कोभिड-१९ र भाइरल फ्लूको ट्वेन्डामिक
अहिले मौसमी फ्लू र कोभिड-१९ को ट्वेन्डामिक देखिएको अवस्था छ। अहिले धेरै मानिस रुघाखोकी, ज्वरो, टाउको दुखाइलगायत स्वास्थ्य समस्याले ग्रस्त भएका छन्।
अहिले मौसमी फ्लू र कोभिड-१९ को ट्वेन्डामिक देखिएको अवस्था छ। अहिले धेरै मानिस रुघाखोकी, ज्वरो, टाउको दुखाइलगायत स्वास्थ्य समस्याले ग्रस्त भएका छन्। मुख्य समस्या भनेको कोरोना महामारी चलिरहेको बेला मानिसले कोरोना र फ्लूबीच भिन्नता छुट्याउन सकेका छैनन्। यसो हुँदा उनीहरूमा थप स्वास्थ्य जटिलता आउने सम्भावना बढेको छ।
नेपालमा कोरोना देखिएको पनि डेढ वर्ष भइसकेको छ। मानिसमा अहिलेसम्म पनि रुघाखोकी लाग्नेबित्तिकै कोरोना हो कि भन्ने त्रास कायमै छ। गएको पाँच सातामा कोरोना संक्रमितको संख्यामा क्रमशः उकालो लाग्दै गरेको तथ्यांक छ।
कोभिड र फ्लूको सर्ने तरिका र लक्षणहरू लगभग उस्तै छन्। दुवैमा रुघाखोकी र ज्वरो आउने हो। तर, रुघाखोकी लाग्यो भन्दैमा कोरोना नै हो भन्ने अवस्था पनि छैन। किनभने अहिले मौसमी फ्लू देखिने बेला नै हो। तर, कतिपय मानिस आफैँलाई कोरोना भनेर यकिन भइसक्दा पनि समाजले कस्तो प्रतिक्रिया देला भनेर फ्लू भन्दै समुदायमा घुलमिल भइरहेको अवस्थालाई पनि नकार्न सकिँदैन।
यी दुईबीचको फरक छुट्याउन निकै गाह्रो छ। सामान्यतया फ्लूमा संक्रमितसँग कन्ट्याक्टमा आएको चार दिनभित्रमा ज्वरो आउन थाल्छ भने कोरोनाको केसमा कन्ट्याक्टमा आएको ६ दिनभित्र लक्षण देखिन थाल्छ। यसबाहेक स्वाद र गन्ध हराउनु वा कमी हुनु कोरोनाको मुख्य लक्षण हो। यो लक्षण देखिएमा जतिसक्दो चाँडो पीसीआर परीक्षण गरी आवश्यक उपचार लिनुपर्छ। हेलचेक्र्याइँ गर्नु हुँदैन। यसरी पनि कोभिड र फ्लूबीच फरक छुट्याउन सकिन्छ। यस्तै, कोभिडको तुलनामा फ्लू बालबालिकामा बढी देखिएको छ।
फ्लू र कोभिडलाई सामान्यतया यी कुराहरूमा ध्यान दिएर छुट्याउन सकिए पनि यसको अन्तिम उपाय भनेकै पीसीआर परीक्षण हो। कतिपय मानिस फ्लूलाई नै कोरोना संक्रमित भएको भन्दै आवश्यकताभन्दा बढी तनाव लिइरहेको पनि पाइएको छ। तनाव मात्र कम गर्न सके पनि आधा स्वास्थ्य समस्या निको हुन्छ। मौसमी फ्लू फैलिरहेको बेला यससम्बन्धी परीक्षणको पनि व्यवस्था मिलाएको भए मानिसले सहजता पाउँथे। तर, यो अवस्था पनि छैन। त्यसैले सकभर आफैँले न सतर्कता अपनाउन जरुरी छ।
अहिले कोरोना परीक्षण नै किन गर्नु पर्छ भन्ने प्रश्न धेरै आइरहेको छ। पीसीआर परीक्षण गर्नुपर्ने मुख्य कारण भनेकै मानिसमा भएको अनावश्यक मानसिक तनावलाई हटाउनु हो। सामान्य लक्षण देखिए पनि कोरोना नै हो, अब सबै परिवारलाई लाग्छ भन्ने मानसिक तनाव हटाउनका लागि पनि पीसीआर परीक्षणले काम गर्छ।
अर्को उपचार गर्ने पद्धती र परामर्शमा फरक पर्छ। जस्तै- कोरोनाको उपचारका लागि हामीले संक्रमितलाई आइसोलेसनमा बस्न, बेला-बेला अक्सिजन परीक्षण गर्न, पोषिलो खानेकुरा खान सुझाव दिन्छौँ। फ्लूका लागि तातो, झोलिलो खाने, बाफ लिनेलगायत सुझाव दिन्छौँ। यसै कारण पनि मानिसहरूले पीसीआर परीक्षण गरी भाइरल फ्लू र कोरोनाबीच फरक थाहा पाउन जरुरी छ।
कतिपय अवस्थामा एकै मानिसमा फ्लू र कोरोना भाइरस देखिएको छ। केहीले कोरोनाविरुद्धको खोप लगाइसकेको हुँदा स्वास्थ्यमा सामान्य समस्या मात्र देखिएको हुनसक्छ। तर, अहिले के मानिसहरू कोरोनालाई नै सामान्य फ्लू मात्र हो भनेर हेलचेक्र्याइँ गरिरहेको पनि पाइएको छ। अहिले संक्रमितको संख्या बढ्नुको एउटा कारण यो पनि हो। कतिपयले संक्रमित हुँदासमेत परीक्षण नगराएका पनि केस छन्। अस्पतालमा भने विगतको तुलनामा बिरामीको चाप बढ्न थालेको छ।
यस्ता मानिसले कम्तीमा परीक्षण मात्र गराए पनि हामीलाई परामर्श दिन सजिलो हुन्छ। साथै बिरामीको उपचार पनि राम्रो हुन्छ। यी दुईबीच आफू कुन भाइरसबाट संक्रमित भएको भन्ने कुरा थाहा पाउन केही अनुमान गर्न सकिए पनि त्यसले स्वास्थ्यमा जटिलता अवश्य ल्याउँछ। त्यसैकारण सबैभन्दा उपयुक्त भनेकै पीसीआर परीक्षण हो। तर, कतिपय मानिस अझै पनि रुघाखोकी लाग्नेबित्तिकै कोरोना पजिटिभ देखाउने त्रासका कारण परीक्षण गर्नै हिचकिचाइरहेका छन्। तर, यसरी मानसिक तनाव लिनुको सट्टा परीक्षण गर्दा पजिटिभ नै आए पनि आवश्यक उपचार गर्न सकिन्छ भने मानसिक तनाव पनि केही हदसम्म कम हुन्छ। साथै समुदायमा फैलनबाट पनि रोक्न सकिन्छ।
यस्तै, अहिलेको अवस्था हेर्दा सबैले सकेसम्म घरमै बसेर स्वास्थ्य सतर्कता अपनाउनुपर्छ। घरबाटै चिकित्सकसँग फोनबाट परामर्श लिन पनि सकिन्छ। फ्लूको लागि नेपाल सरकारले ओरसेलटेन्भिर नामक औषधि निःशुल्क वितरणसमेत गरिरहेको छ। उक्त औषधि ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीजस्ता जोखिम समूहमा परेका व्यक्तिहरूलाई दिइन्छ।
(सरुवा रोग विशेषज्ञ डा. पुनसँग सोनी शाहीले गरेको कुराकानीमा आधारित)
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










