Kathmandu Press

पार्टीहरूमा युवा नेताको छैन शक्तिशाली हस्तक्षेप

मुलुकका सबैखाले परिवर्तनमा युवाको भूमिका अहम् हुँदै आए पनि जब व्यवस्था परिवर्तन हुन्छ र मुलुक अनि पार्टीको नेतृत्व गर्नुपर्ने प्रश्न आउँछ, युवालाई पाखा लगाइन्छ र वृद्ध नेताहरूकै हालीमुहाली चल्छ। पुस्तान्तरणको बहसमा युवा नेताले शक्तिशाली हस्तक्षेप गर्न सकेका छैनन्।
पार्टीहरूमा युवा नेताको छैन शक्तिशाली हस्तक्षेप

काठमाडौं, भदौ ५ : नेपाली राजनीतिको शीर्ष तहमा युवा कम, पाका नेताहरूकै बाहुल्य छ। हरेक पार्टीमा युवालाई अगाडि बढाउने विषय बहसमा सीमित छ, व्यवहारमा उतार्ने कुरा पाका र अनुभवी नेताहरू द्विविधामा देखिन्छन्।

राजनीतिमा युवा नेतृत्वको आवश्यकता अपरिहार्य रहन्छ। त्यसैले हो, युवा नेतृत्वमा पुग्नुपर्ने बहस हुने गरेको पनि। तथापि, युवा उमेरका नेताले मूलधारको राजनीतिमा हस्तक्षेपकारी भूमिका वहन गर्न सकेका छैनन्। बहुदलीय व्यवस्था पुनःस्थापनादेखि गणतन्त्रसम्मको यात्रामा युवाको भूमिका अहम् रहँदै आएको छ।

त्यसका बावजुद व्यवस्थालाई स्थायित्व दिने संरचनामा भौगोलिक, जातीय, लैंगिक, भाषागत हिसाबबाट समावेशी युवा नेतृत्व आउन अझै कति पुस्ता पर्खिनुपर्ने हो ? युवालाई शीर्ष नेतृत्वमा पुग्न कुन विधि वा प्रणालीले रोकेको छ ? यी विषयमा बहस केन्द्रित छैनन्।

Hardik ivf

खासगरी, मूलधार मानिएका दलहरूमा युवाको सहभागिता सडकमा हुुलदंगा मच्चाउने, आन्दोलन र अभियानमा लामबद्ध हुनेबाहेक हस्तक्षेपकारी देखिन सकेको छैन। सक्रिय राजनीतिमा रहेको तेस्रो पुस्ता मुलधारका कुनै पनि दलमा पदाधिकारीको तहमा पुग्न सकेको छैन। तत्काल पुग्ने सम्भावना पनि कमजोर देखिन्छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्बो ‘मौसम’ भने युवा वा वृद्ध भन्ने उमेरले मापन नगर्ने बताउँछन्। त्यसको मापक वैचारिक दृष्टिकोण रहेको उनको बुझाइ छ। हुन त, उनले प्रदेश–१ को अर्थमन्त्रीको भूमिका पनि वहन गरिसकेका छन्। नेतृत्व तहमा पुग्ने विषय उमेरले भन्दा पनि वैचारिक दृष्टिकोणले निर्धारण गर्ने उनको विश्लेषण छ।

‘यहाँ कति युवा छन्, जो उमेरले त युवा छन् तर वैचारिक धारणामा स्पष्ट छैनन्, समाजप्रतिको बुझाइ कमजोर छ,’ उनी भन्छन्। विचारको दृष्टीले नेपाली राजनीतिमा अहिलेको पहिलो पुस्ता र युवा नेताबीच आधारभूूत तहमै भिन्नता नरहेको उनको भनाइ छ। ‘नयाँ पुस्ताले नयाँ युुगको र नयाँ समयको प्रतिनिधित्व गर्नुपर्ने हो। तर, त्यस्तो प्रतिनिधित्व गर्ने युवा निर्णायक तहमा नेतृत्वदायी भूमिकामा खासै देखिँदैनन्,’ उनी भन्छन्, ‘म आफू स्वयं एक युवा नेता हुँ, देशमा भएका हरेक परिवर्तनमा पुराना र नयाँ पुस्ता दुवैको महत्त्वपूर्ण योगदान छ।’

संघीय लोकतान्त्रिक गणतन्त्रदेखि देशका विभिन्न राजनीतिक परिवर्तनका लागि पुराना पुस्ताका नेताहरूको निर्णायक र नेतृत्वदायी भूमिका रहे पनि व्यवस्थापनमा अपेक्षित नेतृत्वदायी भूूमिका नदेखिएको उनी बताउँछन्। भन्छन्, ‘खासगरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिने र त्यसको व्यवस्थापन गरेर देशलाई समृद्धिको बाटोतर्फ लैजानका लागि पुरानो पुस्ता सन्तोषजनक सफल भएको देखिँदैन।’

युवा पुस्ताले अवसर पाएन भन्नुभन्दा पनि अगाडि सरेर क्षमतावान नेतृत्वदायी भूमिका देखाई आफूलाई अब्बल साबित गर्नुपर्ने मौसम बताउँछन्। पुरानो पुस्तासहित लडेर ल्याएको व्यवस्थालाई स्थायित्वका लागि युवाले अग्रता देखाउनुपर्नेमा उनी जोड दिन्छन्।

उनको विश्लेषणमा अहिलेको नेतृत्व आन्दोलनका दुुईवटा पृष्ठभूमिबाट आएको हो– निरन्तर सशस्त्र संघर्षबाट आफूलाई स्थापित गरेको र निरंकुशताविरुद्ध शान्तिपूर्ण जनआन्दोलनबाट आएको नेतृत्व। दुवै खेमाको नेतृत्वको मुलतः निरकुुंशताको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थपाना नै प्रमुख उद्देश्य रहेको उनी बताउँछन्। पुुरानो र नयाँ पुुस्ता मिलेर मूूल रूपमा राजनीतिक क्रान्तिको अध्याय पूरा भए पनि उपलब्धीको रक्षा गर्ने र उचित व्यवस्थापन गर्न आवश्यक रहेको उनको ठम्याइ छ।

