बागलुङमा फेरि बढ्न थाल्यो सङ्क्रमण र मृत्यु
बागलुङ, असार २८ : सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए। मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत छिन्। गम्भीर सङ्क्रमणका कारण...बागलुङ, असार २८ : सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए। मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत छिन्। गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीनजना उपचाररत छन् ।
आइसोलेसनमा रहेका बिरामीमा पनि श्वासप्रश्वासको समस्या बढी छ। दुई साता अघितिर अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकामा अहिले क्रमशः बढ्दै १२ पुगेको छ।
जिल्लाभर सक्रिय सङ्क्रमित घटेर २ सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर ३ सय २२ पुगेको छ। यसले केही दिन थामिएजस्तो देखिएको सङ्क्रमण फेरि बढ्न थालेको सङ्केत गर्छ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २४.७ प्रतिशत छ जबकी नेपालको सङ्क्रमण दर १९.०१ प्रतिशत मात्र छ।
कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमणसँगै मृत्युका घटना पुनः बढेको बताए। ‘होम आइसोलेशनमा बसेका सङ्क्रमित स्वास्थ्य स्थिति गम्भीर भइसकेपछि मात्र अस्पताल आउँदा मृत्यु बढेको हो,’ उनले भने।
शुक्रबार दिउँसो मृत्यु भएकी तमानखोला गाउँपालिका–१ की २३ वर्षीया युवतीलाई पनि अस्पताल ल्याउन ढिलाइ भएको स्रोत व्यक्ति घिमिरेले बताए।
अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कतिपय कोरोनाका बिरामी अक्सिजनको तह घटेर २५÷३० सम्म पुगेपछि बल्ल अस्पताल आउने गरेको सुनाए। ‘होम आइसोलेशनमा बसेका सङ्क्रमित अक्सिजन तह ९२ भन्दा तल हुन थाल्यो भने तुरुन्त अस्पताल आइहाल्नुपर्छ,’ उन भने।
स्वास्थ्य गम्भीर बनेपछि मात्र अस्पताल आएकै कारण कतिपय बिरामीलाई हरप्रयास गर्दा पनि बचाउन नसकिएको प्रमुख चिकित्सक पोखरेलले बताए। निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने उहाँको भनाइ छ।
‘बीचमा केही कम भएको थियो, अहिले फेरि कोरोनाका सिकिस्त बिरामी बढेका छन्, यसबाट पनि समुदायस्तरमा महामारी कायमै रहेको देखिन्छ,’ प्रमुख चिकित्सक पोखरेलले भने, ‘जोखिम बढ्दो छ, प्रत्येक व्यक्ति सतर्क र जिम्मवार नभएसम्म सङ्क्रमण रोकथाम हुँदैन।’
होम आइसोलेसनमा रहेकालाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेष रुपमा चनाखो बन्न उनले सुझाव दिए। सङ्क्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल ल्याउँदा कोरोनाको उपचार प्रभावकारी नहुने उनको भनाइ छ।
स्वास्थ्य कार्यायलको आँकडाअनुसार बागलुङ नगरपालिकाका पाँच, बडिगाड गाउँपालिकाका दुई, तमानखोला गाउँपालिकाका दुई र गलकोट नगरपालिकाको एक वडा कोरोना सङ्क्रमणको उच्च जोखिममा छन्। जिल्लाभरमा मध्यम जोखिम भएका ३६ र न्यून जोखिम भएका ३९ वडा छन् ।
पहिलो र दोस्रो लहरमा गरी हालसम्म २० हजार जनामा कोरोना परीक्षण गर्दा ५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण जिल्लामा ६९ जनाले ज्यान गुमाइसकेका छन्।
उपचारका क्रममा जिल्ला बाहिरका अस्पतालमा मृत्यु भएकाको सङ्ख्या जोड्दा त्यो अझ बढी हुन आउँछ।