५० करोडको लगानीमा अमेरिकी ब्राण्डको आर सी कोला अब नेपालमा
काठमाडौं, भदौं ६ : अन्तर्राष्ट्रिय ब्राण्डका ६ प्रकारका कोल्ड ड्रिंक्स नेपाली बजारमा भित्राईएको छ ।
अमेरिकी कम्पनी आर सी कोलाका पेय पदार्थका ६ प्रकारका ब्राण्डलाई सुबास आचार्य र कभिन अर्याल नेतृत्वको दुर्गालक्ष्मी समूह मार्फत भेञ्चुरा बोटलर्स प्रा.लि. ले नेपाली बजारमा भित्राएको हो । उक्त ब्राण्डको आज राजधानीको अलोफ्ट होटलमा एक कार्यक्रमका बीच शुभारम्भ गरियो ।
कार्यक्रममा समूहका सञ्चालक सुबासस आचार्यले करिब ५० करोडको लगानीमा कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जिराको स्वादमा पेय पदार्थ र माउन्ट भिटा ब्रान्डमा पानीको उत्पादन थालिएको जानकारी दिए । उक्त ब्राण्डहरु २५० एमएल, ५०० एमएल, एक लिटर र सवा दुइ लिटर गरी चार थरीका बोतलमा बजारमा उपलब्ध हुनेछन् । विश्वका ६७ देशमा रुचाईएको संसारको एक पुरानो, मौलिक र श्रृजनशीलताको परिचायक कोलालाई नेपालमा भित्राउन पाउँदा आफूहरु निकै गौरवान्वित महसुश गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।
हाल कम्पनीमा करिब ५० जनाले प्रत्यक्ष रोजगारी पाईरहेको भएतापनि छिट्टै कम्पनीमा २ सय जनासम्मलाई रोजगारी दिईने भेञ्चुरा बोटलर्स प्रा.लि.का कार्यकारी मार्केटिङ निर्देशक घनेन्द्र न्यौपानेले जानकारी दिए । अघिल्लो बर्ष नै आर सी कोला भित्राउने तयारी गरिएको भएपनि विश्वभर फैलिएको कोरोना महामारीका कारण यस बर्ष मात्र शुरु गरिएको कम्पनीका सञ्चालक आचार्यको भनाइ छ ।
मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रक्रियामा नेपालीको पानीको समिश्रणबाट नेपालमा आरसी कोलाको तयार गर्ने गरिन्छ । यसको उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु समेत अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात गरिन्छ ।
सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन शुरु गरिएको आर सी कोलाले विगत ११६ बर्षदेखि संसारभरका उपभोक्ताहरुको मन जितेको छ ।