कोभिडको तेस्रो लहरबाट बच्न खोप अनिवार्य : विज्ञहरू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावना रहेको हुँदा सतर्कता स्वरुप कोरोना नियन्त्रणका लागि आवश्यक कार्यहरू गरिरहेको दावी गर्दै आएको छ।काठमाडौं, असार १८ : कोरोनाको दोस्रो लहर सुरु भएयता त्यसको नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारीे छ । जेठको अन्तिम सातादेखि कोरोना संक्रमितको संख्या क्रमशः घटेसँगै सरकारले निषेधाज्ञालाई पनि खुकुलो बनाउँदै लगेको छ। तर कोरोनाको पहिलो र दोस्रो लहरपछि पनि तस्रो लहरसमेत आउनसक्ने विज्ञहरूको अनुमान छ।
अहिले कोरोना संक्रमितको संख्यामा कमी आउनुमा भने निषेधाज्ञाका कारण चेन ब्रेक भएर हो वा परिक्षण नगरेर कम भएको भन्ने कुराको पुष्टि नभएको संक्रमक रोग विशेषज्ञा डा. शेर बहादुर पुन बताउँछन्।
‘कोरोना संक्रमितको संख्यामा कमी आउनुको कारण मानिसबाट मानिसलाई टाढा राखेर चेन ब्रेक भएर हो वा परिक्षण नगरेको भएर कम भएको भन्ने पुष्टि भइसकेको छैन,’ उनले काठमाडौं प्रेससँग भने ‘चेन ब्रेक भएकै कारण संक्रमितको संख्यामा कमी आएको हो भने निषेधाज्ञा खुकुलो हुने वित्तिकै फेरि बिरामीको संख्या बढ्ने सम्भावना छ।’
यस्तै कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा मानिसहरू अझ बढी संक्रमित हुनुका साथै स्वास्थ्यमा पनि बढी नै असर पारेको तथ्यांक छ। दोस्रो लहरमा एकै पटक धेरै मानिस कोरोना संक्रमित भएका कारण पनि अहिले विस्तारै संक्रमितको संख्या कम र निको हुनेको संख्या बढी भएको हुनसक्ने डा.पुनले बताए।
उनका अनुसार अहिले कतिपयले डेल्टा प्लसकै कारण तेस्रो लहर सुरु हुने भनिरहँदा नेपालमा दोस्रो लहरको उत्कर्षमा पुग्दा धेरैमा डेल्टा प्लसको पुष्टि भएको थियो। यो हिसाबले धेरै मानिस यसबाट संक्रमित भई रोग प्रतिरोधात्मक क्षमता पनि बृद्धि भइसकेको हुनसक्छ। ‘डेल्टा प्लसले नै तेस्रो लहर ल्याउँछ भन्ने कुरामा म सहमत छैन,’ उनी भन्छन् ‘तर विगतमा जस्तै कोरोनाको प्रकृतिमा परिवर्तन आई नयाँ भेरियन्टले भने तेस्रो लहर ल्याउनसक्ने सम्भावना छ।’
निषेधाज्ञा खुकुलो हुने बित्तिकै लगभग सबै ठाउँहरूमा मानिसको भिडभाड बढेको छ। सरकारले कर तिर्नेदेखि हरेक क्षेत्रलाई अनलाइनमार्फत काम हुने व्यवस्था मिलाउन सके यसले धेरै हदसम्म कोरोना नियन्त्रण गर्ने डा. पुनको भनाइ छ।
यस्तै कोरोना संक्रमितको संख्यामा कमी आएपनि सबैले कम्तीमा तोकिएका जनस्वास्थ्यका मापदण्ड पानला गर्नु पर्ने र सरकारले पनि खोपको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्। ‘कोरोना नियन्त्रणका लागि सरकारले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कार्य भनेकै बढीभन्दा बढी खोप ल्याई वितरण गर्नु हो,’ उनले भने।
यस्तै जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षित पनि कोरोनाबाट बच्ने एकमात्र उपाय भनेकै खोप रहेको बताउँछन्। ‘जबसम्म सबैमा कोरोनाविरुद्धको प्रतिरक्षा प्रणाली विकसित हुँदन, तबसम्म लहरहरू आइरहन्छन्,’ उनले काठमाडौं प्रेससँग भने ‘प्रतिरक्षा प्रणाली विकसीत गर्न कि खोप लगाउनु पर्छ कि त अधिकांश मानिस कोरोना संक्रमित भई निको भएका हुनुपर्छ।’
प्रतिरक्षा प्रणाली विकसित गर्न नसकेको खण्डमा क्रमश तेस्रो, चौथो, पाँचौँ, छैठौँ गर्दै विभिन्न लहरहरूको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उनी बताउँछन्। सम्भावित तेस्रो लहर पनि कहिले? कसरी र कस्तो असर पु¥याउँछ? भन्ने कुरा भने ठ्याक्कै भन्न नसकिने पनि उनले बताए।
