सवा २६ लाखले पाए कोरोनाविरुद्धको खोप, ११ लाख १० हजारलाई दोस्रो डोज
नेपालमा बिहीबारसम्म २६ लाख २१ हजार चार सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। तीमध्ये ११ लाख १० हजार आठ सय ६८ जनाले दोस्रो डोज पनि पाएका छन्।काठमाडौं, असार ३१ : नेपालमा बिहीबारसम्म २६ लाख २१ हजार चार सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। तीमध्ये ११ लाख १० हजार आठ सय ६८ जनाले दोस्रो डोज पनि पाएका छन्।
हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार चार सय ८४ र दोस्रो डोज चार लाख ६० हजार सात सय ३४ दिइएको छ। यस्तै, भेरोसेलको पहिलो डोज सात लाख ९२ हजार नौ सय ९२ र दोस्रो डोज ६ लाख ४८ हजार एक सय ३४ जनाले लगाएको तथ्यांक छ।
नेपालमा कोरोना संक्रमण फैलिएयता बिहीबारसम्म देशभर ६ लाख ६४ हजार पाँच सय ७० जना संक्रमित भइसकेका छन्। विगतको तुलनामा अहिले केही हदसम्म कोरोना संक्रमितको संख्या कम भएपछि फेरि तेस्रो लहर आउनसक्ने सम्भावना रहेको विज्ञहरूले औँल्याउँदै आएका छन्। कोरोना नियन्त्रणका लागि सबैभन्दा उपयुक्त उपाय भनेकै सबैलाई कोरोनाविरुद्धको खोप दिनु रहेको उनीहरूको भनाइ छ।
नेपालमा अहिलेसम्म कुल ४७ लाख ८२ हजार आठ सय ५० डोज आयात भएको छ। सरकारले थप १० लाख डोज खरिद गरिसकेको तर आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। ‘हामीलाई विभिन्न देशबाट कुल ४७ लाख ८२ हजार आठ सय ५० डोज अनुदान आइसकेको छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘१० लाख डोज खरिदका लागि भने भारतसँग सम्झौता प्रक्रिया सकियो तर नेपाल आउन बाँकी छ।’
कुल खोपमध्ये भारतबाट ११ लाख अनुदान, १० लाख खरिद, चीनबाट १८ लाख अनुदान, कोभ्याक्सअन्तर्गत ३३ लाख ८२ हजार ८५० डोज नेपाल ल्याइएको डा. अधिकारीले जानकारी दिए।
कोरोनाविरुद्ध खोप लगाइसकेपछि पनि संक्रमणबाट पूर्ण रूपमा सुरक्षित हुन्छ या हुँदैन भन्ने विषयमा भने अन्योल रहेको विज्ञहरू बताउँछन्। संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइमा खोपबाट मात्र पूर्ण सुरक्षित हुन नसकेका प्रशस्त उदाहरण छन्।
‘कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा मानिसहरू अझ बढी संक्रमित हुनुका साथै स्वास्थ्यमा पनि बढी नै असल पारेको तथ्यांक छ। दोस्रो लहरमा एकैपटक धेरै मानिस संक्रमित भएका कारण पनि अहिले विस्तारै संक्रमितको संख्या कम र निको हुनेको संख्या बढी भएको हुनसक्छ,’ डा. पुनले भने, ‘तर, फेरि कोरोनाको नयाँ भेरियन्ट आएको खण्डमा यही खोप प्रभावकारी नहुन पनि सक्छ।’
कोरोनाविरुद्धको खोपको प्रभावकारिता कति दिनसम्म रहन्छ भन्ने यकिन तथ्य नभए पनि एक वर्षदेखि १० वर्षसम्म खोपले शरीरमा प्रतिरोधात्मक क्षमता कायम राख्ने अनुमान रहेको संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा बताउँछिन्। ‘कोरोना खोप लगाएको करिब १५ दिनपछि यसले शरीरमा रोग प्रतिरोधात्मक विकास गर्छ,’ उनले भनिन्, ‘तर, यसले कतिसम्मको लागि एन्टिजेन बनाउँछ भन्ने प्रमाणित भइसकेको छैन। विभिन्न अध्ययनले एक देखि १० वर्षसम्मका लागि काम गर्ने अनुमान गरेका छन्।’ अहिले प्रायः सबै खोप चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भेरियन्टलाई हेरेर बनाइएको हुँदा अर्को कडा भेरियन्ट आएको खण्डमा यसले काम नगर्न सक्ने शेर्पा पनि बताउँछिन्।
अध्ययनहरूका अनुसार कोरोनाविरुद्धको खोपले शरीरमा मेमोरी सेल विकास गर्छ। शरीरमा एकपटक विकसित भएको एन्टिबडीलाई स्मरण गरेर त्यस्तै प्रकारको भाइरस फेरि शरीरमा प्रवेश गर्दा मेमोरी सेलले पुनः एन्टिबडी बनाउँछ। सोहीकारण शरीरमा एकपटक एन्टिबडी बनेपछि एकदेखि १० मेमोरी सेलकै सहयोगले खोप प्रभावकारी हुने अध्ययनले देखाएको छ। तर, यो अध्ययन प्रमाणित हुन बाँकी रहेको डा. शेर्पा बताउँछिन्।
यस्तै, कोरोनाविरुद्धको पहिलो डोज लगाइसकेका कतिपय मानिसले दोस्रो डोज लगाउन पाएका छैनन्। पहिलो डोज लगाएको कम्तीमा २८ दिनपछि दोस्रो डोज लगाउने भनिए पनि त्यो समयलाई १२ सातासम्म लम्ब्याइएको थियो। केही समयपछि फेरि यसलाई ६ महिनाभित्र लगाउन हुने भनियो। तर, यो सबै सरकारी रणनीति हुनसक्ने डा. शेर्पाको आकलन छ।
उनका अनुसार बेलायतमा १२ साताभित्र दुवै डोज लगाउने भनिए पनि कोरोनाको जोखिम बढेपछि त्यसलाई आठ सातामा झारियो। भारतमा भने पहिलो र दोस्रो डोजको अवधि चार साता निर्धारण गरिएकामा खोप कम हुन थालेपछि १६ सातासम्म पनि लगाउन मिल्ने भनिएको छ। र, स्वाभाविक रूपमा नेपालमा पनि खोप आउन ढिलो भएर ६ महिनासम्ममा खोप लगाए फरक नपर्ने भनिएको विज्ञहरू बताउँछन्। ‘बेलायतमा रिसर्च गरेरै यति समयसम्ममा खोप लगाइसक्नुपर्ने भनिएको छ। तर, नेपाल र भारतको सन्दर्भमा विश्वास गर्न सकिने अवस्था छैन,’ उनले भनिन्।