Kathmandu Press

‘चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा संशोधन हुन नसक्ने भन्ने नियम छैन’

प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयक सोमबारको राष्ट्रियसभा बैठकमा पेश हुँदैछ । डा. केसीको अनसन १९ दिन भएको छ । नागरिक अगुवाहरूले पनि राष्ट्रियसभाबाट डा. केसीका....

‘चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा संशोधन हुन नसक्ने भन्ने नियम छैन’

प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयक सोमबारको राष्ट्रियसभा बैठकमा पेश हुँदैछ । डा. केसीको अनसन १९ दिन भएको छ । नागरिक अगुवाहरूले पनि राष्ट्रियसभाबाट डा. केसीका मागलाई सम्बोधन गर्न माग गरेका छन् । यसै सन्दर्भमा सत्तारुढ नेकपा संसदीय दलका उपनेता रहेका नेम्वाङले काठमाडौंप्रेस डट कम सँग भने, ‘चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा संशोधन हुन नसक्ने भन्ने नियम छैन ।’ प्रस्तुत छ – माधव ढुङ्गेलले लिएको अन्तर्वार्ता ।

प्रधानमन्त्रीजी फर्किनुभयो । डा. गोविन्द केसीको बिग्रँदो स्वास्थ्य गम्भीर बन्दै गएको छ । अनसन तोडाउनेबारे के पहल हुँदैछ ?

डा. केसीको स्वास्थ्यका बारेमा सुरुदेखि नै हामीले चासो राखेका हौँ । त्यसैले उहाँका मागहरूको समेत सम्बोधनका बारेमा सुरुदेखि नै गम्भीरतापूर्वक काम गरेका हौँ । अहिले बाहिर गएर स्वयम् प्रधानमन्त्रीजी फर्कनुभएको छ । त्यसैले अहिलेको स्थितिका बारेमा उहाँलाई सबै कुरा अवगत छ । प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ । 

Hardik ivf

डा. केसीले यसपटक अनसन बस्न तपाईंकै गृहजिल्ला इलाम किन रोज्नु भयो ?

मैले पत्रकार साथीहरूसँग सुरुमै ठट्टा गर्दै भनेको थिएँ, ठट्टा गर्दागर्दै पनि म अलि गम्भीर पनि थिएँ । इलाम शायद् राम्रो मौसम भएको ठाउँ, जहाँ गर्मीमा साह्रै गर्मी पनि हुँदैन । जाडोमा साह्रै जाडो पनि छैन । त्यस्तो राम्रो ठाउँ भएकोले उहाँले माया गरेर नै जानुभो भन्ने मलाई लागेको हो । मैले त्यही भनेँ । 
तर, मैले एउटा कुरा चाहिँ सुरुदेखि नै भन्दै आएको छु – इलाममा त सदासर्वदा स्वागत छ, उहाँलाई । अनसन बस्नका लागि इलाम जाँदा चाहिँ उहाँको स्वास्थ्यलाई अप्ठेरो पर्नसक्छ । इलाममा त्यो तहको आईसीयु, सीसीयु नभएको हुनाले स्वास्थ्यको हिसाबले ठीक हुँदैन भन्ने मेरो प्रतिक्रिया थियो । उहाँहरू समक्ष मैले यो पुर्‍याएको पनि थिएँ तर त्यसतर्फ विचार पुग्न सकेन । म समेतकै पहलबाट रातिहुँदो उहाँलाई हेलिकप्टरबाट काठमाडौं ल्याउनुपर्‍यो । त्यसका लागि म दुःखीत छु । 

डा. केसीलाई रातारात हेलिकप्टरबाट काठमाडौं ल्याउन तपाईंकै पहल हो ?

