Kathmandu Press

‘माओवादी केन्द्र त्यागेका नेता-कार्यकर्ता फर्किन चाहेमा पुरानै जिम्मेवारी दिन सकिन्छ’

पार्टी त्याग्‍नुभएका नेता-कार्यकर्ताहरू माओवादी केन्द्रमै फर्किन चाहनुभयो भने पहिला जुन-जुन पदमा हुनुहुन्थ्यो, त्यसैमा फर्किन पनि सक्नुहुन्छ। तर, उहाँहरूको वैचारिक, राजनीतिक र सांगठनिक क्रियाकलापलाई ध्यान दिएर पुनः छलफल गर्नुपर्ने हुन सक्छ।
‘माओवादी केन्द्र त्यागेका नेता-कार्यकर्ता फर्किन चाहेमा पुरानै जिम्मेवारी दिन सकिन्छ’

असोज ०७४ मा चुनावी सहकार्यको घोषणा र ३ जेठ ०७५ मा एमालेसँग पार्टी एकतापछि करिब ३३ महिना माओवादी केन्द्रले नेकपाका रूपमा राजनीतिक, सांगठनिक र वैचारिक अभ्यास ग¥यो। २३ फागुन ०७७ को सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेकपाको दर्ता खारेज भयो, माओवादी केन्द्र र एमाले पुनः ब्युँतिए। त्यसपछि माओवादी केन्द्रले आफ्ना संगठनलाई कसरी पुनर्जागृत गर्दैछ त? पार्टीको सांगठनिक पाटोमा केन्द्रित रहेर माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्‍ठसँग काठमाडौं प्रेसका लागि शुष्‍मा बरालीले गरेको संवाद :

२३ फागुनमा सर्वोच्च अदालतबाट नेकपाको दर्ता खारेजीपछि वैधानिक रूपमा अलग दल बनेको माओवादी केन्द्रले आफ्ना संगठन कसरी पुनर्निर्माण गर्दैछ?

अहिले तत्काल सांगठनिक रूपमा धेरै काम भइसकेको छैन्। ३० साउनमा संघीय कमिटीको बैठक बस्दैछ। त्यस बैठकमा पार्टी कमिटी, जनवर्गीय संगठनका पदाधिकारीदेखि लिएर कहाँ-कहाँ कुन-कुन कमिटीमा कुन-कुन पद खाली छन्, तिनलाई पूर्ति गरिने छ। माओवादी केन्द्रको आफ्नो राजनीतिक र सांगठनिक कार्य योजना बनाएर अगाडि बढ्छौँ। त्यसपछि मंसिरमा विशेष महाधिवेशनको पनि स्थान लिने खालको राष्‍ट्रिय सम्मेलन गर्छौँ।

Hardik ivf

महाधिवेशन त होइन तर महाधिवेशनको कार्यभार थेग्‍ने गरी पार्टीको राष्‍ट्रिय सम्मेलन गर्छौँ। त्यसले पार्टीको समग्र राजनीतिक प्रतिवेदन, वैचारिक, राजनीतिक र सांगठनिक कार्यदिशासहितको प्रतिवेदन प्रस्तुत गर्छौँ। र, व्यापक छलफल गरेर पारित गर्छौँ।

विधान संशोधनका लागि अहिले हामीले मोटामोटी खाका तयार गरेका छौँ। त्यस खाकालाई पार्टीभित्र व्यापक छलफल गरेर राष्‍ट्रिय सम्मेलनमा फाइनल गर्छौँ। त्यसपछि त्यसको आधारमा पार्टी पुनर्निर्माणको मुख्य अभियान अझ अगाडि बढाउँछौँ। यी काम हाम्रो योजनामा छन्। तर, अहिले तत्काल हामीले वडास्तरीय कमिटी निर्माणको काम गरेका छौँ। माओवादीमा यसअघि जंगी संगठनको अवधारणा भएकाले अहिले लोकतान्त्रिक कमिटी कुन हो भन्‍ने कुरालाई स्थापित गरेका छौँ। अब हामी ३० साउनको बैठकबाट नयाँ ढंगले र राष्‍ट्रिय सम्मेलनको २-४ महिनापछि वैचारिक राजनीतिक कार्यदिशासहित पार्टीको विचारधारात्मक सांस्कृतिक, सांगठनिक रूपान्तरणको नयाँ योजना ल्याउँछौँ।

नेकपा विभाजनपछि माओवादीका नेता-कार्यकर्ता एमालेमा र एमालेका सदस्य माओवादीमा आएका होलान्। उनीहरूलाई सांगठनिक रूपमा कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?