एउटा दूरीमा बसेर र पुुरानो पुुस्तालाई गाली गरेर मात्र कुनै उपलब्धी हासिल नहुुने कुरामा उनी स्पष्ट छन्। ‘हिजोका दिनमा अलिक पढे लेखेका, आर्थिक स्थिति राम्रो भएका मान्छे आन्दोलनमा नआउने, अलिकति सीमान्तकृत वर्ग र समुदाय मात्र आन्दोलनमा आउने ट्रेन्ड थियो, जुन अहिले परिवर्तन भएको छ,’ उनी भन्छन्, ‘जुनसुकै राजनीतिक पार्टीमा आबद्ध भए पनि उक्त पार्टी वैचारिक, व्यवस्थित प्रणालीअनुरूप चलोस्, त्यस निम्ति युुवा पुुस्ताको विशेष चासो हुनुुपर्छ। र, राजनीतिमा आउन सके मात्र हामीले चाहेअनुरूपको राजनीतिक एजेन्डा उपलब्ध हुन सक्छ।’

माओवादी केन्द्रका युवा नेता युुवराज चौलागाईं राजनीति सुुरु गर्दा ‘पावर पोलिटिक्स’, ‘पावर प्ले’ हुुन्छजस्तो नलागे पनि पछिल्लो राजनीतिक अवस्था यसैमा टिकेको बताउँछन्। उनी बीएस्सी पढ्दा पढ्दै जनयुुद्धमा होमिए। शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टीमा सक्रिय बने। पुराना राजनीतिक दल र व्यवस्थाले सही तरिकाले नेतृत्व गर्न नसकेको उल्लेख गर्दै उनी भन्छन्, ‘कोरोना भाइरसका नयाँ–नयाँ भेरियन्ट देखिएजस्तै राजनीतिमा पनि नयाँ भेरियन्टहरू बेलाबेलामा देखापरिरहन्छन्।’

अहिलेको अराजनीतिक चलखेल र गतिविधि देख्दा राजनीतिमा आउन चाहने नयाँ पुुस्तालाई धेरै चुनौती रहेको उनको बुुझाइ छ। संसदभित्र, सरकार चलाइरहेका पात्र र दलभित्रको असमझदारी,  विवाद  र उद्देश्यको विमेल देख्दा व्यवस्था प्राप्तिका लागि गरिएको संघर्ष कम भएको र थप संघर्ष आवश्यक देखिएको उनी बताउँछन्। सबै दलका नेतृत्वले आफ्नो प्रणालीलाई अपडेट गर्न नसकेको उनको बुझाइ छ। ‘देश र जनतालाई के आवश्यक छ ? व्यवस्थित र प्रणालीगत ढंगले कसरी अगाडि बढ्न सकिन्छ ? यी प्रश्नको जवाफ नेतृत्वले आफ्नो प्रणालीलाई अपडेट गर्न नसकेको पक्षले दिन्छ,’ उनी भन्छन्।

त्यसका लागि पुरानो पुस्ताले गरेको योगदानको पूर्ण सम्मान गर्दै नयाँ पुस्तालाई राजनीतिक तहमा समावेश गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनी बताउँछन्। ‘अव्यवस्थित र अव्यावहारिक व्यवस्थाविरुद्ध बहस, आलोचना र प्रतिक्रिया आउनुु आवश्यक छ। अहिलेसम्मको व्यवस्था हामीले नै निर्माण गरेका हौँ, जुन पूर्ण छैन,’ उनी भन्छन्, ‘पूर्ण यस मानेमा छैन कि यो व्यवस्थामा सामाजिक सुरक्षा, देशका सीमान्तकृत र पछाडि पारिएको समुदायका पक्षमा, आधारभूत मानवअधिकारको सवालमा लागू हुुने कुुरा प्रष्टसँग विमर्श गर्दैनौँ, समतामूूलक पहँुचको अनिवार्यता नभएसम्म व्यवस्था पूर्ण हुुन सक्दैन।’

व्यवस्था पूर्ण नहुनुकै कारणले फेरि एकात्मक सत्ता र राजतन्त्र पुनःस्थापनाको नारा लाग्न थालेको हुन सक्ने उनको आकलन छ। तथापि, व्यवस्थाभित्र सुधारात्मक आलोचना जायज रहेको उनी बताउँछन्। र, व्यवस्थामा सुधारका लागि उठेका आवाजलाई सम्बोधन हुनुपर्नेमा जोड दिन्छन्।

राजनीतिप्रति समग्र नयाँ पुस्तामा वितृष्णा छ भन्ने बुझाइ गलत रहेको उनको भनाइ छ। र, केही दशकयताको परिवर्तन नियाल्दा राजनीतिमा धेरै सकारात्मक परिवर्तन देख्न सकिने चौलागाईं बताउँछन्।

पछिल्लो समय राजनीतिप्रतिको चेत र चिन्तन तुलनात्मक रूपमा गुणस्तरीय हिसाबका विकास भएको उनको बुुझाइ छ। राजनीतिमा असफल भएका स्वार्थलाई प्रमुखता दिनेहरू तथा निजी भँडास र कुुण्ठा पोख्दै राजनीतिलाई फोहोरी खेल बनाएर युवा जमातलाई परिचालन गर्नेहरूबाट सावधान रहनुुपर्ने उनी सुझाउँछन्। राजनीतिमा असफल, राज्यबाट विशेष अवैध सुविधा र अवसर नपाएका केही व्यक्तिले युवामाझ राजनीतिलाई अतिरञ्जित गराउने गरेको उनी बताउँछन्।

