यसरी मनाइँदैछ गुँला पर्व (फोटोफिचर)
नेपाल संवत्अनुसार नवाैं महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने बताइन्छ।काठमाडौँ, साउन २५ : नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् सुरु गरिँदैछ । नेपाल संवत्अनुसार नवाैं महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने बताइन्छ । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ।
यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ। यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण भक्तजन प्रवेशमा निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ। वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदीअर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन्।
गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ। यो पर्व सकिएपछि नेवार समुदायले इयँला महिना पनि विशेषरूपमा मनाउँछन्। यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, बिहार, गुम्बा, स्तूपलगायत धार्मिकस्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भीड लाग्छ। यस अवसरमा काठमाडौं उपत्यका विभिन्न थरी बाजाले गुञ्जायमान हुने गर्छ।