : सीमित आगन्तुक, उच्च सतर्कता
गत १५ वैशाखदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा साउनदेखि खुकुलो बनाइएको छ। र, त्यससँगै सदर चिडियाखाना पनि आगन्तुकको स्वागतमा जुटेको छ।काठमाडौं, भदौ १२ : काउन्टरमा ई-टिकटको सुविधा, गेट प्रवेशलगत्तै स्ट्यान्डबाइ स्यानिटाइजर, चिडियाखाना अवलोकर्ताको पातलो भीड, ठाउँ-ठाउँमा कोभिडविरुद्ध सचेतनाका लागि टाँसिएका पोस्टर। देशको एक मात्र चिडियाघरभित्र छिर्ने र बाहिरिने छुट्टाछुट्टै व्यवस्थापनले सदर चिडियाखाना कोरोना महामारीबीच आगन्तुकलाई स्वागत गर्न तम्तयार देखिन्छ।
२०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी नेपालमा २४ जनवरी २०२० मै सुरु भइसकेको थियो। कोरोना संक्रमित बढ्दै जाँदा ११ चैत ०७६ देखि सरकारले देशव्यापी लकडाउन घोषणा गर्यो। त्यसलगत्तै बन्द भएको सदर चिडियाखानाको ढोका करिब १० महिना आगन्तुकका लागि खुलेन।
२०७७ जेठ अन्तिम सातादेखि लकडाउन त खुकुलो बन्दै गयो। तर, कोरोना संक्रमित र संक्रमणका कारण मृत्यु संख्या बढ्न नदिन सरकारले बेला-बेलामा निषेधाज्ञा जारी गरिरह्यो। गत १५ वैशाखदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा साउनदेखि खुकुलो बनाइएको छ। र, त्यससँगै सदर चिडियाखाना पनि आगन्तुकको स्वागतमा जुटेको छ।
कोभिड-१९ महामारी विश्वबाट तत्काल हटिहाल्ने सम्भावना कम भएकाले कोरोना भाइरस सँगसँगै दैनिक जीवन अगाडि बढाउनुको विकल्प पनि छैन। कतिपयले यो अवस्थालाई ‘न्यू नर्मल’ संज्ञा पनि दिँदै आएका छन्। यही ‘न्यू नर्मल’मा वन्यजन्तु र चराचुरुंगी अवलोकनमा आउने आगन्तुकका लागि ढोका खोल्ने तयारीमा सदर चिडियाखाना देखिन्छ।
स्थापनाकालदेखि कोरोना महामारी अघिसम्म यो चिडियाघर बन्द भएको सम्झना नरहेको चिडियाखानाकी प्रवक्ता लिना चालिसे बताउँछिन्। दैनिक १८ सयदेखि दुई हजार जनासम्म आगन्तुक हुन्थे, महामारी सुरु हुनु अघिसम्म। चालिसेका अनुसार अहिले मुस्किलले दैनिक पाँच सय आगन्तुक आइरहेका छ।
यससँगै महामारी अघिसम्म वार्षिक १३ देखि १४ करोड रुपैयाँ संकलन गर्दै आएको चिडियाखानाले दुई वर्षयता मुस्किलले आठ करोड रुपैयाँ मात्र हात पारेको छ।
‘पहिले आगन्तुकबाट उठेको पैसाले नै चिडियाखाना सञ्चालन, कर्मचारीको तलब सुविधाका साथै अन्य व्यवस्थाका लागि काफी हुन्थ्यो,’ प्रवक्ता चालिसे भन्छिन्, ‘तर, चालु आव ०७८-७९ मा हाम्रो बजेटको सीमा साँघुरो भएको छ। र, अत्यावश्यक विषयमा मात्र विनियोजन गरेका छौँ।’