‘युवाले राजनीतिप्रति वितृष्णा देखाउँदै छोड्ने कुरा सही होइन र सबै मान्छे राजनीतिमा आउने पनि होइन,’ उनी भन्छन्, ‘तसर्थ राजनीतिमा सुधार चाहने हो भने गुणात्मक युवा राजनीतिमा आउनुपर्छ। राजनीतिबाट टाढा जानु भनेको गलत मान्छेबाट शासित हुनका लागि अभिसप्त हुनु हो।’

राम्रो सम्भावना भएका, वैचारिक रूपमा परिपक्क र गुणात्मक युवा जमात राजनीतिमा आउनुपर्ने उनको सुझाव छ। नेपाली राजनीतिमा युवाको धेरै आवश्यकता देख्छन् उनी।

युवाको क्षमता अभिवृद्धिमा जोड दिने कुरा गरिरहँदा राज्यले युवालाई प्राथमिकता दिन्छ भन्नु पनि हो। कुनै पनि नेता सफल तब मात्र हुन्छ, जब उसका पछि लाग्ने युवा जमातबाट पनि नेतृत्व गर्ने ल्याकत राख्ने युवा जोश रहन्छ। यो भनाइलाई आधार मान्ने हो भने हामीकहाँ नेतृत्वमा रहेका कति नेता सफल छन् या असफल अनुमान लगाउन सकिन्छ।

तथापि, युवा नेताहरूले पनि आफूलाई पाका नेताले नेतृत्वमा पुग्न मात्र प्रयोग गरिरहेको बुझ्न सकेको पाइँदैन। झुटको कथा सुनाउन भीड जम्मा गर्ने, आफ्ना पछाडि कति युवा छन् भन्ने देखाउन मात्र सडकमा यो वर्गलाई उतार्ने गरेका छन्। तीमध्ये कोही कालान्तरमा नेता बन्छन्, कोही बीच बाटोमै हराउँछन्। अर्थात्, राजनीतिबाट टाढिन्छन्।

यही तथ्य बुझ्न नसक्दा युवा नेताहरू आ–आफ्नो पार्टीको उपल्लो तहमा पुग्न नसकिरहेका हुन्। उनीहरू आफ्ना ‘आइडल’ नेतासँग प्रश्न गर्ने क्षमता राख्न नसके नयाँ सिंगो पुस्ता नै वैचारिक शून्यता आउने जोखिम देखिन्छ।

कांग्रेस महासमिति सदस्य अम्बिका चलाउनेको बुझाइमा राजनीतिमा नेतृत्वको उमेरको महत्त्वपूर्ण भूमिका रहन्छ। राजनीतिक दल र व्यवस्थामा युवा नेतृत्व हुन सके समयअनुकुुल परिवर्तन ल्याउनमा युवाको महत्त्वपूर्ण भूमिका रहने उनी बताउँछिन्। ‘हाम्रो पार्टीका जननायक बीपी कोइराला ३० वर्षको उमेरमा प्रधानमन्त्री हुनुुभयो, उहाँको कार्यकालमा भएका कामहरू व्यवस्था, परिवर्तन, क्रान्ति र विचारको सन्दर्भमा महत्त्वपूर्ण काम भए,’ उनी भन्छिन्।

आफ्नो कार्यकाल पूरा गरेर अवकाश लिई सामान्य जीवनमा फर्किने अभ्यास नेपाली राजनीतिमा नरहेको उनी औँल्याउँछिन्। भन्छिन्, ‘नेपालको राजनीतिमा कांग्रेस होस् या कम्युनिस्ट, आर्यघाटसम्मै पद लिएर जाने परिपाटी आजसम्म छ, त्यही परिपाटी पुस्तान्तरण हुँदैछ।’

नेपालको राजनीतिमा ७० वर्ष पार गरिसकेको उमेर समूूहले विश्राम लिनुुपर्ने उनको भनाइ छ। परिपक्व नेताहरूले सल्लाकारको भूमिकामा बसेर फ्रन्टलाइनको नेतृत्व गर्ने जिम्मा युवालाई दिनुपर्ने उनको सुझाव छ। त्यसो हुन सके राजनीतिप्रतिको वितृष्णा कम हुने र आम नागरिकले ‘डेलिभरी’ पाउने उनी बताउँछिन्।

युवालाई राजनीतिक दलदेखि राष्ट्रको मूलधारको नेतृत्व सुम्पिन सक्दा मात्र अपेक्षाकृत परिवर्तन आउने अनि त्यसैबाट विकास र समृद्धि हासिल हुने उनी बताउँछिन्। ‘देशका सबै राजनीतिक दलले आ–आफ्ना युवालाई काम दिन सके मात्र हामीले चाहेको समाज, विकास र समृद्धि प्राप्त गर्न सकिन्छ,’ उनी भन्छिन्।

राजनीतिक संस्कारमै युवाको पनि कमजोरी देख्छिन्, चलाउने। र, भन्छिन्, ‘राज्यको मूलधारको राजनीतिमा कसैलाई जबर्जस्ती नेतृत्वमा स्थापित गर्ने प्रत्यत्न गर्नुभन्दा पहिले राजनीतिक संस्कार सिक्न र सिकाउन आवश्यक छ। अधिकांश युवा गुट–उपगुटको राजनीतिको शिकार भएका छौँ। दाइ–दिदीहरूको पछाडि लाग्ने र दाइ–दिदीले दया गरेर दिनुभएको पदमा बस्ने परिपाटीले पनि युवा नेतृत्व धुुमिल हुँदै गएको छ।’

चौबीसै घण्टा अग्रजको स्तुति गाउने र त्यसवापत पाएको क्षणिक लाभमा रमाउने चलनको अन्त्य नभएसम्म युवाको नेतृत्व गफैमा सीमित हुने उनको विश्लेषण छ। युवामा नेतृत्व क्षमता र राजनीतिक संस्कारको विकास गर्न सकियो भने भविष्यमा युवा नेतृत्वको संकटबाट नेपाली राजनीति मुक्त हुने उनी बताउँछिन्। युवा नेतृत्वको राजनीतिक भविष्यका लागि गुट–उपगुटको संस्कारबाट बाहिर निस्किनुपर्ने र समग्र राजनीतिक संस्कारमा परिवर्तन आउनुपर्ने उनको बुुझाइ छ।

