कृषिप्रधान देशमा चार अर्बको प्याज आयात, ९७ प्रतिशत हिस्सा भारतको
कृषिप्रधान मुलुक नेपालमा गत आर्थिक वर्षमा चार अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । त्यसमध्ये ९७ प्रतिशत हिस्सा भारतीय उत्पादनको छ।काठमाडौं, भदौ ८ : कृषिप्रधान मुलुक नेपालमा गत आर्थिक वर्षमा चार अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । त्यसमध्ये ९७ प्रतिशत हिस्सा भारतीय उत्पादनको छ ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार आव ०७७–७८ मा चार अर्ब ९५ लाख ८८ करोड ८१ हजार रुपैयाँको आयात भएको हो । कुल एक लाख २८ हजार चार सय ५४ मेट्रिक टन प्याज गत वर्ष नेपाल भित्रिएको छ ।
नेपालमा प्याज निर्यात गर्ने देशहरूमा भारत अग्रपंक्तिमा छ, जसमा ९७ प्रतिशत हिस्सामा भारतमा उत्पादित प्याजको छ । गत आवमा करिब चार अर्ब ८४ करोड ३० लाख १३ हजार रुपैयाँबराबरको प्याज नेपालले भारतबाट खरिद गरेको छ ।
नेपालमा भारत, चीन, टर्की, इजिप्ट र इन्डोनेसियाबाट प्याज आयात हुन्छ । त्यसमध्ये सबैभन्दा कम आयात इन्डोनेसियाको उत्पादन छ । इन्डोनेसियबाट गत आवमा करिब ८० लाख रुपैयाँबराबरको प्याज भित्रिएको छ ।
प्याज नेपाल पठाउने दोस्रो मुलुक चीन हो । गत आवमा आठ करोड ७६ लाख ८८ हजार रुपैयाँको करिब एक हजार ३५ मेट्रिक टन प्याज चीनबाट भित्रिएको तथ्यांकबाट देखिन्छ । यस्तै, इजिप्टबाट करिब तीन सय ६६ मेट्रिक टन प्याज आयात भयो । त्यसका लागि दुई करोड दुुई लाख ६९ हजार रुपैयाँ बाहिरियो ।
आव ०७६–७७ चार अर्ब २२ करोड ४६ लाख ५८ हजार रुपैयाँको प्याज आयात भएको थियो । यस्तै, आव ०७५–७६ मा पाँच अर्ब ६२ करोड २५ लाख ३३ हजार रुपैयाँबराबरको प्याज भित्रिएको थियो ।
आव ०७६–७७ को तुलनामा गत आवमा करिब ७३ करोड ४२ लाख २९ हजार रुपैयाँ बढीको प्याज नेपाल भित्रिएको थियो । यद्यपि आव २०७५–७६ को तुलनामा आव ०७७–७८ मा कम प्याज आयात भएको छ ।
आव ०७५–७६ मा करिब पाँच अर्ब ६२ करोड २५ लाख ३३ हजार रुपैयाँको प्याज आयात भएको थियो । उक्त आवमा एक लाख ७८ हजार चार सय ६८ मेट्रिक टन प्याज आयात भएको छ ।
नेपालको करिब दुुई तिहाइ कारोबार भारतसँगै हुने गरेको छ । उत्तरी नाकाबाट व्यापार असहजताका कारण पनि प्याजसहित अन्य वस्तुुमा भारतसँग निर्भरता कायम छ । हतारमा खोलिएको रसुवागढी नाकाबाट उल्लेख्य परिमाणमा व्यापार हुन सकेको छैन । तातोपानी नाकाबाट पनि १२ वैशाख ०७२ को भूकम्पपछि भौगोलिक असहजताका कारण व्यापार आंशिक मात्र सञ्चालनमा छ ।
चाडपर्व सुरु भएसँगै प्याजको मूल्य बढ्दै
हरेक वर्ष भदौ अन्तिम तथा असोजको सुरुसँगै प्याजको भाउ महँगिन थाल्छ । अन्य समयमा प्रतिकिलो ४० देखि ५० रुपैयाँमा पाउने प्याजको भाउ चाडपर्वको सुरुवातसँगै दुई सय ५० सम्म पुुग्ने गरेको कालीमाटी तरकारी र फलफूूल बजारको तथ्यांक छ ।
भदौ, असोजमा भारतमा पनि प्याजको उत्पादन बन्द हुने गरेको जानकारहरूको भनाइ छ । सोही कारण स्टकमा रहेको प्याज भारतले स्वदेशी खपतमा जोड दिन्छ । र, नेपालमा निर्यात हुन पाउँदैन । चाडपर्वको मुख्य समयमा प्याजको सर्वसुुलभता नहुँदा तथा उत्तरी नाकाबाट थोरै परिमाणमा मात्र प्याज आयात हुँदा उपभोक्ता मर्कामा पर्दै आएका छन् ।