टर्रो बोली र खस्रो भाषा– असभ्य अभिव्यक्ति किन दिन्छन् नेताहरू ?
अरू नेताभन्दा आफू अब्बल रहेको देखाउन वैचारिक रूपमा निखारिएको हुनुपर्ने हो। तर, जसले गाली बर्साउँछ र अरूमाथि व्यक्तिगत आक्षेप लगाउँछ, उही ठूलो नेता बन्ने परिपाटीको विकास भइरहेको छ।
काठमाडौं, भदौ २ :‘मैले दुइटा केटाकेटी देख्याथेँ, एउटाले राम्रो गुडिया बोकेर आयो, अर्को बच्चाले हे¥यो त्यो गुडियातिर अनि कति राम्रो रहेछ है तिम्रो खेलौना, एकछिन मलाई सुम्सुम्याउन देऊ न, हेर्न देऊ न भन्यो। उसले सोझो हिसाबले दियो, दुइटै मिलेर खेलेपछि एकछिनपछि उसैले लियो, एकछिनपछि यो त मेरै हो भन्यो, कस्तो प्रचण्डको डुब्लिकेट रैछ।’
– केपी ओली, अध्यक्ष, एमाले
‘एकचोटी माओत्सेतुङले बिग्रेका कम्युनिस्टहरू बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो। अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ। धेरै चिज प्राप्त हुन्छ। राम्रो कुरा हो। तर, अण्डा कुहियो भने त्योभन्दा गन्दा चिज अरू केही पनि हुँदैनन्। कम्युनिस्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्योभन्दा नराम्रो केही पनि हुँदैन। अहिले केपी ओली कुहिएको अण्डा हो। त्यो कुहिएको अण्डा त खाइँदैन् नि। त्यसलाई दफनाइन्छ, गाडिन्छ या जलाइन्छ।’
– पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, माओवादी केन्द्र
माथिका अभिव्यक्ति देशलाई नेतृत्व दिने दुई नेताहरूको हो। ५ पुस ०७७ मा हठात् प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री ओलीले मध्यावधि चुनाव घोषणा गरेपछि एकअर्कालाई गरेका गाली हुन् यी। कतिसम्म भने प्रचण्डले ओलीलाई ‘भेडा’को संज्ञा दिए, ओलीले प्रचण्डलाई ‘ब्वाँसो’ भन्न भ्याए। माथिका उदाहरण त केही सभ्य शब्दका गालीका मात्र हुन्।
२३ फागुन ०७७ मा तत्कालीन नेकपाको दर्ता बदर हुने सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग दलका रूपमा पुनर्जीवित भए। अनि गाली गलौजको रोग एमालेतिर स¥यो। एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘देशद्रोही’सम्म भन्न भ्याए। उनी निकटका नेता–कार्यकर्ताले नेपाल र उनी पक्षका नेताहरूलाई ‘गद्दार’, ‘लाल गद्दार’, ‘खलपात्र’जस्ता शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा गाली गर्नु त अब सामान्यझैँ लाग्न थालिसक्यो।
गालीगलौजको शृंखला जारी छ। यसमा ओली सबैभन्दा अगाडि छन्। २ भदौमा एमाले औपचारिक रूपमा विभाजित भएर एमाले समाजवादी गठन भएको छ। स्पष्ट छ– अब दुई दलका नेताहरूबीच एकअर्कालाई गाली गर्ने लामो शृंखला चल्ने छ। त्यसको सुरुवात एमाले अध्यक्ष ओलीले बिहीबारदेखि नै सुरु गरिसकेका छन्। भक्तपुरमा आयोजित कार्यकर्ता भेलामा गालीका पुरानै शब्द र वाक्य दोहो¥याउँदै ओलीले माधवकुमार नेपालमाथि निशाना साँधे। मानौँ अब गाली गर्ने नयाँ शब्दहरू शब्दकोशमा सकिइसकेका छन्।