जो सदस्यहरू माओवादी केन्द्रमा हुनुहुन्छ, उहाँहरू पहिलाकै आ-आफ्नो पदमा बसिहाल्नु हुन्छ। तर, जो पार्टीको पदाधिकारी हुनुहुन्थ्यो तर एमालेमा जानुु भयो, उहाँहरू पार्टीमा रहनुभएन। उहाँहरूको पार्टीको पद खाली गरेका छौँ। उहाँहरू जो पार्टी त्याग्‍नुभएको थियो, यदि फर्किन चाहनुभयो भने पार्टीमा छलफल गर्छौँ। सामान्यतया उहाँहरू पहिला माओवादी पार्टीमा जुन-जुन पदमा हुनुहुन्थ्यो, त्यसैमा फर्किन पनि सक्नुहुन्छ। तर, उहाँहरूको वैचारिक, राजनीतिक र सांगठनिक क्रियाकलापलाई ध्यान दिएर पुनः छलफल गर्नुपर्ने स्थिति छ भने त्यो पनि हामी छलफल गरेर निर्णय गर्छौँ।

माओवादी केन्द्रले लामो समयसम्म महाधिवेशन गर्न नसकेकाले यो पार्टी नै वैधानिक ढंगले नचलेको आरोप लगाइने गरेको छ। यसमा तपाईंको भनाइ के छ?

माओवादी केन्द्र वैधानिक हिसाबबाट चलेको छ, अवैधानिक भएको छैन। किनभने, हेटौंडा महाधिवेशनपछि माओवादी केन्द्रको अधिवेशन गर्ने समय बाँकी नै थियो। तर, त्यतिबेलाको ‘एकीकृत माओवादी’ नेकपा माओवादी केन्द्रमा रूपान्तरण भएपछि रामबहादुर थापा ‘बादल’ जीहरूको पार्टीबीचमा एकता अधिवेशन भएर त्यसले नयाँ कमिटी बनाएपछि त्यो एकता भएदेखिको समय पाउने रहेछ पाँच वर्षलाई। त्यसपछि फेरि हामी महाधिवेशन गर्ने तयारीमा हुन सक्थ्यौँ होला। तथापि, तुरुन्तै फेरि एमाले र हाम्रो पार्टीको एकता भएर दुईवटा पार्टीको संयुक्त अधिवेशनपछि नेकपा बन्यो। त्यसकारणले अबको वैधानिक गणनाचाहीँ नेकपाको अधिवेशन भएपछिको समयको गणना हुन्छ। तसर्थ, वैधानिकताको हिसाबले त्यो समय सकिएको छैन।

तर, हाम्रो पार्टीमा पनि अन्य पार्टीहरूको जस्तै महाधिवेशन, सम्मेलनहरू समय-समयमा समयमै गर्ने ढंगले जान उपयुक्त नै हुन्छ। यदि यही आधारमा हाम्रो पार्टी अवैधानिक छ भन्‍ने हो भने त एमाले पनि अवैधानिक हुने भयो। एमालेको त नवौँ महाधिवेशन भएको वर्षौँ भइसक्यो।  पार्टी एकता गर्दाको संयुक्त अधिवेशनका आधारमा दुवै पार्टीले समय पाउँछन्।

माओवादी केन्द्रमा सेल कमिटीदेखि केन्द्रीय कमिटीसम्म मनोनित गर्ने चलन रहेको र निर्वाचन नगर्ने गरिएको आक्षेप लगाएको पाइन्छ नि?

हरेक कमिटीको सम्मेलन हुन्छ। सोही सम्मेलनले नै कमिटी निमार्ण गर्ने हो। माथिबाट त अन्तरिम कालका लागि तदर्थ समिति मात्रै निर्माण गर्ने हो। तर, वास्तविक समितिहरू निर्वाचित नै हुन्छन् हाम्रो पार्टीमा।

प्रकाशित मिति: ११:४१ बजे, मंगलबार, साउन २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्