१३ अस्पताललाई १७ करोड ८७ लाख दिने अर्थको सहमति, सहमति रकम साढे ५ अर्ब नाघ्यो
काठमाडौं, जेठ ७ : अर्थ मन्त्रालयले शुक्रबार थप १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयु जडानका लागि १७ करोड ८७ लाख रुपैयाँको...
काठमाडौं, जेठ ७ : अर्थ मन्त्रालयले शुक्रबार थप १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयु जडानका लागि १७ करोड ८७ लाख रुपैयाँको सहमति दिएको छ । योसँगै यसै साता मात्र अस्पतालहरुका लागि सहमति दिइएको रकम ५ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले जिल्ला तथा प्रादेशिक अस्पतालहरुलाई स्वास्थ्य उपकरण जडान गर्न रकम दिइरहेको छ। केन्द्रीय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न रकम उपयोग गरिनेछ।
शुक्रबार भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ बराबरको सहमति दिइएको मन्त्रालयले जनाएको छ।
त्यस्तै डोटी अस्पतालका लागि ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्य विनायक अस्पतालका लागि ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख रुपैयाँ दिने सहमति गरेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले यसअघि २६ वटा केन्द्रीय र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो। त्यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको थियो । अन्य विभिन्न जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट निर्माणका लागि पनि मन्त्रालयले १६ करोड ८० लाख रुपैयाँको सहमति दिएको थियो ।
विभिन्न अस्पतालहरुमा अक्सिन प्लान्ट स्थापना तथा एचडीयु थप गर्न ८५ करोड ९३ लाख रुपैयाँको सहमति दिएको बताइएको छ।




-1790252522.jpg)






