नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान
गत वर्ष नेपाल र भारतबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो। नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको र कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको उनले जानकारी दिए।
काठमाडौं, मंसिर ७ : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानी, संयुक्त उद्यम र व्यावसायिक सहकार्यका अवसर उपयोग गर्न भारतीय उद्योगी व्यवसायीलाई आह्वान गरेका छन्। उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै भारतीय निजी क्षेत्रको लगानी वृद्धि गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा भएको नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पु¥याउनुपर्ने बताए।
उनका अनुसार भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत हो। गत वर्ष नेपाल र भारतबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो। नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको र कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको उनले जानकारी दिए।
यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन नसकेको उनको भनाइ थियो। सरकारले विदेशी लगानीका लागि १०२ उद्योगमा स्वचालित स्वीकृतिको व्यवस्था र एकद्वार सेवा केन्द्र सञ्चालन गरेको उनले बताए। त्यस्तै, ५९ वटा ऐनका करिब ५०० दफामा संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले लगानीको वातावरण थप सहज बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे। सरकारले लगानीसम्बन्धी कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि पहल भइरहेको बताए। नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीलाई समेत लगानी विस्तार गर्न उनले आग्रह गरे।
भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपालको आर्थिक विकासमा भारत सकारात्मक रहेको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा भारतीय लगानीका अवसर रहेको बताए।
व्यापारका अवरोध हटाउन सात क्षेत्रमा सहकार्यको प्रस्ताव
अध्यक्ष श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारी विस्तारका लागि व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सात क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए।
नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, दुवै देशका गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता र भारतीय बन्दरगाह तथा रेल सेवाको प्रभावकारी उपयोग गर्नुपर्ने उनको सुझाव थियो। भैरहवा, नेपालगञ्ज र दोधारा–चाँदनीलाई व्यापारिक तथा लजिस्टिक हबका रूपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।
त्यस्तै, अयोध्या–जनकपुर रेल सेवा, सीमावर्ती जाँच चौकीसम्म रेल सम्पर्क, भैरहवा र पोखरामा थप हवाई उडान तथा डिजिटल भुक्तानी प्रणाली विस्तार गर्नुपर्ने उनले बताए। द्रुतमार्ग, विमानस्थल, औद्योगिक पार्क र सहरी पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।





