मझधारमा महन्थः राजनीतिबाटै संन्यास कि नयाँ पार्टीको अभ्यास?
राजनीति यति क्रुर हुन्छ कि कहिलेकाहीँ त्याग र समपर्णले पनि किनारामा धकेलिदिन्छन्। अहिले महन्थ ठाकुर त्यसरी नै राजनीतिको किनारामै धकेलिएका छन्।
काठमाडौं, साउन १३ : केपी ओलीको प्रधानमन्त्रित्वमा जसपा अध्यक्ष महन्थ ठाकुर उनको सत्ता टिकाउने निर्णायक नेता थिए। त्यतिबेला उनको अडान देखिन्थ्यो, संविधान संशोधन र मधेशका मुद्दा सम्बोधन। परिस्थिति फेरियो, ओली सत्ताबाट हटेसँगै ठाकुर पनि राजनीतिको किनारामा धकेलिएका छन्। आगामी २० माघमा ८२ वर्ष लाग्ने ‘अक्टोजेनेरियन’ नेता ठाकुरका पछिल्ला राजनीतिक व्यवहारले उनी तत्कालीन प्रधानमन्त्री ओलीसँग निकट रही राजनीतिक दाउपेचमा तत्पर रहेको विश्लेषण गर्न थालिएको छ। किनकि, मधेश आन्दोलनका क्रममा झुटो मुद्दामा थुनिएका केही व्यक्तिको रिहाइबाहेक कुनै उपलब्धी ठाकुरले ओलीबाट हासिल गर्न सकेनन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विश्वास गुमाएपछि नयाँ सत्ता गठबन्धनको अभ्यास रोक्न ओलीभन्दा बढी दौडधुप गरेका थिए, ठाकुरले। संघीय संसदमा चौथो ठूलो दल जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि अहिले ठाकुरको राजनीतिक यात्रामै प्रश्नचिह्न खडा भएको छ।
राजनीतिक विश्लेषक सुरेन्द्र लाभ भन्छन्, ‘महन्थ ठाकुरजस्तो निष्ठावान र प्रतिष्ठित छवि भएका नेतालाई प्रतिगामीको पक्षमा उभिन सुहाएन।’ ठाकुरजस्ता नेता ओलीको पक्षमा उभिनु नै पहिलो गल्ति रहेको उनी बताउँछन्। मधेशका बासिन्दाका मुद्दा र माग सम्बोधन गर्न ओली तयार देखिनु र मधेशप्रतिको ओलीमा रहेको नकारात्मक सोचमा परिवर्तन आइसकेको भनी बुझाउन खोजे पनि जनताले विश्वास नगरेको लाभको किटान छ।
अहिले पनि एमाले अध्यक्ष ओली मधेशका बासिन्दाको पक्षमा रहेको भनेर मधेशमा कसैले पत्याएका छैनन्। ‘ठाकुरले ओलीलाई साथ दिएकै कारण जसपामा फुट आयो। त्यति मात्र नभएर आफ्ना सहयोद्धालाई समेत ठाकुरले गुमाउनुभयो,’ उनी भन्छन्, ‘मुलतः प्रतिगामी कदमलाई साथ दिनु, गलत निर्णयलाई आत्मसात गर्नु र सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पनि उहाँ ओलीकै पक्षमा देखिनु ठाकुर चुकेका प्रमाण हुन्।’
लाभको बुझाइमा अब नयाँ पार्टी दर्ता गराउनुबाहेकको विकल्प ठाकुरसँग छैन। ‘मधेशी, दलित, खस आर्य, जनजाति सबैको समिश्रण भएको जसपा राष्ट्रिय पार्टी र राष्ट्रिय राजनीतिको वैकल्पिक शक्ति बन्ने सम्भावना थियो,’ उनी भन्छन्, ‘त्यो सम्भावना महन्थ ठाकुरले गुमाउनुभयो। र, नयाँ सुरुवात गरी आफूलाई स्थापित गर्नुपर्र्ने चुनौती उहाँमा देखिन्छ।’
