संघीय सरकारलाई धुर्कोट गाउँपालिकाको पत्र : बाँदर कसरी नियन्त्रण गर्ने ?
गुल्मी, भदौ १ : गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ। खेतीमा रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे...गुल्मी, भदौ १ : गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ। खेतीमा रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ। ५÷६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उनले यस वर्ष भने एक मुरी जति मकै स्याहारिन् ।
कारण हो, बाँदरले मकै नोक्सानी गर्नु । ‘राम्रै फले त छ मुरीसम्म हुन्थे तर अहिले एक मुरी पनि पुग्न मुस्किल छ,’ उनले भनिन्, ‘मुख्य बाली नै नोक्सानी भए पनि निराशा हुँदोरहेछ ।’ उनको घरमा उनीसँगै छोरा, बुहारी र छोरी छन्। बिहानदेखि बेलुकीसम्म चारैजना बारीमा बसेर बाँदर हेर्दासमेत मकै जोगाउन नसकिएको उनले गुनासो गरिन्। गत वैशाख ११ गते छरेको मकै भदौको अन्तिमतिर स्याहार्ने समय हो। बाँदर आतङ्कले गर्दा एक महिनाअगाडि गत साउनको अन्तिमतिर नै स्याहार्न बाध्य भएको उनले गुनासो गरिन्।
वस्तुकै जितेन्द्र भण्डारीको पाँच रोपनी बारीमा आठदेखि १० मुरीसम्म मकै उत्पादन हुन्छ। मकै छरेपछि एकोहो¥याउने समयदेखि स्याहार्ने बेलासम्म लगातार बाँदर आइरह्यो। मकैमा दाना लागेदेखि बाँदरले बढी सताउन थाल्यो। अहिलेसम्म १८ देखि २० डोका अर्थात् चार मुरीभन्दा बढी मकै बाँदरले नोक्सान गरेको उनले गुनासो गरे।
‘एक पटकमा ९० देखि सयसम्म बाँदरको हूल आउँछ,’ उनले भने, ‘बिहानदेखि बेलुकासम्म हामीहरुको ड्युटी बाँदर धपाउने हो।’ उनले बाँदरले मकै नोक्सानी गरेपछि बाँकी रहेका मकै समयअगावै स्याहारेको र बाँदरबाट गाउँले नै हैरान भएको बताए। ‘बाँदर धपाउने बन्दुक दिगो समाधान होइन रहेछ,’ उनले भने, ‘बाँदरका अगाडि आत्मसमर्पण गरेजस्तै भयो।’
उनले बाँदरकै कारण वस्तुमा अधिकांश जग्गा बाझिएको गुनासो गरे। बाँदरले वस्तुका झण्डै दुई तिहाइ कृषक हैरानी खेपेका छन्। त्यसका साथै जैसिथोक, रेसुङ्गा नगरपालिकाको चेक्मी, गुरुङगाउँ, मालिका गाउँपालिकाका विभिन्न वडाहरुलगायत जिल्लाका अधिकांश क्षेत्रमा बाँदरले सताउने गर्दछ। बाँदर नियन्त्रणका लागि गत वर्ष धुर्कोट गाउँपालिकाले २३ बाँदर धपाउने यन्त्र ल्याएको थियो। ठूलो आवाज निस्कने भएकाले केही बेर बाँदर भागे पनि फर्केर आउने समस्याले उक्त यन्त्र पनि प्रभावकारी नदेखिएको गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताए।
उनले गाउँकार्यपालिकाले सङ्घीय सरकारलाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न निर्णय नै गरेर पठाए पनि सुनुवाइ नभएको गुनासो गरे। जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले जिल्लामा बाँदर नियन्त्रणका लागि कार्यक्रम नभएको प्रतिक्रिया दिए। यसका लागि अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकाले कार्यालयले पनि ठोस कार्यक्रम नराखेको उनको भनाइ छ। रासस