कोरोना निको भएको साढे तीन महिनासम्म आउन सक्छ पजिटिभ रिपोर्ट
कोरोना संक्रमण निको भएको साढे तीन महिनाभित्र पुनः रिपोर्ट पजिटिभ आएमा जोखिम नहुने विज्ञहरू बताउँछन्।काठमाडौं, असार २५ : कोरोना संक्रमण निको भएको साढे तीन महिनाभित्र पुनः रिपोर्ट पजिटिभ आएमा जोखिम नहुने विज्ञहरू बताउँछन्।
अहिले कतिपय बिरामी निको भएपछि केही दिनमै पुनः पजिटिभ रिपोर्ट प्राप्त भइरहेको छ। तर, संक्रमण भएको केही दिनसम्म पनि कोरोनाको मरिसकेको जीवाणु शरीरमा रहने हुँदा रिपोर्ट पजिटिभ आउने संक्रामक रोग विशेषज्ञ प्रा.डा. जनक कोइराला बताउँछन्।
‘कोरोनाको नेगेटिभ रिपोर्ट आएको एक महिनामै फेरि पजिटिभ आएकोलाई कोरोना संक्रमित मानिँदैन। केहीलाई १५ दिनमै पूर्ण रूपमा कोरोना निको हुन्छ भने केहीको शरीरमा एक महिनासम्म १० देखि २० प्रतिशत कोरोना भाइरसको मरिसकेको जीवाणु रहने हुँदा रिपोर्ट पजिटिभ आउने हो,’ उनले भने, ‘त्यही कारण कोरोना संक्रमणबाट निको भएकाहरूले केही दिनपछि लक्षण केही देखिएको छैन भने कोरोना परीक्षण नगर्न सल्लाह दिन्छौँ।’
डा. कोइरालाका अनुसार अहिले विश्व स्वास्थ्य संगठनले समेत निको भएको तीन महिनाभित्र पुनः पजिटिभ रिपोर्ट आएमा त्यो कोरोना भाइरसका कारणले होइन भनिसकेको छ।
अहिलेसम्मको तथ्यांकका आधारमा एक हजार जनामा पाँचदेखि १० जनामा मात्र एक महिनाभित्र दुईपटक कोरोना पजिटिभ रिपोर्ट आएको डा. कोइरालाले जानकारी दिए। ‘थोरै मानिसमा मात्र छोटो समयमा दुईपटक कोरोना पजिटिभ भएको तथ्यांक छ। वैज्ञानिक हिसाबले तीन महिनाभित्र कसैलाई पजिटिभ देखिन्छ भने त्यो पुरानै जीवाणु हो, नयाँ संक्रमण होइन,’ उनले भने।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि कोरोना संक्रमित भएको एक सय चार दिन अर्थात् साढे तीन महिनासम्म पनि कोरोना संक्रमणको पजिटिभ रिपोर्ट आउनसक्ने बताउँछन्। ‘मैले एकै व्यक्तिमा एक सय चार दिनसम्म पनि कोरोनाको पजिटिभ रिपोर्ट आएको केस देखेको छु। तर, त्यो निश्क्रिय भाइरस हो,’ उनले भने ‘त्यसैले हामीले कोरोना संक्रमित भएर आइसोलेसनमा बसेको १० दिनपछि परीक्षण नगर्न सुझाव दिन्छौँ।’
डा. पुनका अनुसार भाइरस भाइरस कति समयससम्म रहन्छ भन्ने कुरा मानिसको शरीरअनुसार हुन्छ। कसैको शरीरमा एक सातापछि हराउँछ भने कसैलाई तीन सातासम्म पनि रहनसक्छ। तर, निश्क्रिय भाइरस जोखिमपूर्ण हुँदैन।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भने अहिले मानिसहरू कोरोना संक्रमणमुक्त भइसक्दा पनि अनावश्यक रूपमा धेरैपटक परीक्षण गरिरहेको भएर पजिटिभ रिपोर्ट आएको हुनसक्ने बताउँछन्। ‘कोरोनामुक्त भइसक्दा पनि अनावश्यक रूपमा पटक-पटक परीक्षण गरिरहेका छन्। त्यो आवश्यक छैन। धेरैपटक परीक्षण गर्दा शरीरमा भएका निश्क्रिय भाइरसको टुक्राटाक्रीका कारण पजिटिभ रिपोर्ट आउन सक्छ,’ उनले भने।
परीक्षणको गुणस्तरअनुसार पनि फरक रिपोर्ट आउनसक्ने उनले बताए। ‘कोरोना परीक्षण गर्दा स्याम्पलिङ कस्तो तरिकाबाट गरेको छ भन्नेमा पनि भर पर्छ। स्वाब संकलन गर्दा तरिका नमिलेर पजिटिभ आएको पनि हुनसक्छ,’ डा. सुवेदीले भने, ‘बिरामीलाई ज्वरो, खोकीलगायत लक्षण छैनन् भने पीसीआर गर्नै पर्दैन।’
पटक-पटक पीसीआर परीक्षण गरिरहँदा रिपोर्ट पजिटिभ आएमा अनावश्यक तनाव मात्र उत्पन्न हुने उनी बताउँछन्। साथै थोरै समयको अन्तरालमा पुनः संक्रमण हुनसक्ने सम्भावना लगभग असम्भव रहेको उनको भनाइ छ। उनका अनुसार निश्क्रिय भाइरसका कारण कोरोना पजिटिभ नै भए पनि अरूमा सर्दैन।