अवश्य पनि थियो । सम्बन्धित मन्त्री गिरिराजमणि पोखरेलले मलाई जानकारी गराउनुभयो – साँझ । मैले नागरिक समाजबाट अलि–अलि थाहा पाएको थिएँ । तर, जब मन्त्रीले मलाई बताउनुभयो, मैले उहाँलाई सोधेँ – यो आधिकारिक हो कि हैन ? साँच्चै उहाँलाई काठमाडौं ल्याउनुपर्ने हो कि हैन ? म औपचारिक रूपमा लागौँ कि नलागौँ ? मन्त्रीजीले यो औपचारिक रूपमै हो भन्नुभयो – आधिकारिक हो, यसमा लाग्नुपर्यो । 

त्यसपछि मैले रक्षामन्त्रीजी (ईश्वर पोखरेल) सँग कुरा गरेँ । उहाँले तुरुन्त यसमा सकारात्मक जवाफ दिनुभयो । मलाई १५ मिनेटभित्रमा खबर गर्नुभयो – नेपाली सेनाको हेलिकप्टर अब जाने भयो तर इलाम चाहिँ जानसक्ने क्षमता छैन । भद्रपुर जान्छ । त्यसैले इलामबाट भद्रपुर एम्बुलेन्समा झार्नुपर्यो भनेपछि त्यही अनुसार खबर भयो । उहाँलाई हेलिकप्टरमा भद्रपुरबाट ल्याइयो । 

अहिले डा. केसीलाई के आग्रह गर्नुहुन्छ – सत्तारुढ दलको उपनेताको हैसियतमा ?

डा. केसीप्रति हामी सधैँ सकारात्मक छौँ । उहाँलाई हामी आदर गर्छौँ, म आदर गर्छु । उहाँका कुरालाई लिएर हामी राजनीति गर्दैनौँ, राजनीति गर्न चाहन्नौँ । यस्ता कुरामा राजनीति गर्न हुँदैन भन्ने हाम्रो मान्यता छ । त्यसैले म पहिले जसरी नै अहिले पनि भन्छु – उहाँसँग भएका सहमतिहरूलाई कार्यान्वयन गर्नका निम्ति हामीले राम्रो मेहनत गर्‍यौँ । उहाँका कुराहरूलाई नेपालको संसद्को इतिहासमा पहिलोपल्ट संसदमा प्रवेश गरायौँ । सत्तापक्षको प्रमुख सचेतक देव गुरूङ समेतले संशोधन राखेर उहाँसँगका सबै सहमतिलाई संसदमा प्रवेश गरायौँ, उहाँलाई निम्ता गर्‍यौँ । समिति र उपसमितिका बैठकहरूमा व्यापक छलफल गरेर त्यसका आधारमा विधेयक ल्यायौँ र परिमार्जनसहित पारित पनि गर्‍यौँ ।

सुरुमा सरकारले पेश गरेको विधेयक पूरै परिमार्जन भएको छ । यस्तो कहीँ पनि हुदैँन । त्यो हामीले गर्‍यौँ । संसद्ले उहाँको पक्षमा गर्‍यो । संसदबाट (प्रतिनिधिसभा) त्यो पारित भयो । अब राष्ट्रियसभाबाट पारित हुने प्रक्रियामा छ । त्यसैले अहिलेसम्म धेरै ठूलो उपलब्धि हासिल भएको छ । त्यसमा उहाँले खुशी मान्नुपर्छ । बाँकी रहेका केही कुराहरू छन् भने ती कुराहरूका हकमा छलफल गर्दै अगाडि जान सकिन्छ । एउटा निष्कर्षमा पुग्न सकिन्छ । म उहाँलाई आग्रह गर्छु– प्राप्त उपलब्धिलाई ग्रहण गरौँ । अन्य उपलब्धिहरू प्राप्त गर्न सल्लाह र छलफल गर्दै अगाडि बढौँ । 

‘डा गोविन्द केसीले सिङ्गो सार्वभौम संसद्लाई एक्लै हल्लाइरहेका छन् । त्यसमा प्रमुख प्रतिपक्षले राजनीति गरिरहेको छ’ भन्ने नेकपाको हिजोको मूल्याङ्कन विधेयक पारित भएपछि फेरियो कि उही छ ?