लकडाउन र निषेधाज्ञाका कारण घरभित्रै खुम्चिन बाध्य सहरी क्षेत्रका बासिन्दा घुमघाममा निस्किन नपाउँदा उकुसमुकुस बनेका छन्। सदर चिडियाखाना भने तत्काल पहिलेझैँ ठूलो संख्याका आगन्तुकलाई भित्र्याउन तयार छैन। कोरोना प्रसार कायम रहेकाले सीमित आगन्तुकका लागि मात्र चिडियाखानाको ढोका खुला गरिएको चालिसे बताउँछिन्।
अहिलेलाई गेटमा आइपुगेका सीमित आगन्तुकलाई मात्र भित्र प्रवेश दिइने गरेको छ। चिडियाखाना खुलेकोबारे प्रचारप्रसार पनि गरिएको छैन।
बर्दिया राष्ट्रिय निकुञ्जबाट नौ महिनाअघि सरुवा भएर सदर चिडियाखाना आइपुगेका हुन्, ‘जू किपर’ लवस्ती थारू। उनी पक्षी सेक्सनअन्तर्गत स्याहार गर्ने जिम्मेवारीमा छन्। यो नौ महिनामा उनले आगन्तुकलाई स्वागत गर्न पाएनन्। अहिले भने विस्तारै चिडियाखानामा ज्यान आउन थालेको उनी बताउँछन्। ‘मानिसको चहलपहल नहुँदा चिडियाखानाको रौनक नै हराएको थियो,’ उनी भन्छन्, ‘म सरुवा भएर यहाँ आएको अवधिमा थोरै लुजडाउन थियो। चिडियाखानाभित्रै स्याहारका काम हुन्थे। अब स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अवलोकनकर्तालाई स्वागत गर्नुपर्छ।’
लकडाउनले जनावरहरूको आनीबानीमा परिवर्तन !
कोरोना महामारी अघिसम्म कहिल्यै बन्द नभएको चिडियाखानामा मानिसको आउजाउ ठप्प रहँदा जनावरहरूको आनीबानी र व्यवहारमा पनि परिवर्तन भएको महसुस चिडियाखानाका कर्मचारीले गरेका छन्। जस्तो- लजालु स्वभावका मृग र जरायोहरू मानिसको आउजाउ नहुँदा खुला, स्वतन्त्र भएर हिँड्न थालेको अनुभव उनीहरूको छ। यस्तै, राति मात्र सक्रिय हुने निशाचर चराचुरुंगी पनि दिउँसै देखिन थालेका छन्।
तथापि, मानिससँग रत्तिन खोज्ने जनावरहरूमा निराशा देखिएको छ। त्यस्ता वन्यजन्तुले मानिसलाई ‘मिस’ गरेको भान
कर्मचारीहरूमा छ। बाँदर, भालुजस्ता जनावर मानिससँग रत्तिन खोज्थे, जसमा अहिले थोरै ‘मोनोटोनस’ देखिएको कर्मचारीहरू बताउँछन्।
कोरोनापछि सतर्कता उच्च
जैविक सुरक्षा विषय सदर चिडियाखानाका कर्मचारीका लागि नौलो विषय पक्कै थिएन। मानव र जनावरबीचको निकट साक्षात्कार र बसाइका कारण मानवबाट जनावर र जनावरबाट मानिसमा सर्ने सम्भाव्य रोगहरू रोकथाममा यहाँका कर्मचारी पहिल्यैदेखि सचेत थिए।
कोरोना महामारी अघिसम्म स्यानिटाइजरको आम प्रयोग थिएन। चिडियाखानामा भने यसको प्रयोगमा कर्मचारी अभ्यस्त थिए। ‘स्यानिटाइजर’, ‘चुन’लगायत औषधिको प्रयोग जनावरको खोर किटाणुरहित बनाउन पहिलेदेखि नै प्रयोग गर्ने गरिएको सदर चिडियाखानाकी प्रवक्ता चालिसे बताउँछिन्। ‘महामारीपछि भने त्यस्ता औषधिको प्रयोग अझ बढाइएको छ,’ उनी भन्छिन्, ‘पहिले साता दिनमा एक-दुई पटक सरसफाइ गरिन्थ्यो। अहिले दैनिक अभ्यासमा ल्याएका छौँ।’