ती अभिव्यक्तिहरू कुनै कोठाभित्र वा अनौपचारिक संवादमा बोलिएका होइनन्। ठूलो संख्यामा नेता, कार्यकर्ता र समर्थकको उपस्थिति तथा सञ्चार माध्यमहरूमा प्रत्यक्ष प्रसारण भइरहँदा दिइएका अभिव्यक्ति हुन् ती। कतिसम्म भने माओवादी केन्द्रका नेता मातृका यादवले प्रतिनिधिसभा बैठकमै एमाले अध्यक्ष ओलीको मानसिक अवस्था ठीक नभएको आपत्तिजनक अभिव्यक्ति दिए, जसलाई भोलिपल्ट संसदको अभिलेखबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले आदेश नै दिनुप¥यो।
सार्वजनिक स्थलमा पोखिने नेताहरूका आक्रोश देख्दा लाग्छ, उनीहरू देश र जनताका लागि होइन, आफ्नै व्यक्तिगत भँडास पोख्न उद्यत छन्।
अनौठो के भने गठबन्धन सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रमबारे टिप्पणी गर्न प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर एमाले अध्यक्ष ओलीले प्रयोग गरेको टर्रो भाषाबारे सामाजिक सञ्जालमा १–२ दिन चर्चा भयो। तर, अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘देशको आर्थिक अवस्थाको यथार्थ अवस्था’माथि पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफूलाई प्राप्त तथ्य र तथ्यांकमा आधारित भएर गरेको खण्डनबारे सामाजिक सञ्जालमा चर्चा पनि भएन। किनकि, उनले गाली बुझिने शब्द उच्चारण गरेका थिएनन्। आफू अर्थमन्त्री छँदा प्राप्त उपलब्धीबारे सभ्य भाषामा दाबी प्रस्तुत गरेका थिए, पौडेलले। उनले पनि संसद्मा गालीका शब्दहरू प्रयोग गर्थे त शायद सामाजिक सञ्जाल उनको पक्ष र विपक्षमा बाँडिन्थ्यो।
जनताबाट चुनिएका नेताहरूले के बोल्ने ? कस्तो भाषाशैली प्रयोग गर्ने ? राजनीतिक पक्ष र विपक्षमा रहँदा कस्तो व्यवहार र मर्यादामा प्रस्तुत हुने ? त्यसको कुनै मानक छैन। तर, त्यसको जवाफ सहज छ– सभ्य, सुसंस्कृत र समाजलाई उदाहरण दिने प्रकारबाट नेताहरू प्रस्तुत हुनु जरुरी छ। किनकि, समाजका रोल मोडल मानिने नेताहरूको भाषा र प्रस्तुती जति सभ्य हुन सक्यो, त्यति नै सामाजिक जीवनका हरेक क्षेत्र र पंक्तिमा सभ्य बन्ने होड चल्छ।
नेताहरूको अभिव्यक्तिको प्रतिविम्ब सामाजिक सञ्जालहरूमा भेटिन्छ। अशिष्ट अभिव्यक्ति दिने नेताहरूलाई ‘कडा’ र ‘खतरनाक’ संज्ञा सामाजिक सञ्जाल प्रयोगकर्ताले दिएको पाइन्छ। शिष्ट भाषामा प्रस्तुत हुने नेताहरूबारे चर्चा पनि गर्न आवश्यक ठान्दैनन्, प्रयोगकर्ताले।
खासगरी, जब देशको राजनीति उतारचढावबाट गुज्रिन्छ, समाजमा पनि एकप्रकारको ‘भाइब्रेसन’ पैदा हुन्छ। र, सक्रिय राजनीतिमा रहेका नेताहरूले सामाजिक जीवनलाई एक ढंगबाट विभाजित गर्छन्। आफूले विश्वास गर्ने नेताले दिने गलत अभिव्यक्तिप्रति चुप बस्ने र विपक्षीको कमजोरी औँल्याउँदै अशिष्ट भाषामा गाली गर्ने प्रवृत्ति घट्नु साटो बढ्दो छ। अनि, यही माहोलबीच अशिष्ट शब्द प्रयोग गरी बोल्ने र लेख्ने युवा जमातको राजनीतिप्रतिको बुझाइ अझ डरलाग्दो बन्दैछ।