नयाँ सिराबाट उठ्न नसक्दा ठाकुरको राजनीतिक इतिहास नै धुमिल हुने जोखिम विश्लेषक लाभले देखेका छन्। ‘मधेशमा गुमाएको विश्वास फेरि पुनःस्थापित गर्नुपर्यो र लामो संघर्ष फेरि आवश्यक देखिन्छ। फेरि पनि मधेशको मुद्दालाई आत्मसात गर्दै छवि सुधारेको खण्डमा जनताको विश्वास लिन सक्नुहुन्छ,’ उनी भन्छन्, ‘महन्थ ठाकुरसँगको एउटा राम्रो पक्ष उहाँ आफलाई राज नेताको रूपमा स्थापित गर्न सक्नुहुन्छ, त्यो खुबी उहाँमा छ, ‘उहाँको पछि लाग्ने उहाँका सहयात्रीहरूसँग त्यो छवि छैन।’
अहिले पनि सत्ताको नभई मुद्दाको राजनीति गर्ने अठोटका साथ आफू पक्षका चारजना नेताले मधेश र देशका मुद्दा उठाउँछौँ भनेर अगाडि बढ्दा ठाकुरले गुमेको साख फर्काउन सक्ने उनको बुझाइ छ। महन्थ ठाकुरको राजनीतिक यात्रा रोकियो, समाप्त भयो भन्ने पक्षमा आफू नरहेको उनी बताउँछन्। ‘मधेशी दलका नेता वा अन्य राष्ट्रिय दलका नेताको छवि महन्थ ठाकुरको जस्तो उज्यालो र राम्रोे छैन, तसर्थ उहाँले त्यसको फाइदा उठाउन सक्नुपर्छ,’ लाभ भन्छन्।
ओलीले आफूलाई संघीयता पक्षधर भनेता पनि ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’लाई छोट्याउँदै ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय गराएर संघीयताको घोर विरोधी बनेको प्रमाण पस्किएको मधेशका बासिन्दाको बुझाइ देखिन्छ। मधेशका मुद्दामा सधैँ उदार रहेका ठाकुर अनुदार र विभेदकारी ओलीसँगको निकटतामा पर्नु नै मुख्य प्रश्न रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। संघीय शासन व्यवस्थाको पक्षधरता र स्थायित्वका लागि संघर्षरत ठाकुर एकाएक संघीयता विरोधी ओलीका समर्थक हुनु नै ठूलो रहस्य रहेको विश्लेषक लाभ बताउँछन्।
पछिल्लो ओली-ठाकुर गुटबन्दीले यस्तो प्रश्न खडा गरेको उल्लेख गर्दै उनी भन्छन्, ‘संघीयता विरोधी ओलीलाई साथ दिनु पछाडिको रहस्य के थियो ? कसरी उहाँ ओलीसँग टाँसिनुभयो ?’ यो प्रश्न आफैँमा राजनीतिक रहस्यमय र अनुसन्धानको विषय रहेको उनको ठम्याइ छ। ‘यसको पछाडि को छ ? कुन स्वार्थ वा बाध्यता के छ ?’ उनी प्रश्न गर्छन्, ‘आखिर कसको शक्ति छ ? देशी वा विदेशी ? तमाम प्रश्न छन्, आफ्नो इच्छा भए के र कसका लागि ?’ भविष्यमा यो शोधकर्ताका लागि अनुसन्धानको विषय रहको उनी बताउँछन्।
राजनीतिक विश्लेषक चन्द्रकिशोर १० साउनमा नेपालको राजनीतिमा भएका दुई महत्त्वपूर्ण घटनालाई पछिल्ला परिदृष्यसँग जोड्छन्। ‘एकातिर वैकल्पिक शक्तिको स्थापित भएको जसपा विभाजित भयो, त्यही मेसोमा वैकल्पिक शक्तिको रूपमा दाबी गर्ने अर्को दलले संघीयता, गणतन्त्र खारेजी र जनमत संग्रहको कुरा लिएर आयो,’ उनी भन्छन्, ‘यो आफैँमा संयोग मात्र होइन।’ गणतन्त्र र संघीयताका लागि स्थापित दलहरू विभाजित भइरहँदा र त्यसमा ठूला दलहरूको भूमिका देखिँदा आन्दोलनबाट प्राप्त उपलब्धी खारेजीको माग आउनुलाई गम्भीरता साथ नियाल्नुपर्ने उनको बुझाइ छ। दोस्रो- राजनीतिमा कुनै पनि शक्तिको भविष्य निर्धारण निर्वाचन आयोग र अदालतले मात्र नगर्ने उनी बताउँछन्। भन्छन्, ‘कुनै बेला बीपी कोइरालालाई फासी दिनुपर्ने पञ्चहरूको मागका बावजुद उहाँ जेल जान तयार हुनुभयो। त्यो समयमा पनि जेल हुन्थ्यो नि, तर पनि उहाँको भविष्य अदालत या निर्वाचन आयोजले तय गरेन,’ उनी भन्छन्, ‘कुनै पनि राजनीतिक शक्तिको भविष्य निर्धारण जनताले गर्छन्।’
