यी हुन पूर्ण तथा आंशिक निषेधाज्ञा भएका १८ जिल्ला
काठमाडौं, वैशाख १६ : कोरोना भाइरसको संक्रमण बढेपछि देशका १८ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार बिहीबारसम्म १५ जिल्लामा पूर्ण...
काठमाडौं, वैशाख १६ : कोरोना भाइरसको संक्रमण बढेपछि देशका १८ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएको छ।
गृह मन्त्रालयका अनुसार बिहीबारसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ। सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौं उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ।
सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधको आदेश जारी गरेको थियो। उक्त आदेश २० गतेसम्म जारी रहने छ।
सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो । आदेश यही वैशाख २१ गते राति १२ बजेसम्म जारी रहने छ।
काठमाडौं उपत्यकालगायतका ११ जिल्लाले आज बिहानदेखि लागू हुनेगरी आदेश जारी गरेको छ। कुनै जिल्लाले बिहान ६ बजेदेखि नै लागू गरेका छ भने कुनै जिल्लाले राति १२ बजेबाट आदेश कार्यान्वयन गर्दैछन्।
मन्त्रालयबाट प्राप्त विवरणअनुसार आज उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरले बिहान ६ बजेदेखि नै निषेधाज्ञा जारी गरेको छ । उक्त आदेश यही वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताए।
यसरी आदेश जारी गर्ने अन्य जिल्लामा कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी रहेका छन्। त्यसमध्य पाल्पा र चितवनमा आज राति १२ बजेबाट र सल्यानमा १९ गते बिहान ६ बजेबाट आदेश कार्यान्वयन हुँदै छ। अन्य जिल्लामा भने आज बिहानैदेखि लागू भएको छ।
यस्तै तीन जिल्लामा आंशिक निषेधाज्ञ जारी गरिएको गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए। उनका अनुसार कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक आदेश जारी भएको छ। कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाटै लागू गरिएको हो।
बाग्लुङको बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा लागू गरिएको छ। उक्त क्षेत्रमा यसअघि नै लागू गरिएको थियो । त्यस्तै कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा लागू गरिएको छ।
बर्दियाको गुलरिया नगरपालिका-५ र ६ को सम्पूर्ण क्षेत्र, बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर, कतर्निया बजार, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरी गाउँ र ठाकुरद्वारा बजार, राजपुर नगरपालिकाको बजार क्षेत्र, बढैयाताल गाउँपालिकाका बजार क्षेत्र तथा गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञ जारी गरिएको मन्त्रालयले जनाएको छ।











-1790332718.jpg)