नेपाल एकात्मक राज्य प्रणालीबाट विकेन्द्रीकरणतर्फ गएर तीन तहका सरकारको अभ्यास भइरहँदा युवाले नेतृत्व गर्ने अवसर प्राप्त गर्ने माहोल तयार हुँदै गएको देख्छिन् उनी। भन्छिन्, ‘स्थानीय तह, प्रदेश र संघीय सरकारमा युवाले नेतृत्व लिएको ठाउँमा केही न केही सकारात्मक परिवर्तन भएको देखिन्छ। उनीहरूले समृद्धिको एजेन्डालाई रूपान्तरण गर्दै सुुधार र आशा जगाएको देखिएको छ।’ त्यसैले युवा नेताहरूले देश विकासका लागि ठोस एजेन्डासहित नेतृत्वमा आउने कुरामा प्रतिबद्ध हुनुु आवश्यक रहेको उनी बताउँछिन्।

पछिल्ला दिनमा समावेशिताको सिद्धान्त कार्यान्वयनमा छ। र, युवा पुस्ताको सोच पनि सोहीअनुरूप परिवर्तन भएको छ। राज्यका सबै नागरिकलाई समतामूलक हक–अधिकार दिनु अपरिहार्य ठान्छ, नयाँ पुस्ताले। सोहीअनुरूप राजनीतिक दलको कार्यविधिमा ध्यान दिने र ठोस एजेन्डा चाहने युवा पुस्ताको आलोचनात्मक चेतको धरातल पनि फैलिँदो छ।

जसपाका युवा नेता रेखी गुरुङ समावेशी प्रतिनिधित्व महत्त्वपूर्ण ठान्छन्। उनका अनुुसार नेपालको राजनीतिमा ००७ सालदेखि नयाँ संविधान निर्माणको समयसम्म अग्रगामी आन्दोलन भए। तथापि, क्रान्ति सम्पन्न भएपछि एउटा विन्दुमा पुुगेपछि यथास्थितिवाद नै मौलायो। राजनीतिक कोर्सलाई अगाडि लैजानका निम्ति नयाँ खालको अभियान आवश्यक रहेको ठान्छन् उनी। जसले समग्र जाति समुुदायले राष्ट्रियता अपनत्व गर्न सक्ने राजनीतिक कोर्स अगाडि बढाउन सकोस्। पुख्र्यौली सभ्यतासँग जोडिएका ज्ञान प्रणाली र जीवन दर्शनलाई प्रथामा मात्र सीमित राख्न नहुने उनको बुझाइ छ। ‘माझी समुदाय, किराँती, आर्यन, खस, थारू, मधेशीलगायत नेपालमा बसोवास गर्ने एक सय २६ जातजातिको जीवन, ज्ञान प्रणाली नेपाली राजनीतिमा आउन सकेको छैन,’ उनी भन्छन्। त्यो समावेशिताका लागि युवा नेतृत्व आवश्यक रहेको उनी बताउँछन्। हालको संसदीय व्यवस्थालाई उनी खिचडी तरिकाले संज्ञा दिन्छन्। यसको विकल्पमा प्रत्यक्ष लोकतन्त्रको अनुुभूति हुुने गरी युवा नेतृत्वको व्यवस्था गर्न आवश्यक देख्छन्।

‘अहिले भएका युवा नेता राजनीतिक दलभित्र पालो कुुर्दाकुुर्दै पुरानो पुस्तामा रूपान्तरण हुने प्रणाली परिवर्तन गर्नुपर्छ,’ उनी भन्छन्। राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने प्रणालीजस्तै प्रगतिशील प्रणाली आवश्यक रहेको उनको बुुझाइ छ। पछिल्लो समय पुरानो पुस्ताको व्यवहार र पार्टीप्रतिको विवादले वितृष्णा जगाएको उनी बताउँछन्। जँुुगा मिल्नेबित्तिकै एक हुुने र स्वार्थ बाझिनासाथ फुुट्ने प्रवृत्तिको राजनीतिभन्दा वैचारिक स्पष्टता आवश्यक देख्छन्।

नयाँ पुस्तामा आफ्नो नेतृत्वलाई प्रश्न नगर्ने परिपाटी फस्टाएकामा खुशी छैनन्, गुरुङ। युवाले व्यक्तिगत स्वार्थ त्यागेर सक्षम र परिपक्व नेतृत्व विकास गर्नु आवश्यक देख्छन्। युवाले नाफा र घाटाको राजनीति त्यागेर राष्ट्र र जनताप्रतिको जिम्मेवारी बहन गर्न सक्षम हुन जरुरी रहेको उनको भनाइ छ। कुनै शक्तिशाली नेताको पछाडि लाग्दा मात्र राजनीतिमा स्थापित हुन सकिन्छ भन्ने सोच त्याग्न सुझाव दिन्छन्।

राजनीतिक एजेन्डा र सुधारको पक्षमा भन्दा पनि अपराधीकरणलाई वैधता दिने प्रचलन पुस्तान्तरण भइरहेकामा असन्तुष्टि व्यक्त गर्छन्। युवा पुस्ताले आफूले मानेको नेताले दिएका अभिव्यक्ति, एजेन्डा र राजनीतिको मुल मर्मलाई विश्लेषण गर्नेभन्दा पनि ‘जी हजुरी’मा रमाउँदा मूलधारमा स्थापित हुन नसकेको उनको बुझाइ छ। उनी भन्छन्, ‘राजनीतिक विचारमा अब्बल हुनुुभन्दा पनि भनसुनमा युवा नेतृत्व सीमित रहनुु भनेको भविष्यमा देशले पाउने, नयाँ पुस्ताले पाउने राजनीतिक नेतृत्वमा कुनै परिवर्तन नआउनु र मुलुक संकटको बाटोमा धकेलिनुु हो।’

