नृत्य दिवस : तपाईंको नाच कुन शैलीमा पर्छ ?
बिहे, भोज, उत्सव, यतिसम्म कि आन्दोलनमा पनि हामीले नृत्य गरिरहेका हुन्छौँ। रमाइलो शैलीमा भन्ने हो भने, नाच्न नआउने व्यक्ति नेपाली नै होइन। गीत गाएर ताली बजाएर मात्रै पनि हामी नाचिदिन्छौँ।
काठमाडाैं, वैशाख १६ : २९ अप्रिललाई अन्तर्राष्ट्रिय नृत्य दिवसका रूपमा मनाइन्छ। यसको सुरुवात युनेस्कोको साझेदारीमा अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (आइटिआई)को नृत्य समितिले गरेको हो। फ्रान्सका नृत्यकार तथा ब्याले–मास्टर जिन–जर्ज नोभरे (१७२७–१८१०) को जन्म दिनका अवसरमा यो दिवस मनाइन्छ। नोभरे आधुनिक ब्याले (एक नृत्य)का निर्माता हुन्।
अमेरिकन आधुनिक नृत्यकार तथा कोरियोग्राफर मार्था ग्राहम (सन् १८९४–१९९१)को भनाइ छ, ‘आत्माको अदृश्य भाषा हो, नृत्य।’ मार्थाको यो छोटो भनाइले नृत्यको मात्रै होइन, सारा मानव इतिहासतर्फ नै संकेत गर्छ। भनिन्छ, कलाहरूमा नृत्य सबैभन्दा जेठो हो, यो मानिसको शारीरिक भाषासँग सम्बन्धित छ, भाषाको उत्पत्ति हुनुअघि नै मानिसले खुसी व्यक्त गर्न नृत्यको सहारा लिन्थ्यो।
नेपालीमा एउटा भनाइ छ, ‘जो नाच्छ, उही धेरै बाँच्छ।’ नेपाली भनाइ मार्था ग्राहमको जीवनसँग मेल खान्छ, मार्थाले ९६ वर्षको लामो आयु बाँचिन्।
यहाँ भने नेपाली नेपाली लोकनृत्यको मूल शैलीको चर्चा गरिँदै छ।
डा. मोतीलाल पराजुलीले आफ्नो पुस्तक ‘नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरू’मा नेपाली लोकनृत्यका आठवटा शैलीको चर्चा गरेका छन्। संस्कृतका १० वटा नृत्यशैलीले नेपाली नृत्यहरूको शैलीतŒवगत अध्ययनमा सघाउ पुगेको उनको भनाइ छ। उनका अनुसार, संस्कृत नृत्यशास्त्रमा नृत्यलाई १० प्रकारमा शैलीगत वर्गीकरण गरिएको छ। जसमा– १) पेलवीताण्डवनृत्य शैली, २) बहुरूपक ताण्डवनृत्य शैली, ३) यौवतलास्यनृत्य शैली, ४) छुरितलास्यनृत्य शैली, ५) विषमताण्डवनृत्त शैली, ६) विकटताण्डवनृत्त शैली, ७) लघुताण्डवनृत्त शैली, ८) शम्यालाास्यनृत्त शैली, १०) छलितलास्यनृत्त शैली पर्छन्।
नेपाली नृत्य शैली
बिहे, भोज, उत्सव, यतिसम्म कि आन्दोलनमा पनि हामीले नृत्य गरिरहेका हुन्छौँ। रमाइलो शैलीमा भन्ने हो भने, नाच्न नआउने व्यक्ति नेपाली नै होइन। गीत गाएर ताली बजाएर मात्रै पनि हामी नाचिदिन्छौँ। अझ यो लकडाउनका बेला नृत्य व्यायामको उपयुक्त विधि हुन सक्छ।
खैर, हामीले नाच्ने नाच कुन शैलीमा पर्छ होला ?
