‘श्रीमान मरिसक्यो होला, अझै किन रातो लुगा र टीका लगाएको भन्दै प्रश्न गर्छन्’
काठमाडौं, असार २० : बाँकेको नेपालगञ्जका भुपेन्द्र उप्रेतीलाई राज्यपक्षले बेपत्ता पारेको १७ वर्ष भइसक्यो। तर, उनी जिउँदो छन् कि छैनन् भन्नेबा....
काठमाडौं, असार २० : बाँकेको नेपालगञ्जका भुपेन्द्र उप्रेतीलाई राज्यपक्षले बेपत्ता पारेको १७ वर्ष भइसक्यो। तर, उनी जिउँदो छन् कि छैनन् भन्नेबारे परिवार अझै बेखबर छ।
भुपेन्द्रलाई बेपत्ता पारिएको थाहा पाएपछि श्रीमती चन्द्रकलाले धेरै ठाउँ श्रीमानको खोजीका लागि हारगुहार गर्न पुगिन्। श्रीमान कता छन् र अवस्था कस्तो छ? भनि बुझ्न सबै सरकारी निकायका ढोकासम्म कयौं पटक पुगिन्।
विन्ति गरिन्-श्रीमान खोजिदिन। तर, उनको रोदन र पीडा सुनिदिने कोही भएन। उनको कुरा कतै सुनुवाई भएन। नत उनकाबारेमा कुनै खबर सुन्न पाइन्। र, अहिले पनि श्रीमानबारे बेखबर नै छिन् चन्द्रकला।
श्रीमानबिना उनले १७ वर्ष गुजारिसकिन। तर, उनलाई अझै पनि श्रीमान फर्किएर घर आउँछन् भन्ने लागिरहन्छ बेला–बेलामा। श्रीमान आउने आशा मार्नै सकेकी छैनन् अझै पनि। उनी भन्छिन्–मलाई अझै पनि उहाँ फर्किनु हुन्छ भन्ने लाग्छ। आशा अझै छ।
कतै श्रीमान फर्कि हाल्छन् कि भन्ने आशा पनि कसरी मार्नु? किनभने श्रीमान जिवित छन् कि छैनन् भन्ने कुनै जानकारी उनले पाएकी छैनन्।
न्यायको प्रतिक्षामा रहेका द्वन्द्व पीडितहरूले काठमाडौंमा गरेको फोटो प्रदर्शनीमा सहभागी चन्द्रकलाले भनिन्–दुई छोरा र छोरी थिए। परिवार राम्रैसँग चलेको थियो। परिवारमा खुसी थियो तर, श्रीमानलाई बेपत्ता पारिएपछि शून्य लाग्दो रहेछ।
२०६० साल मंसिर २३ को कुरा हो, नेपालगञ्जको धम्बोजी चोकमा रहेको पसलमा चन्द्रकला श्रीमानसँग दिनभर बसेर खाना पकाउन भन्दै घर निस्किइन्।
त्यसपछि पसलमा बसिरहेका भुपेन्द्र साथीहरुसँग गफ गर्दै बसिरहेका थिए। त्यहीबेला नेपाली सेनाको टोलीले भुपेन्द्रसहित उनका साथीहरुलाई सेनाको टोलीले नियन्त्रणमा लिएको रहेछ।
घरमा खाना पकाएर श्रीमानलाई कुरेर बसिरहेकी थिइन् चन्द्रकला। तर, रातिअबेरसम्म पनि श्रीमान घर नआएपछि भने उनी आत्तिइन्। छोराछोरी सानै भएकाले पनि उनी कतै साथीसँग गएको भए श्रीमान घर आउँलान् भनेर कुर्दाकुर्दै निदाइन्।
भोलिपल्ट बिहानसम्म भुपेन्द्र अपहरणमा परेको घर फैलिसकेको थियो। सबैले व्यापारी हो भुपेन्द्र छोडिहाल्छन् नि भनेर उनलाई सान्तोना दिने प्रयास गरिरहे। तर, तीन दिनसम्म पनि श्रीमान नफिर्कएपछि चौथो दिन चन्द्रकला प्रहरी कहाँ गएर श्रीमान अपहरणमा परेको कुरा बताइन्। प्रहरीले खोज्ने बचन दियो।
श्रीमान भुपेन्द्रसँगै पक्राउ परेका अर्का साथी १७ दिनपछि रिहा भए। तर, भुपेन्द्र अहिलेसम्म पनि फर्किएका छैनन्।
‘अहिलेसम्म न त श्रीमान फर्किनु भयो न त उहाँको लाश नै पाएँ,’ उनले भनिन्,‘सबै सपना र खुसी मबाट हराएका छन्।’
‘श्रीमानको अझै क्रिया गरेको छैन? अझै रातो लुगा र टीका लगाएको भन्दै आफन्तहरुले प्रश्न गर्छन्। तेरो श्रीमानलाई त मरिसक्यो होला? बरु काजक्रिया गर भन्छन्,’ उनले दु:खेसो पोख्दै भनिन्,‘तर, मैले अझै उहाँ आउने आशा मारेकी छैन।’
भुपेन्द्र परिवारका एक्ला छोरा थिए। उनलाई सेनाले बेपत्ता पारेपछि आमा डिप्रेशनको शिकार भएर केही वर्षमै बितिन्।
चन्द्रकलालाई अझै कोही मोटरसाइकलमा दाह्री पालेर रातो लुगा लगाएर हिडेको देख्दा श्रीमानकै झल्को आउँछ। अहिले पनि मोटरसाइकलमा श्रीमा आइहाल्छन् कि भन्ने लाग्छ।
उनी भन्छिन्,‘मानसिक समस्यामा परेर कतै सडकमा पो भौतारिरहेका छन् कि? यतै पो भेटिन्छन् कि यस्तै कुरा खेल्छन् यो मनमा। काठमाडौं आउँदा पनि सडकमा बसेका सबैलाई हेर्छु।
राति सुतिरहेको हावाले ढोका हल्लाउँदा उनलाई लाग्छ–कतै भुपेन्द्र नै फर्किए कि भन्ने? श्रीमान बेपत्ता पारिएको १७ वर्ष बितिसक्दा पनि सरकारले वेपत्ता पारिएका परिवारका लागि केही गर्न नसकेको बताउँछन् चन्द्रकला।
चन्द्रकला अहिले आफूजस्तै द्वन्द्व पीडितहरुलाई जम्मा पारेर न्यायका लागि आवाज उठाउँदै आएकी छन्। नेपालमा द्वन्द्वपीडितहरुको एकिन तथ्यांक छैन। द्वन्द्वपीडितको साझा चौतारीका अनुसार द्वन्द्वका समयमा तीन हजार बढी नागरिक बेपत्ता पारिएका छन् राज्य र तत्कालीन सशस्त्र द्वन्द्वरत समूहबाट।
चन्द्रकला भन्छिन्,‘हामीले राज्यलाई सोधिरहेका छौं, हाम्रा श्रीमान, छोराछोरी, दाजुभाइ, दिदीबहिनी किन बेपत्ता पारियो। जिउँदै रहेको वा मरेको खबर किन दिइएन अहिलेसम्म? यी सबै कुरा हामीले सोधिरहेका छौं। ’
सरकारले केही गर्न सकेको छैन बेपत्ता पारिएका परिवारका लागि। ‘हाम्रा समस्या कस्ले सुनुवाई गरिदिने हो? हाम्रो पीडा कसले बुझिदिने हो? राज्यले हेर्नु पर्ने हो कि होइन,’ उनको प्रश्न छ।