Kathmandu Press

अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियो थोपा

अफगानिस्तानबाट स्वदेश फर्केका नेपालीहरूको हकमा अलग्गै नियम लागू भएको छ। उनीहरूलाई कोरोना होइन, पोलियो थोपा दिन थालिएको छ।
अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियो थोपा

काठमाडौं, भदौ ८ : सरकारले कोरोना महामारीबीच विभिन्न देशबाट आवतजावतमा रोक लगाएको छ। आउजाउ खोलिएका देशबाट नागरिकलाई दुई साता आइसोलेसनमा राखेर घर पठाउने क्रम जारी छ। देशमा कोरोनाविरुद्धको खोप अभियान जारी छ।

अफगानिस्तानबाट स्वदेश फर्केका नेपालीहरूको हकमा अलग्गै नियम लागू भएको छ। उनीहरूलाई कोरोना होइन, पोलियो थोपा दिन थालिएको छ। त्यसको कारण हो, अधिकांश मुलुकबाट पोलियो उन्मुलन भइसकेको छ।

तर, अफगानिस्तान, पाकिस्तान र नाइजेरियामा पोलियो उन्मुलन हुन सकेको छैन। सोही कारण सरकारले अफगानिस्तानबाट स्वदेश फर्केका नागरिकलाई पोलियो थोपा खुवाउने नीति बनाएको हो।

Hardik ivf

अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुल कब्जा गरेयता त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने क्रम जारी छ। आइतबारसम्ममा कुल पाँच सय चारजनाको उद्धार भइसकेको छ। यस्तै, सोमबार करिब एक सय ५० जनालाई नेपाल फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले अफगानिस्तानलाई पोलियो जोखियुक्त देशको सूचीमा राखेको छ। सोही कारण त्यहाँबाट उद्धार गरिएका नेपाली नागरिकलाई पोलियो विरुद्धको खोप दिने निर्णय भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए।

‘अफगानिस्तानबाट आज नेपाल आउने टोलीलाई पोलियो थोपा खुवाउने छौँ,’ उनले भने, ‘करिब एक सय ५० जना आउँदैछन्। अफगानिस्तान पोलियोका लागि जोखिमयुक्त क्षेत्र हो। सोही कारण उनीहरूलाई लक्षित बनाएर पोलियो थोपा वितरण गरिरहेका हौँ।’

उनका अनुसार सरकारसँग पोलियो थोपा पर्याप्त मात्रामा छ। सबै उमेर समूहमा यो उत्तिकै प्रभावकारी हुने डा. गौतमले बताए। पोलियो थोपा दिइसकेपछि केही समयमा कोरोनाविरुद्धको खोप पनि दिने तयारी रहेको र पोलियो थोपा लिन छुटेकाहरूका लागि छुट्टै व्यवस्था रहेको उनले जानकारी दिए।

‘यसअघि नेपाल आएको टोलीलाई जिल्ला वा उनीहरू बसेको ठाउँको स्वास्थ्य चौकीमा गएर लिन आग्रह गरिएको छ। स्वास्थ्यकर्मीहरूलाई त्यसबारे जानकारी दिएका छौँ। अफगानिस्तानबाट आएका सबैलाई पोलियो थोपा दिने सरकारको उद्देश्य हो,’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत अफगानिस्तानबाट फर्केका सबै नेपाली नागरिकलाई खोप लिन आह्वान गरेका छन्। उनले ट्विट गरेका छन्, ‘अफगानिस्तानबाट फर्कनुभएका (उद्धार गरी ल्याइएका) सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको छ। अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी यो निर्णय भएको हुँदा नजिकको खोप केन्द्रबाट पोलियो खोप लिनुहुन सूचित गरिएको छ।’

पाकिस्तान, नाइजेरिया र अफगानिस्तानलाई अझै पनि पोलियो जोखिमयुक्त मुलुक मानिन्छ। तालिबानले विगत तीन वर्षदेखि अफगानिस्तानमा घरदैलो पुगेर पोलियो थोपा वितरण गर्न अवरोध पु¥याउँदै आएको छ। त्यहाँका करिब ३० लाख बालबालिका अझै पोलियो थोपाको पहुँचबाट टाढा छन्। सोही कारण त्यहाँबाट फर्केका नेपालीलाई उक्त खोप दिन आवश्यक रहेको जानकारहरू बताउँछन्।

नेपाललाई सन् २०१० मै पोलियोरहित देश घोषणा गर्ने सरकारी योजना थियो। तर, सन् २००८ मा भारतबाट आएका करिब ६ जनामा पोलियो संक्रमण पुष्टि भएको थियो। सन् २०१० मै रौतहटमा अन्तिम पोलियो संक्रमित भेटिएका थिए। त्यसको ठीक चार वर्षपछि सन् २०१४ मा विश्व स्वास्थ्य संगठनले नेपाललाई पोलियोमुक्त देश घोषणा गरेको थियो।

प्रकाशित मिति: ०६:२८ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्