सीमित आगन्तुकलाई चिडियाखाना खुला गरिए पनि मानिसको बढी भीड हुने बोटिङ, विभिन्न खेल र हात्ती सफारीमा भने अझै रोक नै छ। भीड हुने त्यस्ता गतिविधिबाट कोरोना प्रसार बढ्ने कुरामा कर्मचारी सचेत छन्।
थोरै आगन्तुकलाई स्वागत गर्दै गर्दा कोरोनाको तेस्रो लहरविरुद्धको तयारी पनि सुरु भएको छ, चिडियाखानामा। प्रवक्ता चालिसेका अनुसार विपत् केन्द्रित ‘एसओपी’ कार्यविधि बनिसकेको छ। विशेषतः ‘स्टाफ ओरियन्टेसन’मा चिडियाखानाले जोड दिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले निर्धारण गरेको मापदण्डमा पनि चिडियाखानाले कडाइ गरेको छ।
मानव र जन्तुको सुरक्षासँगै आर्थिक चुनौती
एकातिर कोरोनाका कारण मानिसको भीड सकेसम्म कम गराउनुपर्नेछ चिडियाखानाले, अर्कोतिर विगतझैँ चहलपहल नहुँदा आर्थिक क्षति पनि बेहोरिरहेको छ।
मानव र वन्यजन्तुको सुरक्षा तथा आर्थिक स्थिरतालाई समानान्तर रूपमा अगाडि बढाउन हम्मे परेको छ, सदर चिडियाखाना व्यवस्थापनलाई। ‘केही नयाँ जीवजन्तु पनि थप्दैछौँ। ती आगन्तुकको आकर्षणको केन्द्र बन्ने अपेक्षा छ,’ चालिसे भन्छिन्, ‘तत्पश्चात हामी भिजिटरको ‘फ्लो’ कसरी व्यवस्थापन गर्ने र सुरक्षाका नीतितर्फ लाग्नेछौँ।’
आम्दानी ह्रास भएको समयमा चिडियाखानालाई स्थानीय तह र संघीय सरकारबाट सहयोग प्राप्त भएको उनको जिकिर छ। चिडियाखानाले ‘एडप्ट एन्ड एनिमल’ कार्यक्रम लकडाउन अवधिमै प्रस्ताव गरेको थियो। सोहीअन्तर्गत तत्कालीन प्रधानमन्त्री केपी ओलीले एउटा गैँडालाई ‘एडप्ट’ गरेका थिए। एडप्ट गरिएको जनावरको चिडियाखानामा रहँदा लाग्ने हरेक खर्च तथा स्याहारको जिम्मा ‘एडप्ट’ गर्ने व्यक्तिको जिम्मामा रहन्छ।
यस्तै, पूर्ववन तथा वातावरण मन्त्री प्रेमबहादुर आले एउटा हात्तीलाई एडप्ट गरेका छन्। अन्य ६ जनावरका लागि निजीक्षेत्रका संघसंस्था तथा व्यक्तिगत रूपमा एडप्ट गर्ने दाताको सहयोग जुट्ने क्रम जारी छ। र, चिडियाखानाको आर्थिक बोझ केही हल्का भएको छ।
ललितपुर महानगर मेयर चिरिबाबु महर्जनले १० लाख रुपैयाँको सहयोग दिएका छन्। चिडियाखानामा चाँडै थप गरिने ‘नयाँ
चिम्पान्जी’का लागि आवश्यक भौतिक संरचना निर्माणमा संघीय सरकारले ५० लाख रुपैयाँ अनुदान दिएको छ।
निषेधाज्ञा छल्दै परिवारसँग चिडियाखाना घुम्न आएका बूढानीलकण्ठका सरोज नगरकोटी भन्छन्, ‘लकडाउनका कारण लामो समय घरमा थुनिँदा एकोहोरिएको दिमागलाई रिफ्रेसमेन्ट चाहिन्छ नै। अबको लागि चिडियाखानाजस्ता मनोरञ्जन स्थल बन्द गर्नुभन्दा स्वास्थ्य सुरक्षा र सतर्कता साथ सञ्चालनमा ल्याउनु नै विवेकसम्मत हुन सक्छ।’