जो विदेश उड्ने सोच त्यागेर कामदारबाट मालिक बनिन्
कोरोनाभाइरसको महामारीले विदेश जाने बाटो बन्द गरेपछि २४ वर्षीया सारा घले कोरियन रेस्टुराँ खोलेर व्यवसायी बनेकी छिन्।काठमाडौं, साउन ६ : काठमाडौंमा बस्दै आएकी लमजुङकी २४ वर्षीया सारा घलेले कुनै समय कोरियन रेस्टुराँमा काम गर्थिन्। उनले करिब दुई वर्षसम्म काठमाडौंको टंगालस्थित हाङकुक साराङ कोरियन रेस्टुराँमा काम गरिन्।
कोरियन रेस्टुराँमा काम गर्नु अगाडि उनले एक थकालीमा समेत वेटरको काम गरेकी थिइन्। सधैँभरि अर्काको काम गरेर राम्रो आम्दानी गर्न नसकेपछि उनमा तनावसमेत बढ्दै गयो र उनले विदेश जाने सोच बनाइन्। उनले विदेशमा होटेल र रेस्टुराँ लाइनमा काम गर्नेहरूले धेरै पैसा कमाउने गरेको सुनेकी थिइन्।
प्रायजसो राम्रो रोजगारीको अवसर नपाउँदा युवामा आउने सोच हो, वैदेशिक यात्रा। उनको मनमा पनि विदेश जाने, मनग्य आम्दानी गर्ने र परिवारलाई सुखी राख्ने योजनाका साथ जापानी भाषा पढ्न थालिन्। तर, उनका लागि दुर्भाग्य नै भन्नुपर्छ, उनले जापानी भाषा पढेर सक्दा नसक्दै विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको कहरले नेपालमा पनि लकडाउन भयो।
उनले कोरियन रेस्टुराँमा काम गर्दा कुनै तालिमबिनै धेरै कोरियन परिकारहरू बनाउन जानिसकेकी थिइन्। जापान जाने सपनामा लगभग पूर्णविराम लागेपछि उनले अघिल्लो वर्षको लकडाउनकै समयमा घरमै कोरियन खानेकुरा बनाएर घर–घरमा अनलाइन डेलिभरीसमेत गर्न थालिन्।
जसले गर्दा निरास बनेकी साराको जिन्दगीमा नयाँ मोड आयो र उनले आफ्नै व्यवसाय थाल्ने अठोटका साथ विभिन्न कोरियन परिकार र ‘फ्रुट’ राखेर आफ्नै नामबाट ‘सारा मार्ट’ खोलिन्। राजधानीको सामाखुशीमा रहेको उक्त मार्टमा अहिले सारालाई भ्याइ–नभ्याइ छ। आफूले काम गर्दाको बेला जोहो गरेको रकम र बाँकी रकम खोजखाज गरेर झण्डै पाँच लाखको लगानीमा लकडाउनलगत्तै गत असोजदेखि उनले उक्त मार्ट सञ्चालनमा ल्याएकी हुन्।
उनले सञ्चालन गरेको रेस्टुराँ एवं मार्टमा कोरियन खानेकुराका परिकार तथा कोरियन फ्रुटहरू पाइन्छ। अहिले एक दिनमै करिब ५० देखि एक सय जनासम्मका ग्राहक रेस्टुराँ पुग्ने गरेका छन्। ‘टिन एज’का युवायुवती, कोरियाबाट फर्केका नेपालीहरू र केही कोरियन र जापानीसमेत कोरियन खानाको स्वाद चाख्न यस रेस्टुराँ पुग्ने गरेका छन्।
रेस्टुराँमा किम्वाफ, तक्पोक, किम्ची फ्राइ राइस, कोरियन स्पाइसी चिकेन, पोर्क किम्ची विथ राइस, रामेना पोर्क किम्चीसहित कोरियन खाना तथा फ्रुटहरूको स्वाद चाख्न पाइन्छ। यसरी रेस्टुराँ पुग्नेहरूमध्ये धेरैले किम्फा, टिटियोक बोक्की र स्पाइसी कोरियन चिकेन रोज्ने गरेका छन्।
कोरियन खानामा लोकप्रिय रहेको किम्बाफ फ्रेस राइस, मुला, गाँजर र समुद्रको लेउ आदिबाट बनेको एक प्रकारको खानेकुरा हो। रेस्टुराँमा खानेकुराहरूका अलवा कोरियन ब्युटी प्रोडक्ट र कोरियन चाउचाउहरूको समेत बिक्री वितरण गरिएको छ।
यस रेस्टुराँको अर्को विशेषता भनेको नेपाली कफी हो। कोरियन रेस्टुराँ भए पनि नेपाली कफीको बिक्रीले रेस्टुराँमा नेपालीपन समेत झल्काउँछ। सामाजिक कार्य विषयमा स्नातक उत्तीर्ण गरेकी घलेले आफ्नै व्यवसायबाट एक दिनमै करिब १५ देखि २० हजारसम्मको व्यापार गर्छिन्।
उनी सम्झिन्छिन्, ‘पहिला कोरियन रेस्टुराँमा काम गर्दा मासिक २०–२५ हजार तलब थियो, तर अहिले दिनमै आफ्नै कामबाट राम्रो आम्दानी हुँदा खुशी छु।’ तर, फेरि यसै वर्ष वैशाखबाट कोरोना कहरका कारण गरिएको निषेधज्ञाले भने उनलाई थप निराश बनायो।
सुरुवाती समयमै व्यवसायमा घाटा बेहोर्नुपर्दा समेत उनमा हिम्मत भने अझै हारेको छैन। रेस्टुराँमा उनले दुई युवालाई रोजगारीसमेत दिएकी छन् भने आगामी दिनमा रेस्टुराँका शाखाहरू खोलेर आफूजस्तै युवतीहरूलाई व्यवसायमा आकर्षित गर्नुका साथै युवतीहरूलाई रोजगारी दिने योजना बनाएको उनले सुनाइन्।
रेस्टुराँ व्यवसायबाट सञ्चालिका घले खुशी देखिन्छिन्। उनले आफूजस्तै अन्य युवतीलाई विदेशमा जान नहतारिन र आफ्नै देशमा सानो भए पनि व्यवसाय गरेर महिला उद्यमशीलताको उदाहरण दिन सुझावसमेत दिएकी छन्।
यसरी साराले कोरियन मार्ट खोलेर अन्य युवा पुस्तालाई पनि देशमै केही गर्नका लागि उत्प्रेरणा दिनुका साथै नेपालीहरूमा कोरियन परिकारको स्वाद चखाउनुले आफूलाई खुशी लागेको दिनहुँ मार्टमा पुग्ने कलाकार तथा मोडेलसमेत रहेका ग्राहक नयन डीसीले बताए। शिक्षित युवा रोजगारीकै लागि विदेश भौँतारिनुपर्ने नेपालीहरूको दैनिकी बनिरहेको बेलामा यसरी नेपालमै सानो लगानीमा व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गरेकी सारा घले एक उदाहरणीय पात्रका रूपमा हेर्न सकिन्छ।