दर्शक हँसाउँदै भर्चुअल गाईजात्रा
कोभिड-१९ महामारीबीच पनि परम्परागत रुपमा मनाइँदै आएको गाईजात्रे कार्यक्रम लोप हुन नदिन र कोरोनाको कहरबीच दर्शकको हाँस्ने रहर पूरा गर्न भर्चुअल गाईजात्रा आयोजना गरिएको पछिल्लो समय निकै चर्चामा रहेका हास्य कलाकार एवं कार्यक्रम कोअर्डिनेटर सुबोध गौतमले बताए।काठमाडौं, भदौ ६ : अघिल्लो वर्षझैं यसपटक पनि कोरोनाका कारण प्रभावित गाईजात्रा पर्वका अवसरमा गरिने व्यंग्यात्मक कार्यक्रम गर्ने परम्परालाई जोगाउन केही हास्य कलाकारले भर्चुअल गाईजात्राको आयोजना गरेका छन्।
वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको युट्युब च्यानल र एपिवन टेलिभिजनको सहकार्यमा भर्चुअल गाईजात्रा आयोजना गरिएको हो। सप्ताहव्यापी उक्त भर्चुअल गाईजात्रा भदौ १ मा सुरु भएको थियो। गाईजात्राको दिन अर्थात् भदौ ७ गते सोमबारसम्म सो कार्यक्रम चल्नेछ।
कोभिड-१९ महामारीबीच पनि परम्परागत रुपमा मनाइँदै आएको गाईजात्रा लोप हुन नदिन र कोरोनाको कहरबीच दर्शकको हाँस्ने रहर पूरा गर्न उक्त कार्यक्रमको आयोजना गरिएको पछिल्लो समय निकै चर्चामा रहेका हास्य कलाकार सुबोध गौतमले बताए।
‘यसपालिको भर्चुअल गाईजात्रामा हामीले बेजोड अस्त्रहरू प्रहार गरेको भए पनि उच्छृंखलता तथा कडा व्यङ्ग्य पस्केका छैनौं,’ कलाकार गौतमले भने, ‘अझै पनि कोरोनाको कहर बाँकी छ, हँसाउने रमाउने रहर बाँकी छ भन्ने कुरालाई मनन गरेर हाँस्य व्यङ्ग्यलाई निरन्तरता दिनुका साथै संस्कृतिलाई पनि जोगाउनुपर्छ भन्ने हाम्रो खास मान्यता हो।’
कोभिड-१९ महामारीको नियन्त्रणका लागि सरकारले देशभर चरणबद्ध रुपमा लकडाउन तथा निषेधाज्ञा गर्दै आएको छ। यसले प्रायः व्यवसाय तथा क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ। कोरोना नियन्त्रणकै लागि स्थानीय तहले गाईजात्रालाई समेत औपचारिकतामा मात्र सीमित राख्न आग्रह गर्दै आएको छ।
गाईजात्रालाई हांस्य व्यङ्ग्यको जात्राका रूपमा पनि मनाइँदै आएकै कारण विगतमा स्टेज सोहरूको आयोजना गरी कलाकारहरूले यो जात्रामा राजनीतिक नेताहरूलाई व्यङ्ग्य प्रहार गर्ने गरेका थिए। तर भर्चुअल रूपमा गाईजात्रा कार्यक्रम आयोजना गर्दा स्टेज सोको तुलनामा दर्शकहरूसँग प्रत्यक्ष संलग्नता कम भएको गौतमले बताए।
‘दर्शक र कलाकारको सम्बन्ध भनेको नङ र मासुजस्तै हो। दर्शकसँग प्रत्यक्ष भेटेर काम गरिरहेका कलाकारलाई अनलाइनबाट काम गर्न केही असहज महसुस हुन्छ,’ उनी भन्छन्, ‘विगतमा हामीले प्रत्यक्ष हलमा दर्शकसँग जोडिएका हुन्थ्यौँ भने यसपालि रेकर्ड गरेर प्रदर्शन गरिरहेका छौं। यसले हामीबाट केही गल्ती भएमा सच्याउन सकिने समय भने पर्याप्त पाएका छौं।’
यस्तै भर्चुअल माध्यमबाटै गाईजात्रा आयोजना गर्दा पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया आइरहेको उनी बताउँछन्। साथै गाईजात्राको महत्व बुझेका नयाँ र पुराना पुस्ताले जुनसुकै माध्यमबाट पनि गाईजात्रा हाम्रो पर्व हो भन्ने महसुस गरेको उनको बुझाइ छ।
यस्तै लोक तथा दोहोरी गायक पशुपति शर्मा पनि विगतको तुलनामा यसपालिको गाईजात्रा खासै उत्सहजनक नभएको बताउँछन्। उनका अनुसार विगतमो दर्शकका बीचमा रहेर उनीहरूको हाउभाउ र एक्सप्रेसनहरू थाहा हुन्थ्यो भने अहिले दर्शकले प्रस्तुति रुचाएको छ वा छैन भनेर कमेन्ट हेर्नुपर्ने उनको अनुभाव छ।
‘पहिला दर्शकले हाम्रो प्रस्तुतिलाई रुचाएको छ वा छैन भनेर उनीहरूको एक्सप्रेसनले सजिलै थाहा हुन्थ्यो भने अहिले दर्शकको प्रतिक्रिया जान्न कमेन्ट हेर्नुपर्छ। धेरै दर्शकमध्ये कमले मात्र कमेन्ट गर्छन्,’ उनले भने, ‘समयअनुसार नै काम भइरहेको छ। तर, महामारीबीच भर्चुअल रुपमै भए पनि गाईजात्रा आयोजना गर्नु राम्रै प्रयास हो।’
यस्तै स्टेज र भर्चुअल कार्यक्रममा निकै फरक पाएको उनी बताउँछन्। उनका अनुसार पहिला स्टेज सो गर्दा सबैको प्रस्तुति प्रत्यक्ष तथा लाइभ हेरिन्थ्यो भने अहिले क्रोमा गर्ने, इडिट गर्ने, शब्दहरू काट्नेलगायत प्रविधिको प्रयोग गर्दा केही सहजता प्रदान गरे पनि गाईजात्राको वास्तविकतालाई भने केही खुम्च्याएको छ।
‘अहिले नयाँ प्रविधिका कारण गाईजात्राको वास्तविक भावलाई केही खुम्च्याएको भए पनि कोरोना नियन्त्रण भएपछि फेरि पहिलाजस्तै स्टेज सोमार्फत नै गाईजात्रा आयोजना हुने अवस्था आउँछ,’ उनले भने।
वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, स्ट्यान्ड अप कमेडीका सहभागीहरू, कवि, कलाकार लगायतको सहभागितामा आयोजित उक्त भर्चुअल गाईजात्राले दर्शकलाई केही हदसम्म गाईजात्राको अवसरमा गरिने मनोरञ्जनात्मक कार्यक्रमको कमी महसुस हुन नदिएको आयोजकको भनाइ छ।
उक्त भर्चुअल गाईजात्रा मनोज गजुरेलले निर्माण गरेका हुन्। यस्तै कार्यक्रम कोअर्डिनेटरका रुपमा सुबोध गौतम रहेका छन्। कार्यक्रमको उद्घोषकका रुपमा सुमन कार्की र नायिका नम्रता सापकोटा छन्।