Kathmandu Press

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित

पाेखरा, वैशाख १५ : गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेश सभा सचिव हरिराज पोखरेलले बुधबार सूचना जारी गर्दै प्रदेशसभाको बैठक...
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित

पाेखरा, वैशाख १५ : गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेश सभा सचिव हरिराज पोखरेलले बुधबार सूचना जारी गर्दै प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको थियो। आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखेर बुधबारको बैठक रोक्न आग्रह गरेकी थिइन्। 

उनले सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र उनी सार्वजनिक नभएसम्म संसद्को कारबाही रोक्न माग गरेको केही बेरमै बैठक स्थगित भएको हो।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा आफ्नो पार्टीले पनि समर्थन जनाएको तर सदनमा बुधबार मतदानको परिस्थिति सिर्जना भएपछि आफ्ना सांसद शाहीको अवस्था एकाएक अज्ञात बन्न पुगेको पत्रमा उल्लेख छ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङ नै कायम रहने कि नरहने भनेर आजको टुंगो लाग्ने भनिएको थियो। किनभने मुख्यमन्त्री गुरुङविरूद्धको अविश्वासको प्रस्तावमाथि आज प्रदेश सभामा मतदान गर्ने कार्यसूची तोकिएको थियो।

अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदको समर्थन छ। यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति संसद् अन्त्य गर्न सिफारिस गरेका थिए।

लगत्तै प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमै संसद् अन्त्य गरेको भए पनि प्रतिपक्षी दलहरूले निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले संसदको विशेष अधिवेशन आह्वान गरेका थिए। हिजो (मंगलबार) को प्रदेशसभा बैठक सत्तापक्ष एमालेकै सांसदले अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो। 

अविश्वास प्रस्तावको पक्षमा राष्ट्रिय जनमोर्चाका सांसदले पनि हस्ताक्षर गर्ने जनाएका छन्। कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले भने अविश्वास प्रस्तावमै हस्ताक्षर गरिसकेका छन्। यी चार दल मिल्दा नयाँ सरकार गठन गर्न पुग्ने बहुमत ३१ पुग्छ।

गण्डकी प्रदेशमा एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद छन्। पूर्वसहमति अनुसार मतदान भए कांग्रेस संसदीय दलका नेता नेपाली गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीमा निर्वाचित हुनेछन्।

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्