बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु, अवैध आवागमन रोक्न सुरक्षा सक्रियता
काठमाडौं, वैशाख १७ : बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा...
काठमाडौं, वैशाख १७ : बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।
यसैगरी बाँकेमा उपचारका लागि आउनुभएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११ जनाको मृत्यु भएको छ ।
यसैबीच, बाँकेमा ग्रामीण नाकाबाट हुने अवैध आवागमन रोक्न प्रहरी, प्रशासनले सुरक्षा सक्रियता देखाएको छ । कोरोना महामारी सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत मुख्यनाका जमुनाहमा आवतजावतमा कडाइ गरेपछि ग्रामीण नाकाबाट हुने गरेको आवागमन रोक्न सुरक्षाकर्मीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले भारतमा कोरोना सङ्क्रमण अनियन्त्रित भएकाले त्यसको जोखिम कम गर्न भारत आवागमनमा रोक लगाइएको बताए ।











-1790332718.jpg)