बेलेम टावर : जहाँ साढे चार सय वर्षअघि राजाले कैदी राख्थे
राजाको हल ठूलो थियो । त्यो हल देखेर मेरो मनमा सोच आयो, यहाँ राजारानी साँच्चिकै बस्थे ? यसबारे सोध्न वरपर कोही थिएन ।सन् २०२० को पूर्वाधमा म पोर्तुगल पुगेँकी थिएँ । सुरुमा मैले त्यहाँका घुम्ने ठाउँहरू बारे नेटमा खोजेकी थिएँ । गुगलले त्यहाँका घुम्नैपर्ने ठाउँमध्ये पहिलो सूचीमा देखायो, बेलेम टावर । जब मैले बेलेम टावरको तस्बिर हेरेँ, हाम्रो धरहरा झलझली सम्झेँ । बेलेम टावर करिबकरिब धरहराजस्तै लाग्यो । २०६५ सालतिर धरहरा चढेर नवौँ तलाबाट काठमाडौं उपत्यका चियाएकी थिएँ । नजिकैबाट एकैपटक उपत्याका थुप्रै भाग देखेकी थिएँ । माथिबाट तल हेर्दा भने डरले जिउ सिरिंग भएको थियो । बेलेम टावर घुम्न जाने सोच बनाएपछि मेरो मन खुसीले फुरुंग भयो । कतै यात्रामा जानुपर्दा त्यही ठाउँबारे सोचमा डुब्नु स्वाभाविकै हो ।
२ जुन २०२० को बिहानै म खाना खाएर हतारिँदै बेलेम टावर घुम्न एक्लै निस्केँ । मलाई एक्लै यात्रा गर्न मनपर्छ । किनकि साथीहरूसँग जाँदा कुरा गर्दागर्दै त्यहाँका प्राकृतिक वा भौतिक दृश्य मनभरि हेर्न भ्याउँदिनँ ।
डेराबाट पाँच मिनेट हिँडेर लिसबनको इन्तेन्देन्ते चोक पुगेँ । मेट्रो चढेर काइस दु सोदरे चोक पुग्नु थियो, त्यहाँबाट बेलेम चोक जान सकिन्छ । बस, ट्याक्सी, कारहरू सडकमा गुडिरहेका थिए, त्यहाँ नेपालमा जस्तो ट्राफिक जाम कतै थिएन । मेट्रो जमिनमुनि सुरुङमार्ग भएर चल्ने रहेछ । सुरुङमार्गमै रहेको स्टेसनको काउन्टरमा पास (टिकट) लिएँ ।
सुरुङभित्र चारैतिर सेता बत्ती बलिरहेका थिए । सजिसजाउ सुरुङमार्गलाई बेवास्ता गरेर बस्न मेरो आँखाले मानेन । मार्गको छेउमा यात्रु बस्ने बेन्च र उभिने ठाउँमा पोर्तुगी भाषामा लेखिएको थियो– ‘मान्तेया सोसियाल दिस्तानसिया’ अर्थात् मेन्टेन सोसल डिस्टान्स । कोरोना महामारीको समय भएकाले त्यहाँ सामाजिक दूरी कायम गर्दै मान्छेहरू कोही उभिइरहेका थिए, कोही बेन्चमा बसिरहेका । मेट्रो आइपुग्ने समय बोर्डमा देखाइएको थियो । प्रत्येक पाँच मिनेट अवधिमा मेट्रो आउने रहेछ । म उभिएको एकछिन भएको थिएन, मेट्रो आइपुग्यो । मेट्रोमा पनि सामाजिक दूरी कायम गरिएको थियो ।
सुरुङको बाटो हुँदै आधा घन्टामा काइस दु सोदरे स्टेसन आइपुग्यो । त्यहाँबाट पुनः अर्को रेल चढ्नुपथ्र्यो । लामो रेल हाम्रै प्रतीक्षामा थियो । त्यो रेल अग्ला भवनको बीच हुँदै, समुद्री तट र ठुल्ठूला हरिया पार्क हुँदै अगाडि बढ्यो । मानिसहरू पार्कमा व्यायाम गरिरहेका थिए, त्यहाँ शारीरिक व्यायामका साधन पनि देखिन्थे । त्यो लामो रेल चढेको आधा घन्टापछि बेलेम चोक आइपुग्यो । रेलबाट ओर्लेर मैले मोबाइलमा नेट अन गरेँ । लोकेसन पछ्याउँदै करिब पाँच मिनेट हिँडेर बेलेम चोक पुगेँ ।
टावर पुग्नुअगाडि टाढाबाट रुख, बिरुवा र फूललाई स्पर्श गर्दै समुद्री हावाले मसँग मित्रता गर्न खोजिरहेको थियो । सडकको दुवैतिर अग्ला भवन थिए । जहाँ फाट्टफुट्ट कार गुडिरहेका थिए । मान्छे हिँड्नका लागि बनाइएको मार्बल ओछ्याइएको फुटपाथ छिचोल्दै म बेलेम पार्क पुगेँ । जहाँ विभिन्न प्रजातिका फूलसँगै रुखहरू झाँगिएका थिए । एउटा रुखमुनि एकजोडी चुम्बनमा लिप्त थियो । उनीहरूको प्रेममा सेल्फी पनि सामेल थियो । उनीहरू एकअर्कालाई चुम्बन गर्दै सेल्फी लिइरहेका थिए । पार्कमा वृद्धवृद्धा आफ्नै धुनमा कुुरा गर्दै बसिरहेका थिए । बच्चाहरू आफ्ना बाआमाको निगरानीमा खेलिरहेका थिए ।