जसपाकै नेता मञ्जु तामाङ युवा नेतृत्वको अभाव नभएर अवसरको अभाव भएको बताउँछिन्। अघिल्लो पुस्ताले युवालाई राजनीतिको गलत संस्कार सिकाएको उनी बताउँछिन्। राजनीतिमा भविष्य बनाउने युवा मूलधारको नेतृत्वसम्म पुुग्न त्यही संस्कारबाट अगाडि बढ्नु नकारात्मक पाटो देख्छिन् उनी। राजनीतिक विचारमा स्पष्टता, सक्षमता, नेतृत्वको खुुबीभन्दा पनि नातावाद र कृपावादको राजनीतिक संस्कार अवरोधका रूपमा खडा भएको उनी बताउँछिन्। राजनीतिलाई फोहोरी बनाउन अभिप्ररित गरिरहने नेतृत्व र त्यसैलाई पुस्तान्तरण गर्ने परिपाटीविरुद्ध बहस र बहिष्कारको आवश्यकतामा जोड दिन्छिन्। ‘सही समयमा सही तरिकाले युवा शक्तिको सदुपयोग गर्न नसक्नु भनेको राज्यले युवा शक्तिको उपेक्षा गर्नु हो,’ उनी भन्छिन्। अबका युवा नेताले आफूले झेल्नुुपरेको अवस्था सुुधार्न चाहने हो भने आफू आबद्ध भएको राजनीतिक दल र नेतृत्वलाई प्रश्न गर्नुपर्ने उनको सुझाव छ।

पछिल्लो समय राजनीतिमा सक्रिय हुन चाहे पनि राजनीतिक घटनाक्रम, उतारचढाव र युवाको आर्थिक स्थितिले प्रत्यक्ष असर पु¥याएको बुझ्न गाह्रो छैन। विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य समाइरा श्रेष्ठ त्यसैमा जोड दिन्छिन्। भन्छिन्, ‘युवालाई राजनीतिमा सक्रिय हुन आर्थिक उपार्जन मुख्य बाधक देखिएको छ।’

हरेक देशका नागरिकले आफ्नो मुलुकको स्थितिबारेमा अपडेट रहनु आवश्यक देख्छिन् उनी, जसलाई अधिकारसँगै नागरिकको दायित्वका रूपमा समेत अथ्र्याउँछिन्। नकारात्मक पाटो मात्र केलाउनेभन्दा पनि गलत काम हुन नदिन झकझक्याउनु युवाको दायित्व ठान्छिन्, श्रेष्ठ। ‘राज्य सञ्चालनको प्रमुख पदमा हामीले भोट दिएर चुनेर पुु¥याएका जनप्रतिनिधिले इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी वहन गरेका छन् कि छैनन् भनेर निगरानी गर्नु हरेक नागरिकको कर्तव्य हो,’ उनी भन्छिन्, ‘त्यसमा युवाको अहम् भूमिका रहन्छ। नयाँ जोश जाँगरसहितका युवा अगाडि नआइदिँदा, देशका लागि केही नगरिदिँदा सिंगो मुलुक नै पछाडि पर्छ।’

तथापि, अहिलेको युवा पुस्ताको सपना देशको विकासभन्दा विदेशमा सेटल भई उच्चस्तरको जीवनशैली बिताउने मात्र देखिएकाले अधिकांश क्षेत्रमा युवाको सशक्त हस्तक्षेप हुन नसकेको उनको बुुझाइ छ।

देशका लागि मैले के गरेँ अथवा मेरो दायित्व के रहन्छ भनेर सोच्नेभन्दा मलाई देशले के दियो भनेर प्रश्न गर्ने युवा जमात धेरै देखेकी छन्, उनले। भन्छिन्, ‘स्वदेशमै बसेर आफ्नो र नयाँ पुस्ताका लागि सिर्जनात्मक काम गर्ने सोच र योजनाको आवश्यकता छ।’

नेतृत्वमा युवा पुस्ता नदेखिनुको दोष उनी मुलधारका राजनीतिक दलहरूलाई दिन्छिन्। आफ्नो दलका युवालाई नेतृत्व विकासको अभ्यास गराउनुुपर्नेमा जोड दिँदै भन्छिन्, ‘नेतृत्व विकास, क्षमता अभिवृद्धी र नेतृत्वको सम्भावना देखिएका युवाको ब्रान्डिङ गर्नुपर्छ। तब मात्र युुवा नेतृत्व मूूलधारको राजनीतिमा पुग्न सक्छन्।’

तथापि, राजनीतिलाई नै दैनिकी बनाएर हिँड्ने र हिँड्न चाहने युवा लामो समय टिकिरहने विषय उनीहरूको आर्थिक अवस्थामा निर्भर रहने उनको बुझाइ छ। ‘पारिवारिक जिम्मेवारीका कारण युुवा स्वतन्त्र रूपमा राजनीतिमा टिकिरहने अवस्था छैन। कसैको पनि परिवारले राजनीति गर भनेर स्वतन्त्र छोड्दैन,’ उनी भन्छिन्, ‘पुरानो राजनीतिक सोच, संस्कार, प्रणाली र अस्थिरताका कारण पनि नेतृत्व गर्नुभन्दा भविष्य बनाउनेमा केन्द्रित रहन्छ।’ युवा ऊर्जालाई राजनीतिमा प्रयोग गर्नु भनेको बिनाअर्थको काम भन्ने सोचले पनि युवामा राजनीतिप्रति मोह जगाउन नसकिएको उनको बुुझाइ छ। ‘जुन समाजले तिमीलाई स्वीकार्न चाहँदैन, त्यही समाज सुधारका लागि किन सबैसँग दुश्मनी मोल्छौँ भनी मलाई भन्नुहुन्छ,’ उनले अनुभव सुनाइन्, ‘तसर्थ, पौराणिक सोचमा सीमित रहेको राजनीति समयअनुुसार रूपान्तरित नहुनुु पनि युवा सहभागिताको संकट देखापर्नु हो।’