कसैमाथि म कुनै आरोप लगाउन त चाहन्न । यो संसदीय प्रणाली जसअन्तर्गत प्रतिनिधिसभा, राष्ट्रियसभा क्रियाशील छ । संघीय संसद् जो सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था हो । यो आफैँले  यी विविध विषयमा छलफल गर्छ । सिङ्गो देश र जनताको तर्फबाट काम गर्छ । यो संघीय संसद् आफ्नो ढङ्गले क्रियाशील भएर निष्कर्षमा पुग्ने काम गर्छ । यो प्रक्रियाको बीचमा हामीले धेरै मेहनत यति उपलब्धि हासिल गरेका छौँ भने आफ्नो विषयमा आफैँ छलफल गरेर निष्कर्षमा पुग्न संसदीय प्रणाली सक्षम छैन ? संघीय संसद् सक्षम छैन ? हामीले त्यसैका लागि लोकतान्त्रिक आन्दोलन गरेका हैनौँ ? यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ । त्यसैले एकातिर डा. केसी र उहाँले उठाएका मागका बारेमा, उहाँको स्वास्थ्य र ज्यानका बारेमा चिन्तित हुनुपर्छ । अर्कातिर हामीले लडेर, रगत र पसिना बगाएर स्थापित गरेको संसदीय प्रणाली कतै अप्ठेरोमा पर्छ कि भनेर पनि ध्यान पुर्‍याउनुपर्छ । यसतर्फ हामी सचेत छौँ ।

अब डा. केसीको अनसन कति लम्बिएला ?

अनसन यत्ति धेरै लम्बिनुपर्ने नै हैन । उहाँलाई अनसन नबस्नुस् भन्ने मेरो सार्वजनिक आग्रह नै हो । अब प्रतिनिधिसभाले एउटा टुङ्गोमा पुर्‍याएको छ । उहाँका धेरै मागलाई सम्बोधन गरेको छ । यस अवस्थामा अब यो धेरै लम्बिनु हुँदैन । यसलाई चाँडै निष्कर्षमा पुर्याउनुपर्छ ।

चिकित्सा शिक्षा विधेयक अब राष्ट्रियसभामा जान्छ । त्यहाँ संशोधन गरेर डा. केसीका बाँकी मागलाई सम्बोधन गर्न सकिन्न ?

राष्ट्रियसभा आफैँ सङ्घीय संसद्को एउटा महत्वपूर्ण सार्वभौम अङ्ग हो । त्यसले आफ्नै ढङ्गले सोचाइ राख्छ । त्यसैले यसै भनेर भन्न सक्दिनँ । तर राष्ट्रियसभाले यदि अहिलेकै प्रक्रियाअनुसार अगाडि जाने हो भने तुरुन्तै बैठक बसेर प्रतिनिधिसभाको प्रतिवेदनसहितको विधेयकलाई ग्रहण गरेर उसले पारित गर्ने प्रक्रियामा जानुपर्छ । त्यो राष्ट्रियसभाको आफ्नो कुरा हो ।

राष्ट्रियसभामा पनि संशोधन गरेर डा.केसीका बाँकी माग सम्बोधन गर्न सकिन्छ कि सकिँदैन ?

नियम बमोजिम हुन नसक्ने भन्ने हैन । तर, प्रतिनिधिसभाले जति व्यापक छलफल गर्यो । डा. केसी स्वयम्लाई संसदमै उपस्थित गराएर जति व्यापक ढङ्गले छलफल गर्‍यो – कुनै पनि विधेयकलाई लिएर यस्तो व्यापक छलफल भएकै छैन । त्यति छलफल गरेर यो निष्कर्षमा पुग्ने काम भएको हो । त्यसैले राष्ट्रियसभाले अब फेरि त्यसरी जान आवश्यक ठान्छ ठान्दैन त्यो उसको कुरा हो । मलाई के लाग्छ भने प्राप्त गरेको उपलब्धिलाई चाँडै संस्थागत गरिहालौँ । उहाँका नभएका कुराहरूलाई फेरि समेट्न छलफल गर्दै अगाडि बढौँ । यो चाहिँ तरिका राम्रो हुन्छ कि ? नत्र प्राप्त उपलब्धि पनि फेरि गुम्न जान्छ कि भन्ने मलाई चिन्ता छ । 

प्रकाशित मिति: १९:०२ बजे, आइतबार, माघ १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्