ठाकुरको तत्कालीन सबल पक्ष भनेको झुटा अनि खोक्रा आश्वासनको खेती नगर्नु रहेको उनी बताउँछन्। ‘संसदसँग बार्गेनिङको कुरा गर्नु भएन, तर त्रुटि कहाँनिर भयो भने ओलीले संसद विघटन गर्दा मौन बस्नुभयो,’ उनी भन्छन्। उनका बुझाइमा सरकारमा नगई आफ्ना मागका बारेमा निरन्तर डिल गर्न नसक्नु ठाकुरबाट भएको त्रुटिका रूपमा उनले बुझेका छन्। संघीय संसदमा मधेशी शक्तिको बहुमत प्राप्त नहुने र कुनै न कुनै शक्तिसँग कुराकानी गरेरै आफ्ना उपलब्धीहरू प्राप्त गर्न सकिने उनको सुझाव छ। ‘केपी ओलीसँग गरेको कुराकानी राम्रो थियो, केही उपलब्धी पनि प्राप्त भए,’ उनी भन्छन्, ‘मधेशप्रति अनुदार मानिएको एमाले मधेशको सवालमा लचक भयो तर संसद विघटन गर्दा उहाँ चुप बस्नुभयो, त्यो मात्र त्रुटि भयो।’
मुक्तिको आन्दोलनको वकालत गर्नेहरू अझै पनि महन्थ ठाकुरको पक्षमा रहेको उनी बताउँछन्। त्यसको उदाहरण उनी सांसद रेशमलाल चौधरीले ठाकुरको पक्षमा बोलेका शब्दहरूलाई लिन्छन्। र, प्रश्न महन्थ ठाकुरलाई मात्र नभएर उपेन्द्र यादवप्रति पनि रहेको बताउँछन्। भन्छन्, ‘संसदको चुनावमा जनादेश थियो- प्रदेश-२ मा गठबन्धनको सरकार बनाउने अनि संघीयतालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने। संघीय संसदमा दुवै दल मिलेर (तत्कालीन राजपा र संघीय समाजवादी फोरम) मिलेर संविधान संशोधनको राजनीति गर्ने।’
चुनावपछि उपेन्द्र यादवलगायतले प्रदेश-२ मा मिलेर सरकार बनाए पनि केपी ओलीको सरकारमा चोरबाटोबाट छिरेको उनी बताउँछन्। प्रदेशमा संविधान संकुचित भयो, समावेशिता कार्यान्वयन भएनभन्दा उपेन्द्र पक्ष संसदमा टुलुटुलु हेरिबसेको उनी बताउँछन्। रेशमलाल चौधरीको विषयमा नबोल्नु, संसदमा हुँदापनि केही संघीयताको पक्षमा नबोल्नुलगायत उपेन्द्र यादवका त्रुटि रहेको चन्द्रकिशोरको जिकिर छ।
‘जब कि, टीकापुर घटनाअघि त्यहाँ पुगेर थारूहरूका बीचमा ऐक्यबद्धता जनाउने उहाँ हो, जब थारूहरू माथि दमन भयो, उहाँ चुपचाप बस्नुभयो,’ उनी भन्छन्, ‘ठाकुरसँग नयाँ र यादवसँग पुराना प्रश्नहरू छन्। त्यसैले आज कोही हिरो र कोही जिरो भन्ने छैन।’ निर्वाचन आयोग र अदालत भन्ने प्राविधिक कुरा रहेको र बाँकी सबै जनताको हातमा रहेको उनको बुझाइ छ। कुनै समयमा कांग्रेस र वामपन्थी दलहरूलाई अराष्ट्रिय तत्त्व घोषणा गर्दै प्रतिबन्ध लगाइएको उनी स्मरण गर्छन्। भन्छन्, ‘राजनीतिमा यस्तो भइरहन्छ। दलहरू स्वतन्त्र रहन्छन्। मुल कुरा उहाँहरूको प्रतिबद्धता र सक्रियता हो।’ पछिल्लो समयमा सञ्चार माध्यममा महन्थ ठाकुरलाई खलनायकको रूपमा प्रस्तुत गर्दै उनको राजनीतिक भविष्य नै समाप्त भएको विश्लेषण गलत रहेको उनी बताउँछन्। भन्छन्, ‘त्यसो होइन, उहाँको राजनीतिक भविष्यको निर्धारण जनताले गर्ने हो।’
