Kathmandu Press

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

दाङ, वैशाख २२ : विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ। 

कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो। उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेलसहितको मंगलबार बसेको बैठकले दाङ अक्सिजन प्रालिमा तत्काल विद्युत् जोड्ने निर्णय गरेको छ। 

छ वर्ष पहिले अक्सिजन उद्योग स्थापना भए पनि विद्युत् भरपर्दो नहुँदा उत्पादन बन्द भएको थियो। जटिलावस्थामा रहेका कोरोना संङ्क्रमितलाई वायुप्राण अर्थात् अक्सिजनको अत्यधिक माग रहेका समयमा सरोकार निकायले यस्तो निर्णय गरेको हो।

विसं २०७३ मा खुलेको दाङ अक्सिजन उद्योग प्रालिसँग दैनिक दुई सय  सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता रहेको उद्योगका व्यवस्थापक भरत पौडेलले बताए। विद्युत् नियमित भए अहिले पनि दैनिक १५० सिलिण्डर भर्न सक्ने उनको भनाइ थियो।

विद्युत् नियमित र भरपर्दो बनाउन सके यो संकटको सामना सहजै गर्न र बिरामीको ज्यान बचाउन सकिने पौडेलले बताए। उद्योगका लागि छुट्टै फिडरको व्यवस्था भए चौबीसै घण्टा अक्सिजन उत्पादन गर्न सकिने उनको भनाइ थियो।

कोरोना संक्रमितका लागि जिल्लामा दैनिक एक हजार सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले दैनिक चार सय अक्सिजन सिलिण्डर अपुग हुने गरेको छ। पालिकाले बनाएका आइसोलेशन सेन्टर र अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव छ। कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो चार दिनदेखि अक्सिजनको अभाव छ। त्यहाँ नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता छ।
 

प्रकाशित मिति: १३:२४ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्