भारत भ्रमणमा प्रधानमन्त्रीले संवेदनशील विषय उठाएनन् : भीम रावल
उनले सन् १९५० को असमान सन्धि पुनरवलोकनका विषयमा विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणमा कुरा राख्ने गरेको र उसले समेत स्वीकारेको स्मरण गराए । यसपटक प्रधानमन्त्री शाहले उक्त विषय प्रवेश नै नगराएको उनले आरोप लगाए ।
काठमाडाैं, मंसिर १० : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर आलोचना गरेका छन् । प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाएको भन्दै उनले आलोचना गरेका हुन् ।
बिहीबार (मंसिर १०) काठमाडौँमा आयोजित एक कार्यक्रममा रावलले २००७ सालपछि बाह्यशक्तिको चलखेलका कारण नेपाल प्रयोगशालाजस्तो बन्दै आएको टिप्पणी गरे ।
उनले सन् १९५० को असमान सन्धि पुनरवलोकनका विषयमा विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणमा कुरा राख्ने गरेको र उसले समेत स्वीकारेको स्मरण गराए । यसपटक प्रधानमन्त्री शाहले उक्त विषय प्रवेश नै नगराएको उनले आरोप लगाए ।
प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतले नबुझ्ने भनिसकेको सन्दर्भ उल्लेख गर्दै रावलले यसको कारणबारे नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट पार्नुपर्ने माग गरे ।
उनले भारतीय वस्तु बेरोकतोक नेपाल भित्रिने तर नेपाली चिया, जुटलगायत उत्पादनले भारत प्रवेश पाउन अनेक झन्झट व्यहोर्नुपरेको बताए । भ्रमणका क्रममा यस्ता व्यापारिक अवरोध हटाउन कुनै समाधान नखोजिएको उनको भनाइ थियो ।
भारतबाट साढे दुई खर्ब सहयोग प्राप्त भएको प्रचार गरिए पनि त्यसमा ५६ अर्ब रुपैयाँ मात्र अनुदान रहेको र बाँकी सबै ऋण भएको उनले उल्लेख गरे ।
सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानीजस्ता अतिक्रमित भूभागबारे विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणमा कुरा उठाउने गरेको तर यसपालि प्रधानमन्त्री शाह मौन बसेको उनले बताए ।
नेता रावलले प्रहरी, कर्मचारी र कृषि क्षेत्रमा भारतले तालिम दिने गरी सम्झौता गरिएको भन्दै विरोध जनाए ।



