सुर्खेतमा कोठामा मृत फेला

सुर्खेत, कात्तिक ५ : सुर्खेतको वीरेन्द्रनगरमा भाडाको कोठामा बस्दै आएका एक युवक मृत फेला परेका छन्।
अछामको रामारोशन गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेन्द्र रोकाया वीरेन्द्रनगर नगरपालिका–८ स्थित रंगशाला नजिक नवीनकुमार केसीको घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार रोकाया आफू सुत्ने कोठाको भित्तामा रहेको किलामा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा भेटिएका थिए । घरधनीले बिहीबार बिहान करिब ८ः५० बजे घटनाबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई जानकारी गराएका थिए । घटनास्थलमा प्रहरी पुग्दा डोरी चुँडिएको र रोकाया भुइँमा मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ।
रोकाया करिब एक वर्षदेखि लोकसेवा आयोगको परीक्षाको तयारीका लागि उक्त घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमान्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् ।
घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।











