Kathmandu Press

बाघले झम्टेपछि ज्यान जोगाउन रूख चढेकी सुमित्रा

उमेरले पाकी सुमित्रा बाघबाट बच्न भाग्दै थिइन्, एक्कासि पछाडिबाट बाघले आक्रमण गरिहाल्यो। बाघको पञ्जा उनको तिघ्रामा प¥यो। दाउरा काट्न उनले ठूलै हँसिया बोकेकी थिइन्, फर्केर उनले बाघलाई हँसियाले हान्न थालिन्।
बाघले झम्टेपछि ज्यान जोगाउन रूख चढेकी सुमित्रा

काठमाडाैं, साउन २ : ‘सुमित्रा आमा बाघ र गैँडासँग लडेर त बाँचेर हिँडेकी छन्। तँ यत्री ठूली भएर जुकासँग डराउँछेस्?’ हाम्री आमाले बहिनीलाई हकार्दै थिइन्, ‘उनी अझ रूख चढेर बाँचेकी हुन्।’

यता नवराज पराजुलीको आलेख ‘केटीहरू किन रुख चढ्दैनन्?’ माथि अनलाइन मिडिया र सामाजिक सञ्जालमा बहस चल्दै थियो। आफ्नी आमाबाट सुमित्रा आमाको बारेमा थाहा पाएपछि मेरो मन हुटहुटियो– बाघ र गैँडासँग लड्ने र रूख चढ्ने वृद्धा कस्ती होलिन्?

भर्खरै हाम्रो परिवार बाँकेबाट चितवन, भरतपुर– २४ जगतपुर बसाइँ सरेर आएकाले मलाई यहाँको बारेमा उति जानकारी थिएन। आमासँग उनको बारेमा बुझेँ। अघिल्लो साता उनी हाम्रै घरनजिकै खेत रोप्दै रहिछन्। बाउसे आली लगाउन व्यस्त देखिन्थे, रोपाहार बिउ उखेल्दै थिए। हिलाम्य खेतको एउटा छेउमा लोकभाका गाउँदै थिइन्, ६८ वर्षीया सुमित्रा विक उर्फ बाघसँग लड्ने आमा । समाजमा उनको परिचय नै ‘बाघसँग लडेर बाँचेकी’ भन्ने बनेको छ।

Hardik ivf

तिमी कहाँको साइँली म कहाँको कहाँको,
दुई खोलीको साइँली पानीझैँ भेट भाको।
हे रुन्छु–रुन्छु साइँली म पागल हुन्छु ,
मन बुझाउने साइँली मसिनो जाल बुन्छु...।

सुमित्राको भाकामा मस्त झुम्दै थिए, अरु खेताला। ‘आज यहाँको रोपाइँ सकेर घोल खेत रोप्नु छ,’ सुमित्राले भनिन्। उनी बिहानै ५ बजे उठ्छिन्, नित्यकर्म सकेर खेतबारीको काममा सघाउँछिन्। सुमित्राका दुई छोरा र बुहारीहरू, एक छोरी र नातिहरू छन्। छोरीको पनि बिहे भइसक्यो। आफूले सकेको काम अर्मपर्म गर्न रुचाउने सुमित्रा घरकै काममा व्यस्त रहन्छिन्।

जब बाघले झम्ट्यो..

चितवन राष्ट्रिय निकुञ्जदेखि करिब दुई मिटर दूरीमा जगतपुर गाउँ छ। यस गाउँमा दलित समुदायका ७० प्रतिशतभन्दा बढी र बाँकी अन्य सुमदायको बसोबास छ। उनीहरू घाँस–दाउरा गर्न निकुञ्ज जाने गर्छन्। निकुञ्जबाट नजिकका गाउँलाई जंगली जनावरको निकै जोखिम रहेको स्थानीय बताउँछन्।

सात वर्षअघि।

जगतपुरका महिला घाँस–दाउरा गर्न जंगल गएका थिए, जसमा सुमित्रा पनि थिइन्। घाँस–दाउरा गर्दै गर्दा बाघ डुक्रिएजस्तो आवाज आयो। आवाज नजिकै सुनिएपछि छरिएर दाउरा काटिरहेका सबै भागाभाग गरे, आफूले सक्ने रूख चढे।

उमेरले पाकी सुमित्रा बाघबाट बच्न भाग्दै थिइन्, एक्कासि पछाडिबाट बाघले आक्रमण गरिहाल्यो। बाघको पञ्जा उनको तिघ्रामा प¥यो। दाउरा काट्न उनले ठूलै हँसिया बोकेकी थिइन्, फर्केर उनले बाघलाई हँसियाले हान्न थालिन्। ‘तर मेरो बलले त्यत्रो बाघलाई आत्थु नि हुन्थेन,’ सुमित्रा भन्छिन्, ‘बाघले मेरो तिघ्रामा टोकेर एकछिन लछारपछार पार्‍यो।’