यस्तै, विवेकशील साझा पार्टीका नेता राम शाह युवा नेतृत्व आवश्यक छ भन्ने हरेक राजनीतिक दलको नेतृत्व तहले बुुझ्नु आवश्यक रहेको बताउँछन्। भन्छन्, ‘नयाँ पुस्ताको कस्तो नेतृत्व खोजेको हो भन्नेमा स्पष्टता जरुरी छ। उमेरले युवा हुँदैमा नेतृत्वका लागि आवश्यक अनुुभव र क्षमता नहुुन सक्छ, जसका विकासका निम्ति स्वयं युुवा नै सक्रिय हुनुुपर्छ।’

कस्तो युवा नेतृत्व ? शाहको दृष्टिकोण छ– जसले निष्पक्ष रूपमा समाजका विकृति, विसंगति हटाउँदै व्यवस्थालाई मजबुत बनाओस्। नेपालको सन्दर्भमा एउटै पुस्ताले निरन्तर नेतृत्व गरिरहेको छ। नयाँ पुस्तालाई राजनीतिको तालाचाबी जिम्मा लगाउन सक्दा नयाँ विचार, कार्यशैली र प्रणाली मुलुकले पाउन सक्ने उनको बुझाइ छ।

‘हामीले बोकेको मोबाइलमा त दिनप्रतिदिन नयाँ अपडेट हुन्छ, पुुरानै भर्सन चलायौँ भने अहिलेको स्मार्ट जमानामा काम गर्दैन,’ उनी भन्छन्, ‘तसर्थ, नयाँ समय र नयाँ तरिकाको वैचारिक अपडेट र विकासका लागि नेतृत्व पनि अपडेट हुन आवश्यक छ।’ परिवर्तित समयको मागअनुसार अगाडि बढ्न पनि युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुुनु अत्यावश्यक देख्छन् उनी।

युवा नेतृत्वको सवालमा व्यक्ति र राजनीतिक दलअनुसार फरक–फरक मत पाइन्छ। शारीरिक र उमेरका हिसाबले युवा भन्ने कि वैचारिक र समयसँगै परिवर्तन चाहने चेतनास्तरले भन्ने बहस पनि समाजमा देखिन्छ। त्यसैले पुरानो पुस्ताको योग्यता, क्षमता र पार्टीप्रतिको त्याग र समर्पणप्रति सम्मान गर्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने राप्रपा नेता जनक फडेरा बताउँछन्। ‘खासमा, हामी युवा कसलाई भन्नेमै द्विविधामा छौँ, आफू स्वयं युवा हँुु भन्ने महसुस छैन,’ उनी भन्छन्, ‘उमेर समूहलाई युवा वा प्रौढ भन्ने कि राजनीतिक रूपान्तरणका लागि गतिशील व्यक्तिलाई युवा भन्ने ?’

राजनीतिमा मात्र नभई उत्पादन, आविष्कार र औद्योगिक क्षेत्रलगायतमा समेत सक्रिय नेतृत्व आवश्यक देख्छन् उनी। प्रश्न गर्छन्, ‘युवामा राजनीति फोहोरी खेल हो भन्ने मनोविज्ञान छ तर त्यो फोहोर सफा गर्ने क्षमता किन राख्न सक्दैनन् ?’ राजनीतिको मैदानभन्दा कोसौँ पर रहेर कसैले देश बिगा¥यो भन्ने भन्दा पनि स्वयं युवा नै राजनीतिमा लागेर राजनीतिप्रतिको गलत छाप मेटाउन सक्रिय भूमिका वहन गर्नुपर्ने उनी बताउँछन्। राजनीतिमै सक्रिय युवामा पनि समस्या देख्छन् उनी। अघिल्लो पुस्ताले राजनीति फोहोरी बनायो भन्ने भन्नेहरू स्वयंले राजनीतिक संस्कार देखाउन नसकेको औँल्याउँछन्।

‘वैदेशिक रोजगारका लागि खाडी मुलुकमा भासिएर आफ्नो उमेर ढल्काएका तमाम युवाका बाध्यता निर्मूूल नगरेसम्म र युवालाई स्वरोजगारको अवसर सिर्जना गरी राजनीतिमा आकर्षित हुने ठोस माध्यम नखोजेसम्म युवा नेतृत्व भनेर मात्र पुग्दैन,’ उनी भन्छन्। त्यसैले मूलधारका एकआध राजनीतिक पार्टीमा सीमित नरही समग्र युवा नेतृत्वको विषयमा देशव्यापी अभियान चलाउनुपर्ने उनको भनाइ छ। त्यसका लागि सबै किसिमका विचार बोकेका युुवालाई एउटै फोरममा राखेर बहस, छलफल गर्नुपर्ने उनी बताउँछन्। ‘युवा शारीरिक रूपमा सक्रिय भन्छौँ, तर बौद्धिक रूपमा गहिराइ नभएकाले अब युवाबारे गरिएको परिभाषा नै बदल्नुपर्छ।’

युवा नेतृत्वको आवश्यकता समय, परिस्थिति र मागमा निर्भर हुने राप्रपा नेता राजाराम बर्तौला बताउँछन्। ‘युवा नेतृत्वको विषय उठाइरहँदा कार्यान्वयन तहसम्म कार्यसम्पादनका लागि अगाडि बढ्ने कि सस्तो लोकप्रियताका लागि कुरा मात्र गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्छ,’ उनी भन्छन्, ‘युवाबारेको बहसले समयको माग परिपूर्ति गर्छ कि गर्दैन भन्ने महत्त्वपूर्ण पक्ष हो।’