राजनीतिक, वैचारिक ढंगले होइन, आपसी दुश्मनी साँध्न दिइने अभिव्यक्तिहरूले निरन्तरता पाउनुको मुल कारण देश र जनताका लागि आवश्यक कार्ययोजना नेतृत्व वर्गसँग नहुनु रहेको अभियन्ता दोभान राई बताउँछिन्। उनका अनुसार निश्चित मार्ग, योजना र विचार शून्य भएका कारण सैद्धान्तिक रूपमा पतन हुने अवस्था देखिँदै आएको हुन सक्छ। राजनीतिको उच्च ओहोदाहरूमा रहेका नेताहरूमा पैदा भएको वैचारिक विचलनका कारण राजनीतिमा आउन चहाने युवा पुस्तामा वितृष्णा उत्पन्न भइरहेको उनी बताउँछिन्।
वैचारिक बहस, आलोचनात्मक चेत, अध्ययन र अनुशासनभन्दा पनि चाकडी र ‘तेरो–मेरो’ मा युवा पंक्ति विभाजित बनेको र शीर्ष नेतृत्वले आफ्नो पक्षमा ठूलो भीड रहेको देखाउन मात्र उनीहरूलाई प्रयोग गरिरहेको उनको बुझाइ छ।
त्यसैले हो, युवा पुस्तामा पनि स्वविवेकबाट सही र गलतको निर्णय गर्नुभन्दा चाकडी गर्दा अगाडि बढिन्छ भन्ने सिकाइ गहिरिँदो छ। अनि, असल युवा राजनीतिबाट बाहिरिने र गैरराजनीतिक क्षेत्रमा रमाउने क्रम बढ्दो छ। ‘मेरो मान्छेलाई माथि पु¥याएँ भने मिलेर खान सकियो, आफूअनुकुल काम भए गुनगान, आफूूले भनेको नभए खराब भन्ने प्रवृत्ति बढेको देख्दा समाजमा चेतनशील युवाभन्दा धेरै मसिनरी युवाको संख्या बढ्ने देखिन्छ,’ राई भन्छिन्।
वैचारिक शून्यताले गर्दा निजी स्वार्थमा रमाइरहेको देख्न सकिने उनी बताउँछिन्। नेतृत्व तहमा रहेका मानिसले जस्तो व्यवहार गर्छन्, त्यसै गर्दा राजनीतिमा टिकिने भ्रम युवा पुस्तामा झांगिएको उनको भनाइ छ।
नेकपा नेता ऋषिराम कट्टेल कम्युनिस्टहरूको आफ्नै शब्दावली रहेको बताउँछन्। ‘बुर्जुवा’, ‘पुँजीवादी’लगायत शब्द आफूलाई कम्युनिस्ट भन्न रुचाउने सबै नेताले प्रयोग गर्ने गरेका छन्। ढोंग गर्ने कम्युनिस्ट र आफूहरूबीच समाजलाई हेर्ने दृष्टिकोणमा भिन्नता रहेको उनको भनाइ छ। ‘कम्युनिस्टहरू वर्ग संघर्षमा विश्वास गर्छन्, वर्गहरूको बीचमा द्वन्द्व हुन्छ, आपसमा कटुता हुन्छ। किनभने एउटा वर्गले अर्कोलाई निषेध गर्नुपर्ने भएकाले उनीहरूले आफ्नो राजनीतिक परिभाषामै मित्र र दुश्मन वर्ग छुट्याएकै हुुन्छन्,’ उनी भन्छन्। उनका अनुसार कम्युनिस्टहरूले प्रयोग गर्ने साम्राज्यवाद, सामन्तवाद, दलाल, पुँजीवाद, विस्तारवाद, एकाधिकार, दक्षिणपन्थी विसर्जनवाद, प्रतिक्रियावादलगायत शब्दहरू राजनीतिक शब्द हुन्।
अहिले आफूलाई कम्युनिस्ट भन्दै एकअर्कासँग भिड्न तम्सिनेहरूले प्रयोग गरेका शब्द भने गालीगलोज र अशिष्ट रहेको उनी बताउँछन्। अहिले प्रयोगमा आएका शब्दहरू राजनीतिसँग नजोडिने कट्टेलको भनाइ छ। राजनीतिक संस्कार र चिन्तन सकिएकाले राजनीतिक आरोप लगाउन नसकेको उनको ठम्याइ छ। अहिलेका शीर्ष नेताहरू, जसले आफूलाई कम्युुनिस्ट भन्छन्, ले प्रयोग गरेका भाषा शैली अराजनीतिक, असांस्कृतिक रहेको कट्टेलको भनाइ छ। उनी भन्छन्, ‘जब मान्छे सैद्धान्तिक, वैचारिक शून्यतामा पुग्छ अनि उसले भन्ने चिज पाउँदैन, विरोधका लागि राजनीतिक शब्द प्रयोग गरेर विचारमाथि विरोध गर्न उनीहरू आपसमा उस्तै छन्, कोही भिन्न छैनन्।’
