Kathmandu Press

काठमाडौंमा सर्पदंश बढ्यो, टेकुमा हरेक दिन १२ जनाको उपचार

काठमाडौं, असार ८ :  खोटाङको बुइपाबाट काम गर्न काठमाडौं आएका २१ वर्षीय मनोज राई गत सोमबार साँझ भक्तपुरको साँगामा चप्पल लगाएर साँघुरो बाटो हिँड्दै ....

काठमाडौंमा सर्पदंश बढ्यो, टेकुमा हरेक दिन १२ जनाको उपचार
काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, असार ८ :  खोटाङको बुइपाबाट काम गर्न काठमाडौं आएका २१ वर्षीय मनोज राई गत सोमबार साँझ भक्तपुरको साँगामा चप्पल लगाएर साँघुरो बाटो हिँड्दै थिए।

विपरीत दिशाबाट आइरहेको टिपरलाई बाटो छोड्न उनी सडक किनारमा उभिए। त्यही बेला उनलाई तीखो काँडाले दायाँ खुट्टाको पैतालामा च्वास्स घोचे झैं भयो।

उनले हत्त न पत्त मोबाइलको लाइट बालेर हेरे – औंला जत्रो सानो हरियो सर्प खुट्टाको छेउ हुँदै झाडीभित्र सलल पस्दै थियाे।  

कोठा पुग्दा खुट्टा झम्झम् पोल्न थाल्यो। भोलिपल्ट विहानै नजिकैको मेडिकलमा गए। मेडिकलले दुखाई कम गर्ने औषधी दिएर उनलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल अस्पताल जान सल्लाह दियो।   

गर्मीयाम सुरु भएपछि काठमाडौं उपत्यका र छेउछाउका पहाडी जिल्लामा पनि सर्पदंशको प्रकोप बढेको छ। टेकु अस्पतालमा अहिले हरेक दिन औसत १२ जना सर्पदंशका विरामी उपचार गर्न आइरहेका छन्। 

धेरै त औषधि लिएर फर्कन्छन्। कतिपय भने अस्पताल नै भर्ना हुनुपर्ने हुन्छ। पछिल्लो तीन महिनामा ६५ जना सर्पदंशका विरामी बेडमै भर्ना भएको टेकु अस्पतालले जनाएको छ। 

सर्पले टोकेपछि उपचारका लागि टेकु अस्पताल पुगेका मनोज राई। तस्वीरः इन्द्रसरा खड्का

उपचार केन्द्रको अभाव 

काठमाडौं, ललितपुर र भक्तपुरका मात्र होइनन्, नुवाकोट, धादिङ र काभ्रेका मानिस पनि सर्पदंशको उपचार गर्न टेकु अस्पताल नै पुग्नुपर्ने बाध्यता छ। 

सर्पदंशको उपचारका लागि कम्तीमा एक सातासम्म लगातार रगत जाँच गर्नुपर्छ।  यसले गर्दा टाढाबाट काठमाडौं आउनेहरूलाई समस्या हुने गरेको छ। पहाडी क्षेत्रका सर्प विषालु हुँदैनन् भन्ने धारणा जनमानसमा व्याप्त भएकोले कतिपय मानिस सर्पले टोके पनि काठमाडौं नआउने गरेको टेकु अस्पतालका डा. शेरबहादुर पुनले बताए। 

अनुमानमा उपचार

सर्पले टोकेका बिरामीले सर्प चिन्न सकेमा उपचार गर्न सहज हुन्छ। यो सर्पले टोकेको हो भनेर बिरामीले भन्न सके त्यही अनुसारको एन्टीभेनम दिन सहज हने चिकित्सकहरू बताउँछन्। 

तर, टेकु अस्पतालमा भने यो सर्पले टोकेको हुन सक्ला भन्ने आधारमा उपचार गर्ने गरिएको चिकित्सकहरू बताउँछन्।

पहाडमा प्रायः हर्रो सर्पमात्र पाइने भएकाले त्यही सर्पले टोकेको अनुमानका आधारमा उपचार गरिने डा. पुन बताउँछन्। पहाडमा पाइने हर्रो सर्पले टोकेमा रगत पातलो हुदै जान्छ। कसैमा भने यो सर्पले टोक्ने बित्तिकै रगत पातलो हुन्छ। तर, उपचारपछि भने निको हुने गरेको डा. अनुप बास्तोला बताउँछन्।

पहाडका सर्पले टोकेमा विष लाग्दैन भनिए पनि नशामै सर्पको दाँत पर्‍यो भने पक्षघात हुने सम्भावना धेरै हुने चिकित्सकहरू बताउँछन्। 

पहाडमा पनि विषालु सर्प 

पछिल्लो समय पहाडी क्षेत्रमा पनि निकै गर्मी हुन थालेको छ, जसकारण पहाडी क्षेत्रमा पनि विषालु सर्पहरू देखा पर्न थालेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.सञ्जीवकुमार शर्मा बताउँछन्।

सर्पको अध्ययनमा रुचि राख्ने र सर्पसम्बन्धी चित्रात्मक किताबहरू पनि प्रकाशित गरेका डा. शर्मा पहाडी क्षेत्रमा पनि विषालु सर्प देखा पर्न थालेकाले उपचारमा लापरबाही नगर्न सुझाव दिन्छन्। 

तराईबाट काठ लिएर पहाडी सहर जाने गाडीमा लुकेर पनि तराईका विषालु सर्प काठमाडौं उपत्यका पुग्ने गरेको पाइएको डा. शर्मा बताउँछन्। 

नेपालमा वर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्ने गरेको इपिडियोमोलोजि रोग नियन्त्रण महाशाखाले जनाएको छ। 
 

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, असार ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्