हाँडीगाँउमा लिच्छवीकालीन खड्ग जात्रा सम्पन्न (फोटोफिचर)
काठमाडौं, ८ भदौ : हाँडीगाउँमा मंगलबार (आज) ‘पायो’ जात्रा अर्थात ‘खड्ग’ जात्रा सम्पन्न भएको छ । यस जात्रामा दाँया हातमा खड्ग र बाँया हातमा...काठमाडौं, ८ भदौ : हाँडीगाउँमा मंगलबार (आज) ‘पायो’ जात्रा अर्थात ‘खड्ग’ जात्रा सम्पन्न भएको छ । यस जात्रामा दाँया हातमा खड्ग र बाँया हातमा चोलो लिएर जात्रा प्रहसन गर्ने गरिन्छ ।
हरेक वर्ष ‘साँपारु’ अर्थात गाईजात्राको अर्को दिन हाँडीगाँउमा उक्त जात्रा मनाइने गरिन्छ। खड्ग जात्रा लिच्छवीकालीन समयदेखि मनाइदै आएको स्थानीय सूूर्य लाल प्रजापति बताउँछन्।
अन्य ठाउँमा भैरवलाई ख्यालीको रुपमा मात्र प्रहसन गरे पनि हाँडीगाँउको उक्त जात्रामा भने महत्वपूर्ण स्थान दिइन्छ। भैरवको मुकुण्डो धारण गर्ने व्यक्तिलाई समेत साक्षत भैरवको संज्ञाको दिइन्छ। जात्रामा भैरवका साथै, इन्द्रायणी, वैष्णवी, कुमारी आदि देवदेवी गरी १३ जनाले नाच देखाउने गर्छन्। अन्य देवदेवी नाचमा अनिवार्य नरहे पनि भैरवको नाच भने अनिवार्य रहन्छ।
तर, करिब दुई दशक अघि भने ६ जना देवदेवीले मात्र नाच प्रहसन गर्ने गरेको प्रजापतिले काठमाडौं प्रेसलाई जानकारी दिए।
यसका साथै, भैरव हुन चाहाने व्यक्तिलाई ज्योतिषलाई देखाएर तथा नीति नियम मानेर मात्र भैरव बनाउनु पर्ने विधि विधान रहेको प्रजापति बताउँछन्।
उक्त जात्राले नकारात्मक उर्जा हटाउने, शान्ति कायम हुने र मानिसको दु:ख हरण गर्ने जनविश्वास चलिआएको छ।
हाँडीगाँउ इतिहास
हाँडीगाँउको आफ्नै मौलितका र प्राचिनताले भरिपूर्ण एक पुरानो नगर हो। स्थानीय प्रजापतिका अनुसार हाँडीगाँउ काठमाडौं शहरभन्दा पनि पुरानो शहर हो । भने, हाँडीगाँउको पुरानो नाम विशालनगर हो।
लामो समय अघि हाँडीगाँउको सिमाना बुुढानिलकण्ठदेखि शंखमुलसम्म रहेको र सोही कारण विशालनगरका रुपमा नाम रहन गएको उनले थपे। जस कारण लामो समय अघि जात्राको मञ्चन पनि विशालनगर भरी नै हुने गथ्र्यो । भूकम्प, दैविक प्रकोप आदि विभिन्न कारण विशालनगरको अस्तित्व मेटिन गएको भनाइ स्थानीयको रहेको छ ।
तर, वर्तमान परिस्थितिमा उक्त जात्रा हाँडीगाँउमा मात्र मञ्चन गरिन्छ । बढ्दो शहरीकरणले साँघुरो बनाएको शहरी इलाकाले हाल उक्त जात्रा हाँडीगाँउमा मात्र सीमित छ।
खड्ग जात्रा अलावा ‘टुडाल देवी’ र चोक्टे नारायण जात्रा अन्य प्रख्यात जात्रा हुन्। कोजाग्रत पूूर्णिमा पश्चात मनाइने चोक्टे नारायण जात्रा जसलाई नेपाल भाषामा ‘गन मरु’ अर्थात ‘काही नभएको जात्रा’ को रुपमा प्रख्यात छ।