यस्तै अन्य मुलुकहरूमा भने खोप लगाएरै कोरोनालाई जितेको धेरै उदाहरण रहेको डा. दीक्षित बताउँछन्। ‘अमेरिका, युरोप, बेलायत लगायतका मुलुकले प्रसस्त खोप वितरण गरेर कोरोना संक्रमण दरलाई निकै कम गरिसकेको छ,’ उनले भने, ‘अमेरिकामा मास्क लगाउन नपर्ने भइसक्यो, अस्ट्रेलियामा आउटडोर खेलहरू भइरहेका छन्।’
कोरोना नियन्त्रणका लागि सकेसम्म खोप नसके परीक्षण बढाउनुपर्ने डा. दीक्षितको भनाइ छ। उनका अनुसार पर्याप्त मात्रामा खोप ल्याउन नसकेको खण्डमा कम्तीमा पनि टोल–टोलमा कोरोना परिक्षण गराइ संक्रमितलाई छुट्टै मात्र राख्ने र मास्क र दुरीलाई अनिवार्य बनाउन सकेपनि धेरै हदसम्म कोरोना नियन्त्रण गर्ने र लहरहरूलाई कमजोर बनाउन सकिने उनी बताउँछन्।
यस्तै संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला भने कोरोनाको तेस्रो लहरबाट बच्नका लागि बाहिरबाट आउने मानिसहरूलाई भन्दा पनि देशभित्रै रहेका कोरोना संक्रमितको पहिचान गरि उनीहरूलाई निश्चित समयका लागि समुदायबाट छुट्टै राख्नुपर्ने बताउँछन्।
‘कोरोनाको तेस्रो लहरबाट जोगिनका लागि बढिभन्दा बढि खोप वितरण गर्नु नै हो। तर अहिलेको अवस्थामा पर्याप्त खोप वितरण सम्भव छैन,’ डा. कोइराला भन्छन् ‘कोरोना संक्रमितहरूको कन्ट्याक ट्रेसिङ गरेर परिक्षण गरि रिपोट पोजिटिभ आएका मानिसलाई आइसोलेसनमा राख्न सके तेस्रो लहर आउने सम्भावना कम रहन्छ।’ विगतमा पनि कन्ट्याक ट्रेसिङकै अभावमा कोरोना समुदायमा फैलँदै गएको उनको भनाइ छ।
अन्य मुलुकहरूमा पनि खोपको अभावमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरेर परिक्षण गर्दै थप संक्रमितलाई आइसोलेसनमा राख्ने गरेको उनी बताउँछन्। ‘टाइवान, सिंगापोर, अष्ट्रेलिया लगायतका मुलुकहरूमा कुनैपनि व्यक्ति संक्रमित हुँदा कन्ट्याक्ट ट्रेसिङ गरी उक्त व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई परिक्षण गरेर पोजिटिभ रिपोट आएकालाई आइसोलेसनमा राख्ने गरेका छन्,’ उनले भने, ‘ती मुलुकहरूमा पनि खोपको अभाव छ र कन्ट्याक्ट ट्रेसिङ गरी मानिसहरूलाई आइसोलेसनमा राख्दा केही रिसाएका पनि छन्। तर पनि सरकारले भने उक्त कार्यलाई सफलतापुर्वक कार्यन्वयनमा ल्याएको हुँदा नै अहिले केही हदसम्म कोरोना नियन्त्रणमा आएको हो।’
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावना रहेको हुँदा सतर्कता स्वरुप कोरोना नियन्त्रणका लागि आवश्यक कार्यहरू गरिरहेको दावी गर्दै आएको छ। कोरोनाको तेस्रो लहर आउन नदिन खोप आयातदेखि अस्पतालको व्यवस्थापनलगायतका सबै कार्यहरूको तयारी थालेको मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए।
‘सकेसम्म कोरोनाको तेस्रो लहर आउन नदिनु नै सरकारको तयारी हो। जसका लागि नाकामा व्यवस्थापन गर्ने, बाहिरबाट आउने मानिसलाई व्यवस्थित गर्ने, क्वारेन्टिनमा राख्ने, परिक्षण गर्ने लगायतका कुरामा बढी केन्द्रित भएर काम गरिरहेका छौँ,’ डा. अधिकारीले काठमाडौं प्रेससँग भने ‘त्यसबाहेक जनस्वास्थ्यका मापदण्डको पालना गराउने, धेरैभन्दा धेरै खोप वितरण गर्ने लगायतका कार्य स्वास्थ्य मन्त्रालयले गरेको छ।’
यस्तै कोरोनाको तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुनसक्ने सम्भावना रहेको हुँदा उनीहरूलाई प्राथमिकतामा राखि पुर्वाधारहरू बनाउने कार्यहरू समेत भइरहेको डा. अधिकारी बताउँछन्। ‘कोरोनाको तेस्रो लहर आउनै नदिने हाम्रो लक्ष्य हो। तर कथमकदाचित आइहालेमा उपचार व्यवस्थापनसम्मका कामहरू गरिरहेका छौँ,’ उनले भने।
सरकारले खोप ल्याउनका लागि विभिन्न कम्पनीहरूसँग छलफल गरिरहेको भएपनि अहिलेसम्म खोप कहिले आउने? कुन कम्पनीको आउने? र कति आउने? निश्चित नभएको डा. अधिकारी बताउँछन्।