अशिष्ट, अश्लील र अराजनीतिक शब्दावली प्रयोग गर्नु वैचारिक पतनको परिणाम रहेको उनी बताउँछन्। जसको प्रत्यक्ष असर त्यसैको सिको गरिरहेका युवा नेता र कार्यकर्ताहरूमा देखिन्छ। उनीहरू झन् बढी अशिष्ट भएर निस्किएको उनको भनाइ छ। ‘नेतृत्व त त्यति अशिष्ट छ भने तलका कार्यकर्ता र अनुुयायीहरूले शिष्ट भाषाको प्रयोग गर्छन् भन्ने कल्पना गर्न सकिँदैन,’ उनी भन्छन्, ‘जे पनि बोल्ने, व्यक्तिगत चरित्रमाथि दुर्मुखा कुरा गर्ने व्यवहारले नयाँ पुस्तालाई नराम्रो असर पुु¥याएको छ।’
नयाँ पुस्तालाई सिद्धान्त, नीति, विचार र निष्ठामा जोड्दै पार्टीले प्रशिक्षित नगर्ने, लुट्ने, गाली गर्ने, एकले अर्कालाई जे पायो त्यही बोलेर सिध्याउने र मानमर्दन गर्न सिकाएकाले नेतृत्व वर्गले समाजमा अशिष्टता र गाली गलोजको कुुमार्गतिर डो¥याएको कट्टेल बताउँछन्। ‘नेतृत्वको भूमिकामा रहेकाले प्रयोग गरेका अशिष्ट, अश्लील र अराजनीतिक शब्दावलीका कारण अर्को पुस्ता पनि विचारशून्य उत्पादन हुँदैछ,’ उनी भन्छन्, ‘वैचारिक रूपमा बहस गर्ने, वैैचारिक भाषाको प्रयोग, विचारको भिन्नता र त्यसबाट सिर्जित वैचारिक संघर्षको बारेमा थाहा नहुने अवस्थामा वैचारिक शून्यता आउँछ।’
नेतृत्व तहमा रहेका महिलाको चरित्रमाथि प्रहार गर्दै सडकमा लगाइने नारामा निक्कै तल्लो स्तरको भाषा प्रयोग भएको पाइन्छ। आन्दोलनको नाममा सडकमा खुलेआम अश्लील नारा लाग्छन्। त्यसरी गाली बर्साउने व्यक्ति नै नेता बन्ने गलत मानक समाजमा स्थापित हुँदैछ। लाग्छ, नेपाली समाज नकारात्मकतालाई सहजै स्वीकार गर्छ।
त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषय अध्यापन गर्ने आभाष्ना पाण्डेका अनुसार राजनीतिक क्षेत्रमा भाषाको निकै महत्त्व हुन्छ। अरू नेताभन्दा आफू फरक र अब्बल भएको देखाउन त वैचारिक रूपमा निखारिएको हुनुपर्ने हो। तर, जसले गाली बर्साउँछ र अरूमाथि व्यक्तिगत तहमा उत्रेर आक्षेप लगाउँछ, उही ठूलो नेता बन्ने परिपाटीको विकास भइरहेको छ।
‘अन्य मुलुकका नेताहरूको अभिव्यक्तिमा राजनीतिक संस्कार देखिन्छ। उनीहरू राजनीतिक भाषणमार्फत जनताका आवश्यकता, माग र आशाको विषयमा कुरा गर्छन्। र, ठूलो जमातमा एकसाथ राजनीतिक सन्देश प्रवाह गर्छन्,’ उनी भन्छिन्, ‘तर, हाम्रो देशमा जनमानसमाझ बोल्दा सकारात्मक विषयमा कुरा गरेर जनतामाझ भावानात्मक तरिकाले प्रभाव पार्न नसक्दा व्यक्तिगत टीका टिप्पणीमा उत्रिने गरेको पाइन्छ।’
राजनीतिक एजेन्डाविहीन नेतृत्व वर्ग भएकाले पछिल्ला दिनमा उनीहरूले दिएका अभिव्यक्तिमा अशिष्ट भाषाशैली प्रयोग भएको हुन सक्ने पाण्डेको आकलन छ। राजनीतिक पार्टीका नेताहरू उही पुरानै र एउटै विषयमा बोलिरहेको पाउँछिन् उनी। भन्छिन्, ‘के छ एजेन्डाभन्दा समृद्धि छ, तर कसरी भन्यो उत्तर छैन। समृद्धि त खोक्रो नारा नै भयो।’
ठोस एजेन्डा नभएको र भएका एजेन्डालाई परिपूर्ति गर्नका लागि कार्य योजना र निश्चित अवधि नछुट्याइएकाले पनि राजनीतिक सन्देश अभावमा अशिष्ट भाषाशैली अभिव्यक्तिको माध्यम बन्न पुगेको उनको बुझाइ छ। ठोस योजना अभाव, उक्त योजनामा पुग्नका लागि आवश्यक मार्गदर्शन नहुँदा एकले अर्कोलाई कमजोर देखाउनका लागि गाली गलोजको सहारा लिएको पाइने उनी बताउँछिन्। भन्छिन्, ‘हाम्रोजस्तो विकासोन्मुख मुलुकमा पनि राजनीतिक नेतृत्वबाट हल्का खालका टीका टिप्पणी आउनु भनेको असाधारण अवस्थामा त्यो पनि कहिलेकाहीँ मात्र हुनुपर्ने हो। तर, नेपालमा सामान्यजस्तो भइसक्यो।’
