Kathmandu Press

प्यालेस्टाइनको नेतृत्वमा हमास रहेसम्म गाजामा सम्मानपूर्ण जीवन असम्भव

गत साता इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्ध सुरु भएयता अमेरिकी राष्ट्रपति जो बाइडेनले राम्रो चाल चलेका छन्। उनको प्रशासनले दुई देशबीच...
प्यालेस्टाइनको नेतृत्वमा हमास रहेसम्म गाजामा सम्मानपूर्ण जीवन असम्भव
Hardik ivfHardik ivf

गत साता इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्ध सुरु भएयता अमेरिकी राष्ट्रपति जो बाइडेनले राम्रो चाल चलेका छन्। उनको प्रशासनले दुई देशबीच युद्धविराम गर्ने आशाका साथ आफ्नो उच्चस्तरीय कूटनीति प्रयोग गर्यो‍। आफ्नो मुलुक र जनताको रक्षा गर्ने इजरायलको अधिकारको भने अमेरिकाले खुलेर समर्थन गरेको छ।

गत बुधबार राष्ट्रपति बाइडेनले इजरायली सरकारमाथि नम्रताका साथ दबाब बढाउँदै २४ घण्टाभित्र युद्धविरामका लागि प्रेरित गरे। तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनी अहिलेका लागि हमास समूहविरुद्ध जारी कारवाही रोक्ने पक्षमा नरहेको जवाफ दिएका थिए।

युद्धविराम अवश्य अपरिहार्य थियो। हमास र इजरायलबीचका अन्तिम तीनवटा युद्ध यसरी नै समाप्त भएका थिए। तर, जब इजरायलको अन्त्य गर्ने आफ्नो लडाइँको अन्त्यहीन शृंखलामा जुटेको हमासले क्षेप्यास्त्रहरूको आपूर्तिमा मात्र आफूलाई केन्द्रित राख्नेछ, यो युद्धविराम पनि अर्को युद्धको तयारी मात्र हुनेछ।

तत्काल गाजाबाट हमास समूहलाई हटाउन सक्ने स्थितिमा छैन, इजरायल। इजरायलसँग सैन्य शक्ति छ तर सन् २००५मा एकपक्षीय ढंगले खाली गरेको भूमि पुनः कब्जा गर्ने विषयमा कुनै राजनीतिक इच्छाशक्ति इजरायलसँग देखिँदैन। त्यसकारण इजरायलले लामो समयसम्म शान्त युद्ध लडिरहेको छ र भविष्यको सम्भावित युद्धको तयारी पनि गरिरहेको छ।

इजरायली रणनीतिको त्यस सीमितताले अमेरिकी कूटनीतिलाई बाधा पु¥याउँदैन। बाइडेन प्रशासनले कसरी हमास समूहलाई गाजाबाट हटाउन सकिन्छ भन्ने विषयमा रचनात्मकता अपनाउनु आवश्यक देखिन्छ। यो केवल इजरायलका लागि मात्र प्राथमिकताको विषय होइन, प्यालेस्टाइनका नागरिकका लागि पनि समृद्धि र आत्मसम्मान प्राप्त गर्न यो आधार आवश्यक छ।

गाजा क्षेत्रमा बसोबास गर्ने प्यालेस्टिनी नागरिकहरू हमास समूहको बन्धकझैँ छन्। अमेरिकी राष्ट्रपति बाइडेनले प्यालेस्टिनी नागरिकलाई स्वतन्त्रता दिने उद्देश्यले रणनीति बनाउनु आवश्यक देखिन्छ।

युद्धविरामपछि पहिलो कदम भनेकै वार्ता हो। अमेरिकी पूर्वविदेशमन्त्री जोन केरीले गरेको गल्ती दोहोरिने जोखिमट बाइडेन प्रशासन सजग रहनुपर्छ, जसले सन् २०१६ मा कतार र टर्कीजस्ता हमासका संरक्षक मुलुकसँग वार्ताको प्रयत्न गरेका थिए। बाइडेनले मुख्यतया युद्धविरामका लागि वार्ता गराउन इजिप्टसँग सहकार्य गर्नुपर्छ, जसको नेतालाई हमासजस्ता इस्लामी विद्रोही समूहप्रति कुनै प्रेम छैन र इजरायलसँग राम्रो सम्बन्ध पनि छ।

