Kathmandu Press

विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता

ललितपुर, साउन २१ : गोदावरी उद्योग वाणिज्य सङ्घ र जनभावना क्याम्पसबीच विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता भएको छ। विद्यार्थीलाई विभिन्न उद्योग तथा व्यवसायमा तालिम,...
विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता

ललितपुर, साउन २१ : गोदावरी उद्योग वाणिज्य सङ्घ र जनभावना क्याम्पसबीच विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता भएको छ। विद्यार्थीलाई विभिन्न उद्योग तथा व्यवसायमा तालिम, अध्ययन र अवलोकनका लागि सघाउने उद्देश्यले संघका अध्यक्ष जगनाथ महर्जन र क्याम्पस प्रमुख शिवराज सञ्जेलले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अध्यक्ष महर्जनले यस क्याम्पसमा स्नातक तथा स्नातकोतर तहमा अध्ययनरत विद्यार्थीलाई बैंक, होटल, कृषि आदि क्षेत्रका काममा प्रशिक्षण दिलाएर  रोजगारीका लागि समेत वातावरण तयार गर्न लागिएको बताए।

‘गोदावरीभित्रका सयौँ औद्योगिक प्रतिष्ठानमा क्षमता हेरी विद्यार्थीलाई काम गर्न पठाइनेछ। यसबाट विद्यार्थीमा कामको खोजी गर्ने झन्झट हुँदैन,’ उनले भने।

क्याम्पस प्रमुख सञ्जेलले अध्ययनरत विद्यार्थीलाई काममा लगाउनाका साथै विभिन्न विषयमा अध्ययन तथा  अनुसन्धान गर्नसमेत पठाइने बताए। उनले भने, ‘अध्ययनरत विद्यार्थीलाई विभिन्न क्षेत्रमा अब्बल गराउन नगरपालिका, बैंक र  सहकारी गरी १३ संस्थासँग पनि सम्झौैता गरिसकेका छौं।’ 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले समृद्ध गोदावरीको अभियान साकार पार्नका लागि यस कार्यले मलजल थप्ने विश्वास व्यक्त गरे। उक्त क्याम्पसमा स्नातक तथा स्नातकोतर तह अध्ययन गर्ने ६ सय ५० विद्यार्थीमध्ये १ सय५० ले आफ्नो पेसा अपनाइसकेका र कोही आफ्नै काममा आबद्ध रहेकाले बाँकीले उक्त अवसर पाउने भएका छन् । 

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्