पार्कको छेउमा समुद्र थियो र समुद्रको तटमा बेलेम टावर । मलाई समुद्री तटले लोभ्यायो । नीलो समुद्रमा छाल लहराइरहेका थिए । टावरभित्र भ्रमण गर्नका लागि टिकट लिनुपथ्र्याे । त्यहाँ पोर्तुगी भाषामा लेखिएको छ, यो टावरको स्थापना सन् १५१४ देखि १५२० को बीचमा भएको हो ।
टावर अगाडिको भित्तामा गैँडाको मूर्ति छ । मूर्तिको छेउमा भित्तामा लेखिएको छ– पश्चिमी युरोपेली कला क्षेत्रमा गैँडाको यो मूर्ति पहिलो प्रतिनिधित्व मूर्ति हो । यो मानिन्छ कि आर्टिटेक्टहरू राजा मानुएल प्रथमबाट प्रभावित थिए र सन् १५१५ मा पोप लिओ एक्सलाई यी पशुमध्ये एउटा उपहार दिएका थिए ।
सिँढी चढ्दै म पहिलो तला पुगेँ । त्यहाँको भित्तामा लेखिएको थियो, यो टावर फ्रान्सिस्को पारम्परिक मनुएलिन शैलीमा निर्माण भएको हो । जुन शैली त्यो समयमा धेरै लोकप्रिय थियो । यसलाई पोर्तुगालीको लेट गोथिक आर्टिटेक्चर पनि मानिन्छ ।
टावर घुम्न मात्रै समय लाग्दैन, मलाई भने त्यहाँका भित्तामा लेखिएका जानकारी पढ्न समय लाग्यो । किनकि मलाई पोतुर्गी भाषाको आधारभूत ज्ञान मात्र थियो । टावरको पहिलो तलाको भित्तामा कागजमा लेखेर टाँसिएको थियो– ...समुद्री तटमा आउँदै गरेका सामुद्रिक खतराहरू रोक्न यो टावरको निर्माण गरिएको मानिन्छ ।
यस टावरलाई सन् १९८३ मा युनेस्कोले विश्वसम्पदा सूचीमा समावेश गरेको रहेछ । हामी पनि धेरैपटक भूकम्पको मारमा प¥यौँ । १९९० र २०७२ को भूकम्पले हाम्रो धरहरा ढलेको थियो । यहाँ सन् १७५५ मा ठूलो भूकम्प आएको रहेछ । त्यतिबेला टावरलाई बेस्सरी हल्लाएको रहेछ । यस्तै जानकारीसहित भित्ताहरुमा लेखिएका थिए– राज्यपालको हल, राजाको हल आदि ।
राजाको हल ठूलो थियो । त्यो हल देखेर मेरो मनमा सोच आयो, यहाँ राजारानी साँच्चिकै बस्थे ? यसबारे सोध्न वरपर कोही थिएन ।
यस टावरका कोठा कुनै समय जेलको रूपमा पनि गरिएको थियो । सन् १५८० भन्दा पहिले राजा मानुएल प्रथमले आफ्ना सबै शत्रु र देशद्रोहीलाई पक्रेर राख्न यो टावरका कोठालाई प्रयोग गरेका थिए । सन् १५८० मा एउटा युद्ध भयो, जसमा पोर्तुगाली राजाको हार भयो । राजाले स्पेनका ड्युक अफ अल्बासँग आत्मसमर्पण गरे ।
पोर्तुगलका सात आश्चर्यमध्ये एक आश्चर्य यो टावर रहेछ । अन्य ६ आश्चर्यमा जेरेनिमोस मठ, सिन्ट्राको पेना नेसनल दरबार, इबिडोसको महल, अल्कोबास मठ, बाटहाल मठ र गुमेरास महल पर्छन् ।
तीन तलाको टावर भ्रमण गरेर म ओर्लिएँ । तल रहेका कर्मचारीलाई सोधेँ, यहाँ वरिपरि घुम्नैपर्ने ठाउँहरू छन् ?
कर्मचारीले हातको इसाराले टावरको अलि पर देखाउँदै भने, ‘नजिकै प्रसिद्ध बेरार्डो सांस्कृतिक सङ्ग्रहालय छ । तर, महामारीका कारण त्यहाँ प्रवेशमा रोक लगाइएको छ ।’
संग्रहालय भन्नेबित्तिकै मलाई त्यहाँको भ्रमण गर्ने रहर भएको थियो, रोक लगाइएको सुनेपछि मन खिस्रिक्क भयो । घुम्दाघुम्दै मलाई भोक लागेको थियो । टावरनजिकैको ‘पास्तलेस दी बेलेम’ नामक रेस्टुरेन्टमा प्रवेश गरेँ, जहाँ पोर्तुगलको स्थानीय ‘पास्तेल दी नाता’ नामक मिठाइ पाइन्छ । पहिलोपटक म त्यो मिठाइ खाँदै थिएँ, निकै स्वादिष्ट लाग्यो । आँखाभरि बेलेम टावरको दृश्य र जिब्रोभरि ‘पास्तेल दी नाता’को स्वाद लिएर म डेरा फर्किएँ ।