Kathmandu Press

देशभर असार १५ को रौनक (फाेटाे फिचर)

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाई असार १५ मनाउँछन् ।
देशभर असार १५ को रौनक (फाेटाे फिचर)

काठमाडौं, असार १५ : देशभर असार १५ अर्थात् धान दिवस मनाइँदैन । दही चिउरा खाने दिनका रूपमा पनि नेपाली समाजमा यो पर्वको बेग्लै महत्त्व छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् भन्ने चलन छ । दही चिउराले शरीरमा शीतलता दिने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाई असार १५ मनाउँछन् ।

Hardik ivf

नेपाली संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्किने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्किनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्किने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ । गुरु गोरखनाथले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधोपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइने गर्छ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत रूप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बनेको छ ।

२९ मंसिर ०६१ मा मन्त्रीस्तरीय निर्णयबाट असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरिएको हो । कृषि प्रधान मुलुक भएकाले नेपालका अधिकांश परिवारको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा बाउसे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपाली समाजमा रहिआएको छ ।

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, असार १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्