अनलाइनमार्फत पत्रकार महिलामाथि हिंसाको निकृष्ट चित्र
फिलिपिन्सकी खोज पत्रकार मारिया रेसाले हालै युनेस्कोको गुलेर्मो क्यानो पुरस्कार जितिन् । यो पुरस्कार जोखिमपूर्ण प्रेस स्वतन्त्रताका लागि जोखिमपूर्ण काम गर्ने पत्रकारलाई प्रदान...फिलिपिन्सकी खोज पत्रकार मारिया रेसाले हालै युनेस्कोको गुलेर्मो क्यानो पुरस्कार जितिन् । यो पुरस्कार जोखिमपूर्ण प्रेस स्वतन्त्रताका लागि जोखिमपूर्ण काम गर्ने पत्रकारलाई प्रदान गरिन्छ । खोज पत्रकार रेसा हरेक दिन व्यक्तिगत सुरक्षाको जोखिम मोल्छिन् । किनकि, उनी तथ्यहरू पछ्याउँछिन् र शक्तिशाली व्यक्तिलाई जवाफ दिन बाध्य बनाउँछिन् । उनी प्रायः अनलाइन माध्यमबाट आक्रमणमा पर्छिन् । उनले सन् २०१६ मा एक घण्टामै ९० घृणित सन्देशहरू अनलाइनमार्फत पाएकी थिइन्, तीमध्ये धेरै महिला हिंसा र जातीय भेदभावसँग सम्बन्धित थिए ।
अनलाइनमार्फत हिंसा बेहोर्ने मारिया एक्ली पत्रकार होइनन् । संसारका जुनसुकै कुनाका पत्रकार महिलाले दैनिक यस्तै हिंसाको सामना गर्नुपर्छ । सन् २०१४ मा युनेस्कोको सर्वेक्षणमा सहभागी पत्रकार महिलाहरूको २३ प्रतिशतले उनीहरूलाई कामको सम्बन्धमा अनलाइन धम्की, डर देखाउने र अपमान गरिने बताएका थिए । डिसेम्बर २०२० सम्ममा यसको आँकडा ७३ प्रतिशत पुगेको छ । अर्थात्, यस्तो हिँसा घट्दो होइन, बढ्दो क्रममा छ ।
युनेस्कोको कार्यक्षेत्र रहेका एक सय २० भन्दा बढी मुलुकका पत्रकार महिलाहरूले अहिले आफूमाथि हुने गरेको हिंसा खुलेर बताउन सक्छन् । खासगरी, इन्टरनेसनल सेन्टर फर जर्नालिस्ट (आईसीएफजे)सँगको सहकार्यमा यो व्यवस्था मिलाइएको छ । ती पत्रकार महिला बीबीसी, सीएनएन, अलजजिरा, द गार्जियन तथा अन्य राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममा काम गर्छन् ।
यो अध्ययनबाट पत्रकार महिलामाथि शारीरिक हिंसा, बलात्कार, अपहरण र सामाजिक सञ्जालमा उनीहरूको ठेगाना, पहिचान, व्यक्तिगत जानकारी प्रकाशित गर्ने धम्की दिइन्छ । फोटोसपको दुरुपयोग गर्दै यौनजन्य हिंसा गरिन्छ । उनीहरूका सहकर्मीलाई फोटोसपमार्फत तयार पारिएका अश्लील तस्बिर पठाइन्छ । कतिपय पत्रकार महिलाका श्रीमान् र छोराछोरीलाई समेत प्रत्यक्ष धम्की दिइन्छ । अध्ययनमा सहभागी एक चौथाइ पत्रकार महिलाले तनावबाट मुक्त हुन मनोचिकित्सककै परामर्श लिनुपरेको फेला परेको छ । तीमध्ये केही पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) को समस्याबाट पीडित पाइएका छन् ।