मोतीलाल पराजुलीका अनुसार, प्रस्तुतीकरण, पात्र, वेशभूषा, अभिनय आदि नृत्यशिल्पका विविध पक्षलाई समेटेर अध्ययन गर्दा नेपाली लोकनृत्य निम्नानुसार छन्।
१) मारुनी शैली
पुरुषले नारीको वेशभूषा र हाउभाउमा नाच्नुलाई मारुनी शैली भनिन्छ। यस्ता नाचमा एक पुर्सुङ्गे (पुरुषपात्र), दुई मारुनी, एक ढँटुवारे (जोकर वा विदूषक) तथा अन्य आवश्यकता अनुसारका पात्र नाच्ने गर्छन्। यसमा मादले, गिदाङ्गे र दर्शक पनि रहने नै भए। सोरठीनाच, सरस्वतीनाच, सोरठी ख्यालीनाच आदि मारुनी शैलीका नाच हुन्।
२) लीला शैली
देवीदेवताको चरित्रलाई अनुकरण, अभिनय गरेर नाच्नु लीला शैलीअन्तर्गत पर्छ। यस्ता नृत्य प्रायः सामूहिक अभिनय तथा संवादमा आधारित हुन्छन्। कतिपय लीला नृत्य निर्गुण भजनमा आधारित हुन्छन्।
३) हास्य शैली
कुनै परम्परित वा सामाजिक हास्यचरित्रलाई मूल आधार बनाइएको नृत्य नै हास्य शैलीको नृत्य हो। यस्ता शैलीका नृत्यमा मूल पात्र जोकर हुन्छ र यसको पहिरन, गीत तथा नृत्य हास्यमूलक हुन्छ। लाखेनाच, लुठोनाच, कुलुङरिङ हास्यनाच आदि हास्य शैलीका नृत्य हुन्।
४) युद्धाभिनय शैली
वीर योद्धाहरूको युद्ध अभ्यासको प्रवृत्तिमा तथा देवदेवीको उपासनाका रूपमा यो नृत्य गरिन्छ। सराएँनाच, खुकुरी नाच, ढालनाच आदि यसमा पर्छन्। बाजाको तालमा हातमा ढाल, तरबार, खुँडाखुकुरी आदि हतियार लिएर यो नाच नाचिन्छ।
५) वृत्ताकार शैली
नाच्ने व्यक्तिहरू गोल घेरामा रहेर विभिन्न वाद्य तथा गीतका भाकामा लय र ताल मिलाई नाचिने समूह नृत्यलाई वृत्ताकार शैली भनिन्छ। यो शैलीको नृत्य कोमल एवं शृंगारिक प्रकृतिका हुन्छन्। पैँसेरीनाच, चैचच्चुनाच, गर्राखेल, खाइलोन्हाका आदि नाच यस शैलीमा पर्छन्।
६) चरित्रानुकरण शैली
कुनै अद्भुत अतिमानवीय चरित्रलाई अनुकरण गरेर उसको स्वभाव एवं आकृति अनुसारको वेशभूषामा नाचिने नाच चरित्रानुकरण शैली हो। नृसिंह नृत्य, धामीनाच, भैरवनाच आदि यस्ता रौद्र प्रकृतिका चरित्रानुकरणमूलक शैलीका लोकनाच हुन्। त्यस्तै, लास्य वा कोमल प्रकृतिका नृत्यहरू शान्त, शौम्य एवं ललित स्वभावलाई प्रस्तुत गर्छन्, जसमा देवीनाच, कुमारीनाच, गणेशनृत्य चर्यानृत्य आदि पर्छन्।
७) तान्त्रिक शैली
लामा, झाँक्री तथा धामीहरूले झारफुक गर्दा तान्त्रिकको विशेष वेशभूषमा भिन्न किसिमको अभिनय गर्छन्। खासगरी यसमा झाँक झिकेर तान्त्रिक शैली अभिनय गरिन्छ। नेपाली जनजीवनमा यो शैलीका धेरै नृत्य पाइन्छन्। विशेषतः यसमा धामीनाच, लामानाच आदि पर्छन्।
८) मुक्त शैली
एउटा निश्चित शैली वा नियममा बाँध्न नसकिने तथा भिन्नभिन्न रूपाकृति एवं नृत्यकला प्रयोग गरिने विभिन्न नृत्यलाई मुक्त शैली भनिन्छ। यस्ता नृत्यमा पंक्तिबद्ध समूह नृत्य, युगल नृत्य तथा स्वतन्त्र एकल नृत्य पर्छन्। कर्माधर्मानाच, चोम्लुनाच, थाल नृत्य, भैलो नृत्य, कौरानृत्य आदि यस शैलीका नृत्य हुन्।











-1790332718.jpg)