अशिष्ट अभिव्यक्तिमा नेपाली समाजको स्तर देखिने उनी बताउँछिन्। नेपाली जनता कस्ता व्यक्तिहरूबाट शासित भइरहेका छन्, यसबाट समाजमा कस्तो असर पर्छ भन्ने पक्ष महत्त्वपूर्ण हुने उनको विश्लेषण छ। र, उनको बुझाइमा त्यही सामाजिक संरचनाबाट कस्तो नेतृत्व हुर्कँदैछ भन्ने पनि महत्त्वपूर्ण विषय हो। सामाजिक सञ्जालमा नेताको भाषा, शैली र शिष्टतालाई लिएर समर्थन जनाउने र ‘कडा नेता’ उपमा दिनेहरूको दोष नभएको उनको भनाइ छ। ‘नेताका अपाच्य, अराजनीतिक र खस्रा अभिव्यक्तिमा वाहवाही गर्ने युवा जमातले त्यही जानेको छ। त्यस्तो विचारधाराबाट माथि उठ्न सकेको छैन, जुन प्रमुख समस्या हो। हाम्रो शिक्षा प्रणालीले आलोचनात्मक चेत राख्ने नागरिक जन्माउन नसकेको परिणाम हो यो,’ उनी भन्छिन्, ‘नेतृत्व तहमा रहेको व्यक्तित्वहरूको अभिव्यक्तिमाथि प्रश्न गर्ने सक्ने नागरिक तयार पार्न हाम्रो शिक्षा प्रणालीमै सुधार गर्र्नुपर्छ। हाम्रा पाठ्यपुस्तक र शिक्षण गर्ने तरिकामा फेरबदल, परिमार्जन गरेर अगाडि बढ्न सके मात्र नयाँ नेतृत्व अहिलेको भन्दा फरक हुन सक्छ।’
नेतृत्व तहमा पुगेका व्यक्तिले प्रयोग गर्ने शब्दमा आक्रामक शैली निकै बढेको त्रिवि समाजशास्त्र विभागका प्राध्यापक मधुसूदन सुवेदी बताउँछन्। नेतृत्व तहमा पुगेका नेताहरू संयमित हुनुपर्ने ठान्छन् उनी। ‘राजनीतिक पार्टीहरू विधि, पद्धती र निश्चित प्रक्रियाअनुरूप चल्नुपर्छ,’ उनी भन्छन्, ‘नेता भनेको संगठन हो, आइडल र रोल मोडल भनेर जनता पछाडि लाग्छन्। त्यही मान्छेले बोल्दा शब्द चयनमा ध्यान दिनुपर्छ, लोकतान्त्रिक आचरण देखाउनुपर्छ।’
नेतृत्व तहमा पुगेका मान्छेले वैचारिक आलोचना, तर्क गर्ने शैली नभएर व्यक्तिगत लाञ्छना लगाउने ट्रेन्डले नयाँ पुस्तालाई के सिकाउला र राजनीतिको बाटो कता मोडिएला भनेर सोच्नुपर्ने उनी बताउँछन्। नेतृत्व तहमा रहेकाहरूका आक्रोस, कुण्ठा र आवेग नियाल्दा आफूअनुकुल भए ठीक, प्रतिकुल भए बेठीक ठान्नेहरू नै आफूलाई सुसंस्कृत कम्युनिस्ट र समाजवादी भन्नेहरू देखिने उनको भनाइ छ।
‘उदाहरणका लागि कांग्रेसभित्र जति चित्त नबुुझे पनि त्यो स्तरको छुद्र शब्द र भाषाशैली प्रयोग भएको देखिएको छैन,’ उनी भन्छन्, ‘कम्युनिस्ट घटकभित्र एकले अर्कालाई गाली गर्ने, छुद्र शब्द प्रयोग गर्ने गरिएको छ।’
यस्तो खालको चरित्र गैरराजनीतिक चरित्र रहेको उनी बताउँछन्। नेपाली जनताले गतिलो नेतृत्व नपाएको उदाहरण पछिल्ला दिनमा नेताहरूका भाषण र त्यसमा प्रयोग भएका शब्द काफी रहेको उनी बताउँछन्। भन्छन्, ‘जब मान्छेमा वैचारिक स्खलन आउँछ, त्यतिबेला गालीमा उत्रिन्छ भन्ने लाग्छ। जब विचारमाथि बहस र छलफल हुँुदैन, अनि नयाँ नेतृत्वले सही मार्ग भेटाउँदैन।’