अहिले निष्ठाको राजनीति भएको देखेका छैनन् उनले। विधि र पद्धत्तिको पनि राजनीति भइरहेको पाएका छैनन्। उनी भन्छन्, ‘हामीले अवसरको राजनीति गरिरहेका छौँ, सबैभन्दा जटिल समस्या भनेको हामीले आफूलाई केन्द्रमा राख्छौँ।’ राजनीतिमा विचार, प्रणाली र विधिलाई भन्दा अवसरलाई महत्त्व दिँदा बेलाबेलामा संकट देखापरिरहेको उनको बुझाइ छ। र, देशका पछिल्ला राजनीतिक धार र बहाव नै परिवर्तन गर्नुपर्ने आवश्यकता देख्छन्। भन्छन्, ‘मूलधारको राजनीतिमा व्यक्ति होइन, चरित्र परिवर्तन हुनुुपर्छ।’

संस्कार, संस्कृति र कार्यशैलीमा वैचारिक चिन्तनको विकास नभएसम्म नेपालको राजनीतिमा परिवर्तन नआउने बुझेका छन्, बर्तौलाले। ‘हिजोको नेतृत्व खराब भन्नेहरू जो आज नेतृत्वमा छन्, त्यही कार्यशैली अपनाएका छन्। तसर्थ व्यक्ति परिवर्तन भएर हुुँदैन, संस्कार र प्रवृत्ती परिवर्तन हुनुपर्छ,’ उनी भन्छन्।

परिवर्तनको अवस्थादेखि देशको समृद्धिको स्थायित्वको विषयमा किन नहोस्, युवाको भूमिका महत्त्वपूर्ण देख्छन्, नेकपा (एकीकृत समाजवादी)को युवा संघका अध्यक्ष नरेश शाही बताउँछन्। तर, राजनीतिक परिवर्तनका लागि युवाको भूमिकालाई महत्त्व दिइए पनि आन्दोलनपछि परिवर्तित व्यवस्थालाई संस्थागत गर्नका युवा नेतृत्वमा ध्यान नदिइने गरेको उनी तर्क गर्छन्। ‘युवालाई राज्यको मूूलधारको राजनीतिमा नेतृत्व नदिइनु मुलतः दुुई कारण छन्,’ उनी भन्छन्, ‘स्वाभाविक रूपमा पुरानो पुुस्ताले नयाँ पुस्तालाई मूलधारको राजनीतिमा नेतृत्व गर्न दिइरहेको छैन। नीति निर्माणको क्रममा होस् चाहे सामाजिक अधिकार, नयाँ पुस्तामा पुस्तान्तरण नै भएको छैन।’

सरासर हिसाब गरेमा ५०–५५ वर्ष कटेपछि मात्र पार्टीको स्थायी कमिटीमा पुुग्ने अवस्था रहेको उनी बताउँछन्। अघिल्लो पुस्ताले पार्टी विधानमै उमेरको हदबन्दी बनाएर जन्जिर खडा गरेको उनको भनाइ छ। युवा आफैँ पनि आन्दोलनपछिको परिवर्तन र व्यवस्थालाई नेतृत्व गर्न चुकिरहेको उनी बताउँछन्।

उनको भनाइमा अहिलेको संगठनात्मक संरचना निकै पुरानो हो, जसले नयाँ पुस्ताको चाहना र स्पिरिटको प्रतिनिधित्व गर्दैन। ‘अहिलेको पुस्ताले देखेको र चाहेको समाज तथा भोगेका समस्या पुरानो पुस्ताका नदेख्न सक्छन्, अथवा आवश्यक नठान्न सक्छ। तसर्थ पुस्ताबीचको अन्तरले समस्या ज्युँका त्युँ छन्,’ उनी भन्छन्, ‘युवा नेतृत्वको समस्या दुुई तरिकाले समाधान गर्न सकिन्छ। राजनीतिलाई ‘डर्टी गेम’ भनेर बुुझ्ने युवाका माझ वास्तविक राजनीतिको बारेमा बुुझाउन आवश्यक छ। जबसम्म तिम्रो समाजको, तिम्रो राज्य व्यवस्थाको राजनीति सुध्रिँदैन, त्यतिबेलासम्म तिम्रो जीवनशैली सुध्रिँदैन भनी बुुझाउन आवश्यक छ।’

नेतृत्वका लागि अवसरभन्दा पनि व्यक्ति स्वयं तयार हुनुपर्ने र युवाको नेतृत्व नै नपाएको भन्ने नरहेको एमालेकी नेता रचना खड्का बताउँछिन्। अहिले भएका राजनीतिक पार्टीहरू जुन समयमा संगठनात्मक तरिकाले पार्टीहरू निर्माण हुुँदै थियो, त्यो समयमा सबै नेता युवा नै रहेको उनको तर्क छ। पार्टी सञ्चालनमा नेतृत्वको विधि पुरानो ढाँचा र पुुरानै शैली भएकाले नयाँ पुुस्ता नेतृत्वमा नआएको उनको भनाइ छ।

युवालाई नेतृत्वमा ल्याउनका लागि नीतिगत सुधारको व्यवस्था हुनुपर्ने उनी बताउँछिन्। मूलधारको राजनीतिक नेतृत्वका लागि उमेरले मात्र योग्य नहुने युवा स्वयं हस्तक्षेपकारी भूूमिका रहनुुपर्ने उनको भनाइ छ। उनी भन्छिन्, ‘युवामा नेतृत्व क्षमता अभिवृद्धि गर्नुपर्ने र विश्वसनीयता पनि आर्जन गर्नुपर्छ।’