बाइडेन प्रशासनले गाजाका लागि कुनै पनि पुनर्निर्माण सहायता दिँदा हमास समूहलाई पूर्ण रूपमा ‘बाइपास’ गर्न माग गर्नुपर्छ। वेस्ट बैंकमा प्यालिस्टिनी निकायहरूलाई सहायता उपलब्ध गराउँदा त्यसको कत्ति पनि हिस्सा हमासको हातमा पर्न नहुने शर्त राखिनुपर्छ। तथापि, गाजाका बासिन्दाका लागि यस्तो सहायतको सख्त जरुरत छ।

यस्तै, बाइडेन प्रशासनले संयुक्त राष्ट्रसंघीय रिलिफ एन्ड वर्क एजेन्सीका लागि अमेरिकी सहयोग नवीकरण गर्ने आफ्नो निर्णयप्रति पनि पुनर्विचार गर्नु आवश्यक छ। सन् २००७ मा हमासले गाजामाथि कब्जा गरेयता उक्त एजेन्सीले गाजामा स्थानीय सरकारको अनौपचारिक सहयोगीको रूपमा काम गरिरहेको छ। कम्तिमा अमेरिकी सहयोग प्राप्त गर्न यसको पेरोलबाट हमासलाई हटाउउनुपर्ने माग बाइडेन प्रशासनले अगाडि सार्नुपर्छ।

यस्तै, बाइडेन प्रशासनले प्यालेस्टिनी नागरिक समाज र चुनावी राजनीतिलाई पुनर्जीवित गर्न प्रयास थाल्नुपर्छ। सन् २००६ यता प्यालेस्टाइनमा चुनाव भएको छैन। गत महिना प्यालेस्टाइनका ८० वर्षीय नेता महमुद अब्बासले अमेरिका र युरोपको कुनै विरोधविनै निर्धारित चुनाव रद्द गरेका थिए। अब्बासको कार्यकाल सकिन केही वर्ष बाँकी छ। अब बाइडेन प्रशासनले उनको कार्यकाल सकिनै लाग्दा प्यालेस्टाइनमा फेरि चुनाव हुने वातावरण तयार गर्नु आवश्यक छ।

प्यालेस्टिनी नागरिकका लागि हमासलाई परास्त गर्ने एक मात्र चिरस्थायी तरीका भनेको त्यस समूहमाथि चुनावमा जित हासिल गर्नु हो। यो पक्कै पनि गाह्रो काम हुनेछ। तर, हमास समूहलाई चुनावमा हराउन सकिन्छ भन्ने कुरा अकल्पनीय छैन। अहिले जारी द्वन्द्व सुरु हुनुअघि गत मार्चमा ‘प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्वे रिसर्च’ले गरेको एक अध्ययनमा ३० प्रतिशत प्यालेस्टिनी नागरिक मात्र अर्को चुनावमा हमासलाई मतदान गर्ने पक्षमा देखिएका थिए।

‘वासिङ्गटन इन्स्टिच्युट फर नियर इस्ट पोलिसी’का शोधकर्ता गैठ अल ओमारीले युवा र सिर्जनशील नेतालाई मौका दिने प्यालेस्टाइनको धर्मनिरपेक्ष पार्टी फतहभित्र खुला चुनावलाई समर्थन गर्ने उल्लेख गरेका छन्। महमुद अब्बासले आफ्नो कार्यकालमा केही हदसम्म आफ्ना विरोधीलाई पाखा लगाइसकेका छन्।

लामो समयदेखि अमेरिकाले प्यालेस्टाइनमा प्रजातन्त्रको मुद्दालाई बेवास्ता गर्दै आएको छ। जर्ज डब्लू बुस अन्तिम राष्ट्रपति थिए, जसले यसलाई प्राथमिकताको उचाइ दिएका थिए। यो कदमलाई असफलताका रूपमा विश्लेषण गरिएको छ किनकि उनले हमास समूहको निशस्त्रीकरणको मुद्दालाई थाती राखेर सन् २००६ को वैधानिक चुनावमा भाग लिन अनुमति दिएका थिए। त्यो एक गल्ती थियो।

तर, जबसम्म प्यालेस्टिनी नागरिकले आफ्ना नेताहरूलाई उत्तरदायी बनाउँदैनन्, तबसम्म इजरायलसँगको शान्ति सम्झौता सम्भव छैन भन्ने बुसको तर्क भने सही थियो। त्यसैले, जबसम्म प्यालेस्टिनी नागरिकको नेतृत्व हमास समूहको हातमा छ, तबसम्म गाजाका लागि कुनै आत्मसम्मानपूर्ण जीवनको कल्पना गर्न गाह्रो छ।

(ब्लुमबर्ग डट कमबाट)
 

प्रकाशित मिति: ०६:३० बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्