प्राचीन सहर जेरुसलेम : जहाँ ३००० वर्षदेखि आजसम्म युद्ध र झडप चलिरहेछ
१० मेको झडपमा एक ऐतिहासिक कहानी छ । त्यस दिन ‘यहुदी नेसनालिस्ट’ले एक मार्च निकाल्न लागेको थियो । जुन मार्च त्यो जितको उत्सव हो, जतिबेला (सन् १९६७ मा) इजरायलले जेरुसलेमको केही भागमा कब्जा जमाएको थियो ।
यतिखेर इजरायल र प्यालेस्टिनीबीच आक्रमण प्रत्याक्रमण चलिरहेको छ, यसको जगमा आ–आफ्नो राष्ट्र र धर्मको अस्तित्वको सवाल छ।
अहिलेको संघर्ष पनि यहाँको अति प्राचीन सहर जेरुसलमबाटै सुरु भएको छ । समाचार अनुसार, जेरुसलेमा रहेको अल–अक्सा मस्जिदमा प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच सोमबार (१० मेमा) झडप भएको थियो । त्यही झडप बमबारीमा बदलिएको बताइएको छ ।
सोमबारको झडपमा एक ऐतिहासिक कहानी छ । त्यस दिन ‘यहुदी नेसनालिस्ट’ले एक मार्च निकाल्ने फैसला गरेको थियो । जुन मार्च त्यो जितको उत्सव हो, जतिबेला (सन् १९६७ मा) इजरायलले जेरुसलेमको केही भागमा कब्जा जमाएको थियो । त्यो भाग अझै पनि इजरायलको कब्जामा छ । यही जितलाई लिएर इजरायलले ‘राष्ट्रवादी मार्च’को आयोजना गरिरहेको थियो । यही मार्चमा प्यालेस्टिनी चरमपन्थीले हमला गरेको र हिंसा भड्केको बताइएको छ ।
यद्यपि, प्यालेस्टाइन र इजरायलको संघर्ष पहिलो विश्वयुद्धपछि देखिँदै आएको हो । तर, इतिहास प्रागैतिहास खोतल्दा यस भूमिका लागि भएको युद्ध र संघर्ष करिब तीन हजार वर्ष पुरानो मानिन्छ । किनभने यस भूमिमा संसारका प्रमुख धर्ममध्येका यहुदी, इसाई र इस्लाम धर्मका मानिसले मान्ने ‘भगवानका दूत’ अर्थात् अब्राहमको जन्म भएको थियो ।
यहुदी धर्म ग्रन्थका अनुसार आजभन्दा चार हजार वर्षअघि जेरुसलेममा तेराह नामका व्यक्तिको जन्म भएको मानिन्छ । उनको समयलाई विकिपेडियाले इसापूर्व २२००–२१७० मानेको छ ।
यो पनि पढ्नुहोस् :
कसरी सुरु भयो इजरायल–प्यालेस्टाइन द्वन्द्व ?
तराहका छोरामध्ये एक थिए, अब्राहम । अब्राहमलाई भगवान् यहोवा (अंग्रेजीमा जेरोभा, जसलाई यहुदीले भगवान् मान्छन्) ले दर्शन दिए र भने, ‘तिम्रो वंश ताराजस्तै अनगिन्ती हुनेछन् र तिम्रो नाम अब्राहम (इब्राहिम) हुनेछ ।’
अब्राहमका नाति याकुब (अंग्रेजीमा ज्याकोब) लाई इजरायल पनि भनिन्थ्यो । याकुबका १२ छोरामध्ये एकको नाम यहुदा थियो, यिनकै नामबाट यहुदी जातिको नाम रहन गयो । यिनीहरूको भाषा हिब्रु हो । यसरी यहुदी राज्य अस्तित्वमा आएको थियो । यस राज्यमा अब्राहमका पुस्ता दरपुस्ता राजा डेभिड, राजा सोलोमनले शासन गरे । इसापूर्व १०औँ शताब्दीतिर जेरुसलेममा सोलोमनले एक मन्दिर बनाएका थिए । राजा सोलोमनको शासनपछि यस राज्यको बिस्तारै पतन हुन थाल्यो । पछि इसापूर्वको छैटौँ शताब्दी आएर बेबिलोनका शासकको आक्रमणबाट सोलोमनको मन्दिरमाथि तोडफोड भयो ।
इतिहासदेखिका विभिन्न आक्रमणका कारण यहाँका यहुदी विभिन्न स्थानमा विस्थापित हुन पुगे ।