नेपाली समाजमा एक हिसाबले सामन्ती प्रवृत्ति अझै यथावत रहेकाले आफ्नो नेतृत्वको योग्यता बढाउनुपर्नेमा उनको जोड छ। युवा नेतृत्वका लागि उमेरले भन्दा पनि नेतृत्वदायी भूूमिकाले महत्त्व राख्ने बताउने उनी भन्छिन्, ‘मूलधारको राजनीतिका निम्ति युुवाको वैचारिक स्पष्टता हुुनुका साथसाथै मानसिक र आर्थिक रूपमा जोखिम मोल्न तयार हुनुपर्छ अनि मात्र नेतृत्व तहमा पुुग्न सक्छ।’

यी भनेका तात्कालिक समस्या देखिए पनि पुरानो समस्या भनेको नेतृत्व हस्तान्तरण गर्न नसक्नु रहेको उनी बताउँछिन्। एकजनाले मात्र वर्षौँसम्म पद लिएर बस्ने पारिपाटी विधि परिमार्जन नभएकाले भएको उनको तर्क छ। युवा नेतृत्वको पक्षमा नकारात्मक मात्र नभएर सकारात्मक पक्ष पनि रहेको उनी बताउँछिन्। ‘पछिल्लो समय धेरै नयाँ पुस्ताले नेतृत्व गरेका पनि छन्, समयक्रमसँगै युवा नेतृत्वमा वृद्धि पनि हुुनेछ,’ उनी भन्छिन्।

समतामुलक समाजको परिकल्पना वैज्ञानिक समाजवादमार्फत गर्न सकिने मत राख्ने कैयौँ युवा छन्। स्थानीय तह, प्रदेश र संघ सबैमा शासन सत्ताको बागडोर सम्हाल्ने नेतृत्वको उमेर ६० वर्ष कटेको अवस्था रहेको वैज्ञानिक समाजवादी पार्टीका नेता लक्षुराम विश्वकर्मा बताउँछन्। मूलधारका नेताको भाषण, मन्तव्यका क्रममा भने देश युवाकै हो भनी गफ लाए पनि नेतृत्व तहमा युवालाई अवसरबाट वञ्चित गरेको उनी बताउँछन्। मूलधारको भनिने अव्यवस्थित राजनीतिप्रति इमानका साथ लाग्ने युवा दिनानुुदिन संख्यात्मक रूपमा घटिरहेको उनको बुझाइ छ।

युवालाई राजनीतिमा आउने वातावरणभन्दा पनि राजनीति नै खराब हो भनी युुवा परिचालित भएको उनी बताउँछन्। कुनै व्यक्तिको निहित स्वार्थका लागि समेत युवालाई गलत प्रयोग गरिएको उनको बुुझाइ छ। भन्छन्, ‘एक युवामा परिवार, समाज र राज्यको समेत दायित्व रहन्छ, उसले पारिवारिक जिम्मेवारी सम्हाल्न खोज्दा, राजनीतिमा अनुपस्थित हुने भएकाले विशेष युवाकै लागि भनेर राजनीतिमा आउने माहोल तयार गर्नुपर्छ।’

केन्द्रीय तथ्यांक विभागको २०२० को प्रक्षेपित जनसंख्यामध्ये १५ देखि ४० वर्ष उमेर समूहका युवा कुल जनसंख्याको ४४ प्रतिशत छ। यो तथ्यांक हेर्दा र मूलधारको राजनीतिमा युवा पुस्ताको प्रतिनिधित्व देख्दा राजनीतिमा युवाको प्रतिनिधित्वको अवस्था दयनीय देखिन्छ।

दलहरूमा नेतृत्व हस्तान्तरणको संस्कार नै नभएको वैज्ञानिक समाजवादी पार्टीकी नेता राजेश्वरी सुवेदी बताउँछिन्। नेपालमा मूलधार भनिने राजनीतिक दलहरूको महाधिवेशनको क्रममा पनि उमेरले पाको अनि बुुढो मान्छेलाई अध्यक्ष बनाउने परिपाटी देख्दा नेतृत्व हस्तान्तरणको अभ्यास शून्य देखिने उनी बताउँछिन्। राजनीतिक दलमा रहेका युवा नेताले समेत पुरानै परम्परालाई बचाइराखेको र संस्कारको रूपमा रूपान्तरण गरेको उनको बुुझाइ छ। ‘अधिकांश राजनीतिक दलमा युवा नेता भए पनि जब नेतृत्व, पदको कुरा आउँछ, आफू अगाडि नसरेर पुुरानो पुस्तालाई नै जिम्मा दिने चलन अझै यथावत छ,’ उनी भन्छिन्, ‘नेतृत्वको विषयमा कुरा गर्दा उमेरले फरक पनि पार्छ, एउटा स्वस्थ ३५, ४० वर्ष उमेरको युवाले देखेको समाज र सोचेको समाधान एउटा ७० वा ७५ वर्ष उमेर कटिसकेको नेतृत्वले नदेख्न सक्छ वा पुरातन शैलीले सोच्न सक्ने भएकाले नेतृत्वमा युवाको भूूमिकाले असर गर्छ।’

उमेर समूहको हिसाबले युवा अवस्थामा शारीरिक सक्रियतासँगै ऊर्जाशील, गतिशील भए पनि उक्त ऊर्जा, गतिशीलता र सक्रियताको सदुपयोगको पक्ष मुख्य रहेको नेकपा माओवादी क्रान्तिकारी पार्टीका नेता राम नेपाली बताउँछन्। परिवर्तन, नवप्रवर्तन, सिर्जनशीलता र समाज रूपान्तरणको पक्षमा युवाको त्यो ऊर्जा, गतिशीलता र सक्रियताको सदुुपयोग हुनुुपर्ने उनी बताउँछन्। भन्छन्, ‘जब हामी परिवर्तन, नवप्रवर्तन, आविष्कार र सिर्जनाको कुरा गर्छौँ, त्यो नयाँ विचार, अग्रगामी सिद्धान्त र सिर्जनशील सोचले पथप्रदर्शित हुनुपर्छ।’

 

प्रकाशित मिति: ११:५६ बजे, आइतबार, भदौ ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्