राजनीतिको लामो यात्रा
कांग्रेसको राजनीतिमा लामो समय अडेका महन्थ ठाकुर त्यागको राजनीतिमा एक उदाहरणीय नेता हुन्। तथापि, त्यागको राजनीतिले उनलाई पछिल्ला वर्षमा अवसरहरूबाट निरन्तर वञ्चित गर्यो। कांग्रेसमा छँदा पटक-पटक मन्त्री बनेका थिए, प्रतिनिधिसभामा उपसभामुख पनि भए। राष्ट्रपति बन्ने सम्भावनाको ढोका खुल्दै गर्दा कांग्रेस नै त्यागेर मधेशको क्षेत्रीय राजनीतिमा होमिए। मधेशको क्षेत्रीय राजनीतिमा उनी सर्वाधिक असफल सावित भए। उनी नेतृत्वमा गठित तराई मधेश लोकतान्त्रिक पार्टीले तत्कालीन मधेशी जनअधिकार फोरमको विकल्प दिन सकेन। उनी तराईको कुलीन समुदायका नेता बने तर उत्पीडित समुदायको नेता बन्न सकेनन्।
तराईमा गएर कांग्रेसको परम्परागत ‘स्पेस’मा कब्जा जमाउने उनको प्रयास पूर्ण सफल भएन। कांग्रेसको साथबिना उनी आफँैले चुनाव जित्न सकेनन्। ०६४ र ०७० सालका दुवै संविधानसभा निर्वाचनमा पराजित भए। जब कि, मधेशका मुद्दा उठान गर्ने एक मुख्य नेता उनी नै थिए। ०७४ सालको आम निर्वाचनमा गृहजिल्ला महोत्तरीबाट जित हासिल गर्न पनि उनलाई कांग्रेसकै साथ चाहियो। र, त्यही कांग्रेससँग सत्ता गठबन्धनमा सहभागी भएर तत्कालीन ओली सरकारको विकल्प दिन रुचि देखाएनन्। रुचि देखाउँथे त पहिलोपटक मधेशका कुनै नेता मुलुकको प्रधानमन्त्री बन्ने अवसर पनि प्राप्त गर्न सक्थे। तर, उनले ओलीप्रति अनौठो मोह देखाए। वैकल्पिक सरकार गठन गर्ने प्रयासमा चिसो पानी खन्याए।
२० माघ १९९६ मा महोत्तरी पिपरा गाउँपालिका एकरहियामा जन्मेका शालीन र भद्र राजनीतिकर्मी ठाकुरको राजनीतिक पृष्ठभूमि शानदार छ। सुरुमा कांग्रेसनिकट छात्र संघ र त्यसपछि नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा सक्रिय बनेका हुन्। आफू पढेकै जनकपुर क्याम्पसमा प्राध्यापनसमेत गरेका उनलाई १ पुस ०१७ मा राजा महेन्द्रको कदमको विरोधमा उत्रिँदा राजकाज मुद्दा लाग्यो। जनकपुर क्याम्पसमा प्राध्यापकको रूपमा धेरै समय काम गर्न दिइएन, बहुदलीय व्यवस्था पुनःस्थापनाको आन्दोलनमा लागेको आरोपमा तत्कालीन पञ्चायती सरकारले बर्खास्त गरिदियो। ०३२ सालमा उनी भारत विहारको सीतामढी पुगेर कांग्रेस क्याम्पमा सामेल भए। हातहतियार ओसारपसारको मुद्दामा परी विहारमै उनी पक्राउ परे। पछि नेपाल आएको मौका छोपी प्रहरीले पक्रेर उनलाई सर्लाही मलंगवाको जेलमा राख्यो।