पहिलो विश्वयुद्ध हुनुअघि संसारमा राष्ट्रवादी भावना विकसित हुन थाल्छ । यही क्रममा यहुदीहरू आफ्नो पुरानो थलो इजरायल फर्कन चाहन्छन् । राष्ट्रवादी भावनाका कारण विभिन्न देशमा यहुदीहरूमाथि विभिन्न प्रताडना दिइन्छ । दोस्रो विश्वयुद्धका क्रममा त हिटलर यहुदीमाथि नरसंहार गरेको बताइन्छ ।
प्रथम विश्वयुद्ध सकिनुभन्दा ६०० वर्ष अघिदेखि मध्य पूर्व क्षेत्रमा अटोमन साम्राज्य थियो, त्यही साम्राज्यमा प्यालेस्टाइन देश थियो । प्रथम विश्वयुद्धका बेला ब्रिटिसले यहुदीहरूलाई प्यालेस्टाइनमा ‘राष्ट्रिय घर दिने’ घोषणा गर्यो, जसलाई ‘बालफोर डिक्लियरेसन’ भनिन्छ । त्यसपछि विश्वका यहुदी प्यालेस्टाइनमा आउन थाले र त्यहाँ उनीहरूको संख्या बढ्दै गयो । र, प्यालेस्टिनी र यहुदीबीच संघर्ष हुन थाल्यो।
यस संघर्षलाई मिलाउन सन् १९४७ देखि यहाँ युनाइटेड नेसन (युएन) छिर्यो । युएनकै भूमिकामा यहाँ इजरायल र प्यालेस्टाइन देश बन्ने प्रक्रिया सुरु भयो ।
यसरी प्यालेस्टाइन अरब र यहुदी राज्य गरी यस क्षेत्र दुई हिस्सामा बाँडियो । यहुदीको आवादी बढी भएको क्षेत्र इजरायलले पाएको थियो।
तर, जेरुसलेममा भने ठूलो समस्या थियो, यहाँ आधा जनसंख्या मुस्लिम र आधा जनसंख्या यहुदीको थियो । त्यसैले यस सहरलाई अन्तर्राष्ट्रिय रुपमा नियन्त्रणमा राख्ने फैसला युएनले लियो ।
आधाआधा जस्तो हिस्सा बाँडिएपछि अरबी देशले इजरायलमा हमला गरे । यसरी पहिलो अरब–इजरायल युद्ध भयो, सन् १९४८–४९ मा। यसपछि पनि केही युद्ध भए ।
अहिले जेरुसलेमलाई इजरायलले आफ्नो राजधानी बनाएको छ, तर यसलाई संसारका सबै देशले स्वीकृति दिएको अवस्था होइन । किनभने इजरायल विशेषतः यहुदीहरूको देश हो, तर जेरुसलेममा तीन धर्मका थुप्रै प्राचीन स्मारक छन् ।
प्राचीन सभ्यता भएकाले र तीन धर्मको पवित्र भूमि भएकाले यहाँ प्राचीन कालदेखि नै युद्ध धर्मयुद्ध हुँदै आएको पाइन्छ ।
जेरुसलेमको केन्द्रबिन्दुमा प्राचीन सहर छ, जसलाई ‘वल्ड सिटी’ भनिन्छ । यहाँ चर्च अफ् ‘द होली सेपुल्क’ अर्थात् पवित्र समाधि स्थल छ। यो संसारभरका इसाइको आस्थाको केन्द्र हो । यही ठाउँमा जिसस क्राइस्टलाई सुलीमा चढाइएको पनि मानिन्छ ।
यहाँ इस्लामहरूको अल अक्सा मस्जिद पनि रहेको छ । यसलाई इस्लामहरूको मक्का र मदिना पछिको तेस्रो पवित्र स्थल मानिन्छ ।
मुसमानहरूको विश्वास छ कि आफूहरूको धर्मका संस्थापक मुहम्मदले मक्कादेखि यहाँसम्म एक रातमा यात्रा गरेका थिए । अल अक्सा मस्जिददेखि नजिकै ‘डोम अफ द रक्स’को पवित्र स्थल छ । मानिन्छ कि पैगम्बर मुहम्मदले यहीँबाट स्वर्गको यात्रा गरेका थिए । यस स्थानमा हर दिन हजारौँको संख्यामा मुसलमान आउँछन् र प्रार्थना गर्छन् । रमजानको महिनामा यहाँ सबैभन्दा बढी मुसलमान आउँछन्।
मस्जिदको पश्चिमतिर ‘वेस्ट्रन वाल’ (पश्चिम पर्खाल) रहेको छ, यो यहुदीहरूको आस्थाको केन्द्र हो । यहुदीहरूले आफूहरूको पहिलो मन्दिर यसै स्थानमा रहेको मान्दछन् । यस पर्खाललाई उनीहरूले सोलोमनको मन्दिरको शेष पनि मान्दछन् ।
यसरी प्राचीन सहर जेरुसलेमले तीन धर्मावलम्बीलाई जोडेको मात्रै छैन, फुटाएको पनि छ ।
– एजेन्सीको सहयोगमा











