विज्ञ भन्छन्- कोभिडविरुद्ध खोपको प्रभावकारिता अझै अध्ययनमै
अहिले नेपालमा तीनवटा औषधि कम्पनीले उत्पादन गरेका चारवटा कोरोनाविरुद्धको खोप वितरण भइरहेको छ। ती हुन्– भारतीय कम्पनी सेरम इन्स्टिच्युटको कोभिसिल्ड, फाइजर र बायोएनटेकको एस्ट्राजेनेका, चिनियाँ कम्पनी सिनोफर्मको भेरोसेल र जोन्सन एन्ड जोन्सनको जान्सिन ।काठमाडौं, भदौ ११ : अहिले नेपालमा तीनवटा औषधि कम्पनीले उत्पादन गरेका चारवटा कोरोनाविरुद्धको खोप वितरण भइरहेको छ। ती हुन्– भारतीय कम्पनी सेरम इन्स्टिच्युटको कोभिसिल्ड, फाइजर र बायोएनटेकको एस्ट्राजेनेका, चिनियाँ कम्पनी सिनोफर्मको भेरोसेल र जोन्सन एन्ड जोन्सनको जान्सिन ।
हालसम्म कुल ४० लाख ५२ हजार सात सय ६५ जनाले कोरोनाविरुद्ध पूर्ण खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म पहिलो डोज मात्र पाएकाहरूको संख्या ५० लाख ६३ हजार पाँच सय २२ छ ।
तर, कतिपयमा खोप लगाएपछि स्वास्थ्यमा समस्या देखिन थालेको छ। खोप लगाएपछि स्वास्थ्यमा समस्या आउनु स्वाभाविक र अनुमानित नै भएको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
‘कोरोनाविरुद्धको खोप लगाएपछि टाउको दुख्ने, रुघा लाग्ने, ज्वरो आउने, कमजोर महसुस हुनेलगायत समस्या आउनु सामान्य हो,’ उनले भने, ‘यस्ता समस्या लामो समय निरन्तर रहेको खण्डमा सम्बन्धित क्षेत्रका चिकित्सकसँग परामर्श लिन आवश्यक छ।’
स्वास्थ्यमा सामान्य समस्या देखिने भएकै कारण अहिले धेरै मानिसमा खोपप्रति एकप्रकारको डर पैदा भएको डा. पुन बताउँछन्। तर, खोप नलगाउँदा अझ घातक स्वास्थ्य समस्या आउनसक्ने भएका कारण खोप लगाउन आवश्यक रहेको उनको सुझाव छ।
तर, कुन खोपको प्रभावकारिता कति छ भन्ने विषय हालसम्म अध्ययनकै क्रममा रहेको डा. पुन बताउँछन्। ‘कति लामो समयसम्म यसले काम गर्न, मानिसलाई कस्तो असर पारिरहेको छलगायत विषयमा अध्ययन भइरहेका छन्,’ उनले भने, ‘अहिले खोपको जति पनि नकारात्मक तथा सकारात्मक कुराहरू आइरहेका छन्, सबै प्रारम्भिक अनुमान मात्र हुन्।’
यस्तै, हालसम्म भएका अध्ययनहरूको विश्लेषण गर्दा कोरोनाविरुद्धको खोप बुस्टरका रूपमा अर्थात् वर्षैपिच्छे लगाउनुपर्ने सम्भावनासमेत रहेको उनी बताउँछन्। ‘अहिले कतिपयमा कोरोनाविरुद्धको खोप लगाएपछि संक्रमित भइँदैन भन्ने गलत बुझाइ छ। खोप लगाउनु भनेको संक्रमित नहुनु भन्ने होइन,’ उनले भने, ‘खोप लगाइसकेको व्यक्ति पनि संक्रमित हुनसक्छ। तर, खोप लगाएपछि स्वास्थ्यमा जटिलता आउने र मृत्यु हुने सम्भावना कम हुन्छ।’