०३६ सालमा जनमत संग्रह अगाडि उनी रिहा भए। उनी सर्लाहीमा रहँदा कानून व्यवसायी थिए, वकालत गर्थे, स्थानीय कलेजमा अध्यापन गर्थे र बाँकी समय राजनीतिमा सक्रिय थिए। पार्टीप्रतिको समर्पण भावका कारण उनले आफ्नो सर्लाहीको घर नै पार्टीलाई हस्तान्तरण गरेका थिए। ठाकुरले ०४८ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाटै चुनाव जिते। ०४८ सालको आम निर्वाचनपछि गठित प्रतिनिधिसभामा उपसभामुख बने। ०५१ सालको चुनावमा पनि सर्लाहीबाटै विजयी बने। र, कृषि मन्त्री भए। ०५६ सालको चुनाव जितेपछि कानूनमन्त्री बने। ठाकुरले कांग्रेसभित्र आफ्नो स्थान बलियो बनाएका थिए। सबैले उनलाई उच्च सम्मान र श्रद्धा गर्थे।
त्यति हुदाँहुँदै पनि उनी पार्टीप्रति असन्तुष्ट थिए। उनलाई पार्टी महामन्त्री बन्न मन थियो तर डा. रामवरण यादवलाई महामन्त्री बनाइएपछि कांग्रेस त्याग गरे। ०६४ सालमा कांग्रेस केन्द्रीय कोषाध्यक्ष र विज्ञान तथा प्रविधि मन्त्री छाडेर उनी क्षेत्रीय राजनीतिमा होमिए। कांग्रेस छाडेपछि उनी ०६४ र ०७० सालका दुई संविधानसभा निर्वाचनमा पराजित भए। ०७४ को आम निर्वाचनमा गृहजिल्ला महोत्तरीमा कांग्रेसको साथ पाएपछि मात्र चुनाव जिते। दोस्रो मधेश आन्दोलनपछि गठित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष हुँदाहुँदै पनि उनले चुनाव जित्न सकेनन्। ०७७ सालमा मधेशकेन्द्रित ६ वटा दल मिलेर बनेको राजपा नेपाल र समाजवादी पार्टीबीचको एकीकरणपछि उनी जसपाका अध्यक्ष भएका थिए। तर, उनी अहिले एक्लिएका छन्।
उनले गल्ति कहाँ गरे त ? ५ पुसमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यो प्रतिगमनकारी, असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको बताउँदै उनी पनि अन्य राजनीतिक दलहरूसँगै सडकमा उभिए। फेरि पनि केपी ओलीले २८ जेठमा प्रतिनिधिसभा विघटन गर्दा त्यसलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भन्न सकेनन्। अरू सबै राजनीतिक दलले ओलीको कदमको विरोध गरे, सर्वोच्च अदालतले फेरि असंवैधानिक कदम भन्दै संसद पुनःस्थापना गरिदियो। तर, महन्थ ठाकुरले केपी ओलीलाई नै साथ दिनुमा राजनीतिक रोमाञ्चकता महसुस गरे। गल्ति त्यही विन्दुमा हुन पुग्यो।
सर्लाही, महोत्तरी, धनुषालगायत हाल प्रदेश-२ का अधिकांश जिल्लामा कांग्रेसको बलियो आधार तयार पारेका ठाकुरले आफलाई महेन्द्रनारायण निधि र शेख इद्रिस पछाडिका कांग्रेसका मधेशी मुलका सर्वमान्य नेताका रूपमा स्थापित गराएका पनि थिए। तर, महन्थले त्यही आधारभूमि परित्याग गर्दा राजनीतिक जीवनको उत्तराद्र्धमा आएर राजनीति नै धरापमा पारेका छन्। उनी शान्त, निष्ठावान र त्यागी नेता भएकामा कुनै शंका छैन। तर, राजनीति यति क्रुर हुन्छ कि कहिलेकाहीँ त्याग र समपर्णले पनि किनारामा धकेलिदिन्छन्। अहिले महन्थ ठाकुर त्यसरी नै राजनीतिको किनारामै धकेलिएका छन्।