‘सरकारले जेनजी आन्दोलनको भावना नै सम्बोधन गरेन’
‘नेपालका राजनीतिक दलहरू सत्ताका निम्ति जे पनि गर्ने, निर्वाचनमा दृष्टिकोण र सिद्धान्त नमिलेपनि सम्झौता गर्ने, निर्वाचनपछि फेरि अर्कोसँग सत्ताका लागि सम्झौता गर्ने प्रवृत्तिबाट नेपाली जनता आक्रान्त थिए। त्यसैको कारण जेनजी आन्दोलन भएको हो ,’ रसाइलीले भने।
काठमाडौं, भदाै २४ : २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। देशमा बढ्दै गएको राजनीतिक अस्थिरता, अराजकता र पुरानो राजनीतिक दलहरुको प्रवृत्तिप्रतिको असन्तुष्टिका बीच युवाहरू सडकमा उत्रिएर परिवर्तनको माग गरेका थिए। आन्दोलनका क्रममा धेरै युवाहरुले ज्यान गुमाएका थिए।
देशमा राजनीतिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको भन्दै आन्दोलन गरेका युवाहरुको मुख्य अपेक्षा सुशासन, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको विकास भन्ने थियो।
आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्ने, शासन प्रणालीमा सुधार ल्याउने र जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त भए पनि व्यवहारमा त्यसको प्रभाव पर्याप्त देखिन नसकेको आम मानिसको गुनासो छ
आन्दोलनले उठाएको परिवर्तनको आवाज अहिले पनि बहसको विषय बनेको छ। आन्दोलनमा ज्यान गुमाउनेहरूको योगदान र युवाहरूले अघि सारेका मागलाई सम्बोधन गर्दै देशलाई स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने आवाज उठिरहेको छ।
यसै सन्दर्भमा गरिएकाे कुराकानीमा नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाश रसाइली (स्नेही)ले जेनजी आन्दोलनको भावना वर्तमान सरकारले सम्बोधन गर्न नसकेको आरोप लगाएका छन्।
उनले सरकार सुशासन, भ्रष्टाचार नियन्त्रण, जनताको दैनिक समस्या समाधान तथा राज्यका संवैधानिक निकायलाई प्रभावकारी बनाउने विषयमा असफल हुँदै गएको बताए।
उनले आन्दोलनलाई २३ र २४ गतेका घटनाक्रमलाई छुट्टाछुट्टै कोणबाट हेर्नुपर्ने बताए। उनले २३ गते भएको आन्दोलनका क्रममा राज्यको कमजोरी र सूचना व्यवस्थापनको अभावका कारण धेरै युवाले अनाहकमा ज्यान गुमाउनुपरेको बताए। त्यसपछिको घटनाक्रमले आन्दोलनले अर्कै रूप लिएको उल्लेख गरे।
‘२३ गते अनाहक रूपमा धेरै युवाहरूले निर्मम ढङ्गले ज्यान गुमाउनुप¥यो। त्यो राज्यको कमजोरी अथवा राज्यको सूचनाको कमजोरीका कारणले आन्दोलनले अर्कै रूप लियो,’ उनले भने।
उनले २४ गते जेनजी आन्दोलनका नाममा सिंहदरबारदेखि पशुपतिनाथ, सर्वोच्च अदालत, व्यापारिक प्रतिष्ठान तथा सरकारी भवन र राष्ट्रिय सम्पत्तिमा आगजनी तथा तोडफोड भएको भन्दै त्यसलाई पनि गम्भीर रूपमा हेर्नुपर्ने बताए।
रसाइलीले आन्दोलनका क्रममा शहादत प्राप्त गरेका युवाको सपना पूरा गर्नु सबै राजनीतिक दलको जिम्मेवारी भएको बताए। नेपाली कांग्रेसले आन्दोलनको स्वामित्व ग्रहण गर्ने उनले बताए।
उनले लामो समयदेखि नेपाली राजनीतिमा बढेको जनआक्रोशकै परिणामस्वरूप युवाहरू सडकमा आएको दाबी गरे। राजनीतिक दलहरूले सत्ता प्राप्तिका लागि सिद्धान्त र विचारमा सम्झौता गर्ने प्रवृत्तिका कारण जनतामा निराशा बढेको उनले बताए।
‘नेपालका राजनीतिक दलहरू सत्ताका निम्ति जे पनि गर्ने, निर्वाचनमा दृष्टिकोण र सिद्धान्त नमिलेपनि सम्झौता गर्ने, निर्वाचनपछि फेरि अर्कोसँग सत्ताका लागि सम्झौता गर्ने प्रवृत्तिबाट नेपाली जनता आक्रान्त थिए। त्यसैको कारण जेनजी आन्दोलन भएको हो ,’ रसाइलीले भने।