अनलाइन हिंसासहित उनीहरूमाथि आक्रमण र उत्पीडन गरिएको पनि पाइएको छ । कतिपयलाई इमेल र सामाजिक सञ्जालमार्फत ट्रोलको शिकार बनाइएको छ । उनीहरूलाई मौखिक दुव्र्यवहार मात्र होइन, भौतिक आक्रमण नै गरिएको थियो । यो सर्वेक्षणमा सहभागी आधाभन्दा बढी पत्रकार महिला अरबी मुलुकका थिए । माल्टाकी स्वर्गीय पत्रकार डाफ्ने कारुआना गलिजियाको कार विस्फोटमा मृत्यु हुनुभन्दा पहिले उनलाई बोक्सीको रूपमा जलाइने भन्दै अनलाइनमा धम्की दिइएको थियो ।
यस्ता हिंसा किन हुन्छन् ? जवाफ आउँछ– विवादास्पद प्रकरणहरूको रिपोर्टिङ गर्न रोक्न सके त्यस्ता प्रकरण गुपचुप राख्न मद्दत पुग्छ । र, त्यस्ता प्रकरण खोतल्न हतोत्साही बनाउन पीडक पक्षले हिंसाको सहारा लिन्छ ।
सर्वेक्षणमा सहभागी ३० प्रतिशत पत्रकार महिलाले सामाजिक सञ्जालमा आफ्नो जानकारीलाई सेन्सर गरेको बताएका छन् भने ३८ प्रतिशतले चुपचाप बस्नमै आफ्नो सुरक्षा ठानेका छन् । केही पत्रकार महिलाले कम खतरा भएको बिटमा रिर्पोटिङ गर्न थाले भने केहीले पत्रकारिता नै छोडे वा बसाइँ सरेर अन्यत्रै पलायन भए ।
भरखरै पत्रकारितामा बामे सर्दै गरेको युवा पुस्ताका पत्रकार महिलाका लागि आफू महिला भएकै कारण यस पेशामा अगाडि बढ्न नसक्ने ठम्याइमा पुगको पाइएको छ । कलिलो उमेरमै उनीहरू यो क्षेत्रप्रति निराश बनिसकेका छन् ।
अनलाइन हिंसाले अभिव्यक्ति स्वतन्त्रतामा निकै ठूलो पर्खाल खडा गर्दैछ । यसले खोज पत्रकारिता र जनविश्वासलाई कमजोर बनाउँदैछ । सञ्चार माध्यममा विविधतासहितको प्रगतिको गतिलाई पछाडि धकेलिरहेको छ ।
अधिकांश पत्रकार महिलालाई लक्ष्य गरेर हिंसा हुने गरेको छ । त्यसमाथि अश्वेत, यहुदी, समलिंगी र उभयलिंगी महिलालाई निरन्तर हमला हुने गरेको पत्ता लागेको छ । सञ्चार माध्यमले बहसका सबै पक्षलाई उजागर गर्छ । यदि हामीले सञ्चार माध्यमबाट पत्रकारकै आवाज बन्द गरायौँ भने वास्तविक सार्वजनिक बहस आफैँ पतन हुनेछ ।
महिलामाथि हिंसा हुने शताब्दीऔँ पुरानो नियती रातारात हटाउन सकिँदैन । तर, हामीले सामाजिक सञ्जाल कम्पनीहरूलाई बढी उत्तरदायी बनाउनु आवश्यक छ र उनीहरूले अनलाइनमा घृणाजनक र गलत जानकारी फैलाउने कुरा रोक्न आफैँले भूमिका वहन गर्नुपर्छ । किनकि, म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको अध्ययनलाई आधार मान्दा अनलाइनमा झूटा समाचार वास्तविकभन्दा ६ गुणा छिटो फैलिन्छन् ।
साथै, सामाजिक सञ्जाल कम्पनीहरूले अपमान वा दुरुपयोगको रिपोर्ट र सामग्री हटाउन गरिएको अनुरोधलाई कति छिटो ‘रेस्पोन्स’ गर्छन् र पारदर्शिता अपनाउँछन् भन्ने पनि महत्त्वपूर्ण हुन्छ । (लेखक युनेस्कोको अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकार सुरक्षा विभाग प्रमुख हुन् ।) - अलजजिराबाट