उनले सके जति हँसियाले हान्न छाडिनन्, फलामको हतियारको चोट न थियो, बाघ पछि हटेर डुक्रन थाल्यो र वरपर घुम्न थाल्यो। यही मौकामा सुमित्रा चढ्ने रूख खोज्दै अगाडि बढिन्। कपडा बाहिरबाट बाघको पञ्जा परे पनि सुमित्राको तिघ्रामा बेसरी चोट लागेको थियो। रगतको भेल बगिरहेको थियो, तर बाँच्ने आशाले उनलाई बल मिलिरहेको थियो। उनी भन्छिन्, ‘जिउ रगताम्मे भए पनि मेरो मन घर पुगिसकेको थियो।’

एउटा ठूलो रूखको फेदीमा पुगेपछि उनलाई माथिबाट कसैले हात दियो, त्यहाँ पूर्णकला विक थिइन्। ‘रूखको फेदीमा सुमित्रा दिदी चढ्न खोज्दै हुनुहुँदो रहेछ, मैले  पर बाघलाई देखेँ, यता आउने हो कि भन्ने डर लागिरहेको थियो,’ ६२ वर्षीया पूर्णकला भन्छिन्, ‘मेरा आँखा बाघतिरै थिए, तल दिदीलाई नहेरी हात दिएँ।’ सुमित्राको तिघ्रामा मासुको चोक्टा परेको थियो। पूर्णकलाले आफूले टाउकामा बाँधेको रुमाल खोलेर सुमित्राको तिघ्रामा कसिदिइन्।

बाघ बिस्तारै पर गयो। सुमित्रा र पूर्णकलालाई बाँच्ने आशा जाग्यो। त्यसपछि उनीहरुले रुखबाटै साथीहरुलाई बोलाउन थाले, अरु पनि उनीहरुजस्तै रुख चढेर बसेका थिए। केहीबेरसम्म रूखमै बसेपछि आर्मीको टोली आइपुग्यो।

‘हामी सबै चौकी गयौँ,’ सुमित्रा भन्छिन्, ‘म एउटा खुट्टा लतार्दै हिँडेकी थिएँ, चौकी पुगेपछि ढलेँछु।’ त्यसपछि उनलाई  उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइयो।

बाघले झम्टेपछि खोज्दै आउँछ?

भरतपुर अस्पतालमा केही दिनको उपचारपछि उनको घाउ निको भयो। तिघ्रामा गहिरो चोट लागे पनि अन्य अंगमा चोट नभएकाले उनलाई धेरै समय अस्पताल बस्नुपरेन। अस्पतालबाट घर फर्केपछि उनलाई हेर्न टाढाटाढा गाउँबाट मानिसहरू आए।

नेपाली समाजमा एउटा भनाइ छ– वनको बाघले खाओस् नखाओस्, मनको बाघले खाइसक्यो।

बाघको पञ्जा गाडिएको घाउ निको भए पनि सुमित्राको मनबाट बाघको डर अझै गएको छैन। त्यसमाथि उनलाई गाउँलेले सुनाए– एकपटक आक्रमण गरेको सिकारलाई बाघले चिन्छ र फेरि खोज्दै आउँछ। सुमित्रा भन्छिन्, ‘डराएर वर्ष दिनसम्म म जंगलै गइनँ।’

बाघविज्ञ हेमसागर बराल बाघले एकपटक आक्रमण गरेपछि खोज्दै आउँछ भन्नु केस अनुसार हुने बताउँछन्। ‘बाघ बूढो छ, घाइते भएको छ, जंगल परिसरभित्र सिकार गर्न नसक्ने अवस्थाको छ, वा अन्य केही समस्यामा छ भने मान्छेको सिकार गर्न सक्छ,’  बराल भन्छन्, ‘तर बाघले एकपटक आक्रमण गरेको व्यक्तिलाई फेरि खोज्दै आएको मलाई अहिलेसम्म थाहा छैन।’

‘छोरी बचाउन गैँडामाथि जाइलागिन्’

सुमित्रालाई बाघले झन्टनु अघिको घटना हो। उनी छोरी र गाउँकी छिमेकीसँग निउरो टिप्न जंगल गएकी थिइन्। त्यही बेला गैँडाले आक्रमण ग¥यो। ‘एक्कासि गैँडा आएपछि हामी भाग्दै थियौँ, पछाडिबाट आएको गैँडाले छोरीलाई हानिहाल्यो,’ उनी सम्झिन्छिन्।

त्यसपछि उनले हातको हँसियाले लाठीमा हिर्काउँदै, भुँइमा लाठी बजार्दै, चिच्याउँदै गैँडा भएतिर गइन्। उनी भन्छिन्, ‘आफ्नै आँखाअगाडि गैँडाले छोरीलाई हानेको देख्दादेख्दै छाडेर भाग्न को सक्छ र?’

उनले गुहार माग्दै गैँडातिर गएकी थिइन्, गैँडा समात्ने टोली आइपुग्यो। तर, गैँडाले उनकी छोरीलाई घाइते पारिसकेको थियो। उपचारका लागि उनकी छोरीलाई भरतपुर पुर्‍याइयो।

छोरीलाई गैँडाको आक्रमणबाट बचाउन सकेको खुसी उनको अनुहारमा अझै पनि उस्तै ताजै रहेको आभास हुन्छ।

अचेल सुुमित्रालाई धेरैले भन्छन्– बाघले झम्टेर पनि बाँचेर आएकी छौ, छिटै मर्दिनौ।

 

प्रकाशित मिति: ११:५७ बजे, शनिबार, साउन २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्