उनले जेनजी आन्दोलनको भावनाबाट बनेको वर्तमान सरकार नै जनताको अपेक्षा पूरा गर्न असफल भएको बताए। अस्पताल र ग्यासको लाइन, बाढीपहिरो पीडितको समस्या, औषधि–उपचार तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिलगायत विषयमा सरकार प्रभावकारी हुन नसकेको उनले बताए।
पछिल्लो समयमा देशको अवस्था निकै भयावह भएको बताए। बाढीपहिरो पीडित नागरिकका लागि राहत वितरण तथा स्वास्थ्य उपचारको व्यवस्था प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताउँदै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार विपद्को समयमा राज्यले नागरिकको आवश्यकता र भावना अनुसार काम गर्न सकेको छैन्।
रसाइलीले सुशासनका दृष्टिले समेत सरकार असफल भएको बताए। उनका अनुसार जेनजी आन्दोलनको प्रमुख मुद्दामध्ये सुशासन भए पनि सरकारले त्यसअनुसार काम गर्न सकेको छैन। राजनीतिक नियुक्तिमा आफन्त तथा नजिकका व्यक्तिलाई प्राथमिकता दिएको भन्दै उनले सरकारमाथि प्रश्न उठाए।
उनले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले पूर्वाग्रही ढङ्गले कारबाही गरिरहेको बताए। पर्याप्त प्रमाण र कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गर्ने र पछि अदालतबाट छुट्ने अवस्था देखिएको भन्दै उनले सरकारको कार्यशैली अपरिपक्व रहेको टिप्पणी समेत गरे।
उनले सरकारले जनतालाई करको भार थप्दै गएको दाबी गरे। शिक्षा, स्वास्थ्य र बिजुलीजस्ता क्षेत्रमा कर लगाइएको भन्दै उनले करको नीति पुनरावलोकन गर्नुपर्ने बताए। मूल्यवृद्धि नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र जनतालाई आधारभूत सेवा प्रदान गर्न सरकार केन्द्रित हुनुपर्ने उनले बताए।
उनले जेनजी आन्दोलनका युवाको मुख्य अपेक्षा रोजगारी र देशभित्र अवसर सिर्जना गर्नु रहेको बताए।
‘जेनजी आन्दोलनका युवाहरू बेरोजगार छन् भने बेरोजगार भत्ता दिनुप¥यो। दुई–चार वर्ष त्यो भत्ता दिएर नेपालमा ठूलठूला कलकारखाना र उद्योग खोल्नुप¥यो। युवाहरूलाई नेपाल फर्काउने अभियान चलाउनुप¥यो,’ उनले भने।
दैनिक ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेको बताउँदै उनले सरकारसँग दीर्घकालीन रोजगारी सिर्जना गर्ने योजना नभएको बताए। रेमिट्यान्समा मात्रै निर्भर भएर मुलुक चलाउन नसकिने भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग र नयाँ आम्दानीका स्रोत पहिचान गर्नुपर्ने उनले बताए।
उनले सरकारलाई पाँच, १० र २० वर्षे योजनाका आधारमा अघि बढ्न सुझाव दिए। उनका अनुसार सरकारको ध्यान तत्कालीन लोकप्रियता र राजनीतिक स्टन्टमा भन्दा दीर्घकालीन आर्थिक विकास, रोजगारी सिर्जना र सुशासनमा केन्द्रित हुनुपर्छ।
उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने समेत माग गरे। २३ गतेका घटनामा ज्यान गुमाउनेलाई शहीदका रूपमा सम्मान गर्नुपर्ने र २४ गते राष्ट्रिय तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडमा संलग्न दोषीमाथि कानुनी कारबाही हुनुपर्ने उनले बताए।
रसाइलीले सरकारसँग अझै पर्याप्त समय रहेकाले आफ्नो कार्यशैली सुधार्न आग्रह गरे। जेनजी आन्दोलनको भावना सम्बोधन गर्दै संविधानको रक्षा, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र जनताप्रति उत्तरदायी शासन सञ्चालन गर्न सके सरकारको भविष्य सुरक्षित रहने उनले बताए।











