पेनाल्टी चुकाउँदा ललितपुर जितबाट वञ्जित
काठमाडौं, वैशाख १६ : पहिलो हाफमै प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा ललितपुर सिटी एफसी नेपाल सुपर लिगमा जितबाट वञ्चित भएको छ। बिहीबार साँझ दशरथ रंगशालामा...
काठमाडौं, वैशाख १६ : पहिलो हाफमै प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा ललितपुर सिटी एफसी नेपाल सुपर लिगमा जितबाट वञ्चित भएको छ।
बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा नुर्लानको जाहिद पेनाल्टीमा गोल गर्न असफल भएपछि ललितपुर धनगढी एफसीसँग १–१ गोलको बराबरी खेल्न बाध्य भयो। खेलमा धनगढीका लागि ओलावाले हाफिजले गोल गरेका थिए भने ललितपुरका रञ्जन विष्टले गोल गरेका थिए।
खेलको शुरुआतदेखि नै ललितपुरले धनगढीमाथि दबाब दिएको थियो। पाँचौं मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्ट गोल गरे, तर रेफ्रीले सो गोललाई अफसाइड दिए। यस्तै, ४२औं मिनेटमा धनगढीका गोलकिपर किरण चेम्जोङ विट भएको अवस्थामा अन्जनले प्रहार गरेको बल निश खड्काले गोल लाइनबाट बचाए।
४४औं मिनेटमा किरणले अञ्जनलाई मुखमा कुइनाले हिर्काएपछि ललितपुरले पेनाल्टी पायो। तर, सो अवसरमा ललितपुरका नुर्लान गोल गर्न असफल रहे। उनको प्रहार किरणले सहज रुपमा बचाए। प्रतियोगितामा ललितपुरको यो दोस्रो पेनाल्टी मिस हो। यसअघि उद्घाटन खेलमा काठमाडौं रेजर्सविरुद्ध अञ्जनले गोल गर्न सकेका थिएनन्।
दोस्रो हाफमा भने धनगढीले सुधारिएको खेल प्रदर्शन गरेको थियो। फलस्वरुप ओलावालेले ७२औं मिनेटमा उत्कृष्ट हेडिङ गोल गर्दै टिमलाई शुरुआती अग्रता दिलाए। तर, ७९ औं मिनेटमा ललितपुरले बराबरी गोल फर्कायो।
मैदान प्रवेश गरेको एक मिनेट पनि नबित्दै रञ्जन विष्टले गोल गरेका थिए। डिबक्स भित्रबाट रञ्जनले प्रहार गरेको बल धनगढीका डिफेन्डर दिनेश राजवंशीमा डिफ्लेक्सन हुँदै गोलमा परिणत भएको थियो। खेलको अन्त्यतिर दुवै टिमले गोलका लागि राम्रा अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न सकेनन्।
बराबरीसँगै धनगढी ३ खेलमा ४ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। जितबिहीन रहेको ललितपुर २ अंकका साथ पुछारमा छ।











